Tuesday, June 23, 2026
Homeखेलकुदकाठमाडौंमा पहिलो पटक ‘उपमेयर कप’ खोखो प्रतियोगिता, १८ टोलीबीच प्रतिस्पर्धा

काठमाडौंमा पहिलो पटक ‘उपमेयर कप’ खोखो प्रतियोगिता, १८ टोलीबीच प्रतिस्पर्धा

काठमाडौँ । काठमाडौं महानगरपालिकामा पहिलो पटक विद्यालयस्तरीय ‘उपमेयर कप खोखो प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। काठमाडौं महानगरपालिकाको सहयोग तथा नेपाल खोखो संघको आयोजनामा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

प्रतियोगिताबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिका–व्यापी विद्यालयस्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता आगामी असार १० देखि १३ गतेसम्म सञ्चालन हुने जानकारी दिइयो।

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले शिक्षा र खेलकुदलाई समान प्राथमिकताका साथ अघि बढाउने महानगरको नीति अनुरूप प्रतियोगिता आयोजना गरिएको बताए। उनका अनुसार प्रतियोगिताको कुल लागत ३६ लाख रुपैयाँ अनुमान गरिएको छ, जसमा महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गर्नेछ भने बाँकी ६ लाख रुपैयाँ नेपाल खोखो संघले व्यहोर्नेछ।

नेपाल खोखो संघका अध्यक्ष दीपक महर्जनले प्रतियोगिताले विद्यालय तहमा खोखो खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनका अनुसार प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत छात्र र छात्रा दुवै समूहका खेलाडीहरूले सहभागिता जनाउनेछन्। खेलहरू लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछन् भने प्रतियोगिताका लागि ३० जना निर्णायक परिचालन गरिनेछ।

प्रतियोगितामा शान्ति निकुञ्ज माध्यमिक विद्यालय, महांकाल माध्यमिक विद्यालय, भीमसेनगोला माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, जनप्रभात माध्यमिक विद्यालय, सहिद शुक्र माध्यमिक विद्यालय, विश्व निकेतन माध्यमिक विद्यालय, सर्वेश्वर आधारभूत विद्यालय, बाँसबारी माध्यमिक विद्यालय तथा कन्या मन्दिर माध्यमिक विद्यालय सहभागी हुनेछन्। प्रत्येक टोलीमा १२ जना खेलाडी रहने व्यवस्था गरिएको छ।

संघका महासचिव शंकर महर्जनले दक्षिण एसियाली खोखो प्रतियोगितामा नेपालले लगातार कास्य र रजत पदक जित्दै आएको उल्लेख गर्दै खेलप्रति नेपाली खेलाडीहरूको आकर्षण बढ्दै गएको बताए।

कीर्तिपुरस्थित खोखो हलमा हुने प्रतियोगितामा १० सामुदायिक विद्यालयका टोली सहभागी हुनेछन्। महिलातर्फ १० र पुरुषतर्फ ८ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा २१६ खेलाडी तथा ३६ प्रशिक्षक र टिम व्यवस्थापकसहित कुल २५२ जनाको प्रत्यक्ष सहभागिता रहने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका