भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार महोत्तरीको मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोडमा बस्दै आएका २८ वर्षीय आकाश रसाइलीमाथि गएराति करिब १० बजे चक्कु प्रहार भएको थियो। घटनामा गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो।
उपचारकै क्रममा आज बिहान ६ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा उदयपुर त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा तथा गुल्मी तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


