तालिबानका सदस्य नर्वेमा पश्चिमी देशका अधिकारीसँग आज बैठक गर्नेछन् ।
अफगानिस्तानमा नियन्त्रण हासिल गरेपछि पश्चिमी देशका अधिकारीसँग तालिबान सदस्यसँगको यो पहिलो भेट हो ।
यो तीन दिवसीय बैठकमा मानवाधिकार र मानव–त्रासदीजस्ता मुद्दामा विशेषगरी चर्चा हुने आशा गरिएको छ ।
संयुक्त राष्ट्रका अनुसार अफगानिस्तानमा करिब ९५ प्रतिशत जनसंख्यासँग पर्याप्त मात्रामा खाना छैन ।
यद्यपि, युरोपमा केही जनता तालिबानसँग भइरहेको यो बैठकको विरोध पनि गरिरहेका छन् । केही स्थानमा प्रदर्शन पनि गरिँदैछ । प्रदर्शन गरिरहेका प्रदर्शनकारीका अनुसार तालिबानसँग यस्तो बैठकको आयोजना गरेर उनीहरुलाई महत्व दिइनु हुँदैन ।
आइतबार, तालिबानका सदस्यले मानवाधिकार कार्यकर्तासँग पनि भेटघाट गरे । यद्यपि, उनीहरुबीच कुन मुद्दामाथि कुराकानी भयो, त्यसको कुनै जानकारी सार्वजनिक भएको छैन । एक महिलावादी कार्यकर्ता जमिला अफगानीले एएफपीसँगको कुराकानीमा उनीहरुसँगको कुराकानीमा सम्भावना देखिएको बताएका छन् । उनले भने, ‘उनीहरुले आफूले जे जस्तो भनेका छन्, उनीहरु भविष्यमा त्यस्तै गर्छन् कि गर्दैनन् भन्नेबारे हेर्नुपर्छ । ’
सोमबार हुने तालिबान सदस्य र युरोपेली अधिकारीको बैठक सबैभन्दा महत्वपूर्ण हुने अनुमान गरिएको छ । तालिबान निश्चित रुपमा आफूलाई अर्बौँ डलर रकम दिनका लागि अनुरोध गर्नेछ जसमाथि हाल रोक लगाइएको छ ।


