Tuesday, June 23, 2026
Homeराजनीतिरास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको लर्काे

रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको लर्काे

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएसँगै नयाँ नेतृत्व चयनबारे प्रतिनिधिहरूबीच चर्चा तीव्र बनेको छ। महाधिवेशनको दोस्रो दिन राजनीतिक, सांगठनिक तथा विधानसम्बन्धी प्रस्तावहरू पारित गर्दै निर्वाचन प्रक्रिया अघि बढाउने कार्यतालिका रहे पनि बन्दसत्र सुरु हुन ढिलाइ भएको छ।

प्रतिनिधि परिचयपत्रमा देखिएका त्रुटि सच्याउने काम र मधेश प्रदेशका प्रतिनिधिसम्बन्धी विवादका कारण निर्धारित समयमा बन्दसत्र सुरु हुन नसकेको नेताहरूले बताएका छन्। बन्दसत्र ढिलो भएपछि महाधिवेशनस्थलमा केही प्रतिनिधि तथा नेताहरू केन्द्रीय सदस्य र पदाधिकारी पदका लागि अनौपचारिक रूपमा मत माग्न व्यस्त देखिएका छन्।

रास्वपाले १९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति गठन गर्नेछ। त्यसमध्ये ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुने व्यवस्था छ। सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन्द्र (बालेन) शाह निर्विरोध चयन हुने सम्भावना देखिए पनि अन्य अधिकांश पदमा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।

पदाधिकारी र केन्द्रीय सदस्यका सीमित पदमा आकांक्षीको संख्या धेरै भएकाले कुन–कुन पदमा निर्वाचन हुने भन्ने विषय अझै टुंगो लागेको छैन। यद्यपि शीर्ष नेतृत्वले सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास जारी राखेको बताइएको छ। पार्टी एकतालाई प्राथमिकतामा राख्दै सहमतिबाट नेतृत्व चयन गर्नुपर्नेमा नेतृत्व तह सहमत देखिएको स्रोतले जनाएको छ।

विवेकशील साझा, बालेन समूह, थारुवान/थरुहट समूह तथा जेनजी समूह लगायत विभिन्न धाराहरू एकीकृत भएर बनेको रास्वपाले सबै पक्षको उचित व्यवस्थापन गर्नुपर्ने चुनौती सामना गरिरहेको छ। यही कारण नेतृत्व चयनमा सहमतिलाई प्राथमिकता दिइएको बताइन्छ।

महाधिवेशनअघि बसेको सचिवालय बैठकमा सभापति रवि लामिछानेले पनि पार्टीभित्र धेरै काम बाँकी रहेकाले सहमतिमै नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका थिए। सचिवालय सदस्य गणेश पराजुलीका अनुसार सबै पक्षलाई समेटेर नेतृत्व चयन गर्ने जिम्मेवारी सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई दिइएको छ। उद्घाटन सत्रपछि दुवै नेताबीच सहमतिका लागि छलफल भएको बताइएको छ।

रास्वपाको विधानअनुसार १९ सदस्यीय पदाधिकारीमा एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता तथा एक–एक कोषाध्यक्ष र सहकोषाध्यक्ष रहने व्यवस्था छ। साथै ३३ सदस्यीय सचिवालय गठन गरिनेछ।

विधानमा सभापतिलाई ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार दिइएको छ। केन्द्रीय समितिमा निर्वाचनबाट १०० जना आउने व्यवस्था रहेकामा ३५ जना प्रदेशबाट प्रतिनिधित्व गर्नेछन्।

पार्टी स्रोतका अनुसार सहमति हुन नसके दुई महामन्त्री पदका लागि झन्डै एक दर्जन नेताहरू चुनावी मैदानमा उत्रने तयारीमा छन्। हालका महामन्त्री कवीन्द्र बुर्लाकोटी र भूपदेव शाहसँगै मनिष झा, शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली, यज्ञमणि न्यौपाने र लिमा अधिकारीलगायत नेताहरू महामन्त्री पदका आकांक्षी छन्।

लिमा अधिकारी उपसभापति पदमा चयन नभए महामन्त्री पद नछोड्ने पक्षमा रहेको बताइन्छ। आकांक्षीहरूको व्यवस्थापन चुनौतीपूर्ण बन्दै जाँदा सहमतिमार्फत नेतृत्व चयन गर्न सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई थप दबाब परेको देखिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका