Tuesday, April 21, 2026
Homeअपराध र घटनानयाँ बसपार्कमा महिला हत्या प्रकरण: ५ सय रुपैयाँको विवादबाट सुरु भएको घटना

नयाँ बसपार्कमा महिला हत्या प्रकरण: ५ सय रुपैयाँको विवादबाट सुरु भएको घटना

काठमाडौँ । नयाँ बसपार्क क्षेत्रमा शनिबार सरसफाइका क्रममा झाडीभित्र भेटिएको तन्नाको पोको खोलेपछि फोहोर होइन, एक महिलाको शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। मृतक १८ वर्षीय माया (आयुषा) मगर, रुकुम घर भएकी, नयाँ बसपार्क क्षेत्रमा बस्दै आएकी थिइन्।

हत्या होटलको स्टाफ रुममै भएको खुलासा

अनुसन्धान अनुसार कात्तिक २३ गते राति आयुषा साथी डोल्मा बोम्जनसँग नयाँ बसपार्कस्थित होटल ‘रोयल कुण्डला’मा पुगेकी थिइन्। डोल्मा माथिल्लो तल्लामा सुत्न गइन्, तर आयुषा होटलका कुक सूर्य थापा मगरसँग स्टाफ रुममा भेटिएकी थिइन्।

त्यहाँ उनले सूर्यसँग ५ सय रुपैयाँ मागेर लागुऔषध (ब्राउन सुगर) किनेकी थिइन्। फर्किएपछि सूर्यले पैसा फिर्ता माग्दा आयुषाले नदिने बताएपछि दुवैबीच विवाद भयो।

विवादकै क्रममा सूर्यले जुत्ताको तुनाले आयुषाको घाँटी कसे, भुइँमा लडाए, र दुई मुक्का हानेपछि उनको मृत्यु भएको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।

४ दिन बेडमुनी लुकाएर राखिएको शव

हत्या भएपछि सूर्यले आयुषाको शवलाई ४ दिनसम्म बेडमुनी लुकाइराखे। कात्तिक २६ गते राति उनले शव तन्नामा बेरेर बाहिर लैजाने तयारी गरेको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गरेको छ।
शव गन्ध रोक्न उनले शवलाई कालो प्लाष्टिकमा राखेर त्यसको बाहिर तन्नाले बेरेर बोकेका थिए।
पछि उनले सडक छेउमा शव फालेको अनुसन्धानबाट थाहा भएको छ।

शवको पहिचान डोल्मा बोम्जन र मृतकको कान्छी आमा कल्पना शेर्पाले गरे।

लण्ड्री पसलबाट कुकसम्म पुगेको प्रहरीले

शव बेरेको तन्नामा रहेको १४५५ नम्बरको ट्याग प्रहरीले जाँच गर्दा त्यो लुण्ड्रीमा धुने तन्ना भएको पुष्टि भयो।
लुण्ड्री सञ्चालकले उक्त तन्ना होटल ‘रोयल कुण्डला’कै भएको जानकारी दिए।

प्रहरीले त्यही नम्बरको तकियाको खोल पनि होटलबाट बरामद गरेपछि अनुसन्धान सीधै कुक सूर्य थापा मगरतिर पुगेको हो।

मदिरा सेवन गरिरहेको बेला पक्राउ

२४ वर्षीय सूर्य थापा मगर उदयपुर घर भएका हुन् र ७ महिना देखि सो होटलमा काम गर्दै आएका थिए।
प्रहरीले उनलाई बसपार्क नजिकै मिलनटोलको खाजा पसलमा मदिरा पिइरहेको अवस्थामा पक्राउ गर्‍यो।

अदालतले उनलाई ७ दिन हिरासतमा राखेर ‘ज्यान सम्बन्धी कसुर’मा अनुसन्धान गर्न अनुमति दिएको छ।

पहिले तेस्रोलिङ्गी भनेर अनुमान, पछि पुष्टि

शव फेला पर्दा सुरुमा तेस्रोलिङ्गीको भएको अनुमान गरिए पनि परीक्षणपछि शव १८ वर्षीया महिलाको भएको पुष्टि भएको छ।
त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको छ।

यो घटना पछिल्लो समय नयाँ बसपार्क क्षेत्रमा भइरहेको अपराध नियन्त्रणमा सुरक्षा निकायका लागि गम्भीर चुनौती बनेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका