काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको निरन्तरता भएको बताएका छन्। उनले वर्तमान सरकारले विपक्षी दलमाथि दमनकारी र अलोकतान्त्रिक व्यवहार गरिरहेको आरोप लगाउँदै यस्ता कदमको डटेर सामना गर्ने चेतावनी दिएका छन्।
मंगलबार जारी विज्ञप्तिमा अध्यक्ष ओलीले विपक्षी दलप्रति सत्तापक्षले अपनाएको व्यवहार लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको उल्लेख गरेका छन्। उनले पौडेलको गिरफ्तारी एमाले र आफूविरुद्ध भइरहेका राजनीतिक प्रहारको अर्को कडी भएको दाबी गरेका छन्।
ओलीले कानुनी प्रक्रिया र विधिको शासनलाई बेवास्ता गर्दै पूर्वनिर्धारित कार्यक्रममा सहभागी भइरहेका पौडेललाई पक्राउ गरिएको बताए। उनका अनुसार सोधपुछका लागि अन्य वैकल्पिक उपायहरू उपलब्ध हुँदाहुँदै नियतवश गिरफ्तारीको बाटो रोजिएको हो।
“जुनसुकै बेला सोधपुछ गर्न सकिने अवस्था हुँदाहुँदै सार्वजनिक जीवनमा रहेका र कानुनको सम्मान गर्ने व्यक्तित्वलाई सस्तो राजनीतिक लाभका लागि पक्राउ गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष ओलीले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै विपक्षी दलका नेताहरूमाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न आग्रह गरेका छन्। उनले यस्ता कार्य निरन्तर भए त्यसको परिणाम राम्रो नहुने चेतावनीसमेत दिएका छन्।
उपाध्यक्ष विष्णु पौडेललाई सोमबार एमालेको आन्तरिक चुनावी समीक्षा तथा संगठन पुनर्गठन कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ गरिएको थियो। उक्त घटनापछि एमालेले सरकारको कदमप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै आएको छ।


