Tuesday, August 18, 2026
Homeअन्तराष्ट्रियइमरान खानलाई दुई दिनभित्र अस्पताल सार्न पाकिस्तान सर्वोच्च अदालतको आदेश

इमरान खानलाई दुई दिनभित्र अस्पताल सार्न पाकिस्तान सर्वोच्च अदालतको आदेश

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का संस्थापक इमरान खानलाई अस्पताल सार्न आदेश दिएको छ।

तीन सदस्यीय इजलासले खानलाई रावलपिन्डीस्थित अदियाला जेलबाट दुई दिनभित्र इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पतालमा स्थानान्तरण गर्न आदेश दिएको हो। उनको स्वास्थ्य अवस्था, विशेषगरी रक्तचापमा देखिएको उतारचढावलाई लिएर चिन्ता बढेपछि पीटीआईले लामो समयदेखि अस्पताल सार्न माग गर्दै आएको थियो।

अदालतले खानको उपचारको निगरानी गर्न मेडिकल बोर्ड गठन गर्नसमेत निर्देशन दिएको छ। बोर्डमा उनकी बहिनी डा. उज्मा खान र व्यक्तिगत चिकित्सक डा. फैसल सुल्तानलाई पनि समावेश गरिने जनाइएको छ।

अदालतको आदेशअनुसार अस्पतालमा रहँदा खानले परिवारका सदस्यसँग भेटघाट गर्न तथा विदेशमा रहेका आफ्ना छोराहरूसँग कुराकानी गर्न पाउनेछन्। उनको अर्को सुनुवाइ सेप्टेम्बर १६ मा तोकिएको छ। त्यसबेलासम्म उनी अस्पतालमै रहने अपेक्षा गरिएको छ।

७३ वर्षीय खान सन् २०२३ को अगस्टदेखि जेलमा छन्। उनी भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामा दोषी ठहर भएका छन्। तर, खान र उनको पार्टीले ती मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित भएको दाबी गर्दै आएका छन्।

अदालतमा पेस गरिएको अदियाला जेलको स्वास्थ्यसम्बन्धी प्रतिवेदनअनुसार अगस्ट १० मा गरिएको मुटुसम्बन्धी परीक्षणका क्रममा खानको रक्तचापमा उतारचढाव देखिएको थियो। परिवारसँग सीमित सम्पर्कको अवस्थाले समेत चिन्ता बढाएको प्रतिवेदनमा उल्लेख थियो।

सुनुवाइका क्रममा अदालतले खानको मुटुको अवस्था र नाडी सामान्य नरहेको तथा केही महत्त्वपूर्ण अंगमा समेत असर पर्न थालेको भन्दै स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेको थियो।

यसअघि फेब्रुअरीदेखि विभिन्न अदालतले खानलाई अस्पताल सार्न माग गरिएका दुईवटा निवेदन अस्वीकार गरेका थिए। पछिल्लो आदेशपछि भने सन् २०२३ मा पक्राउ परेयता खानले जेलबाहिर अस्पतालमा उपचार गराउने अवधि सबैभन्दा लामो हुने भएको छ।

पीटीआई नेता जुल्फी बुखारीले सर्वोच्च अदालतको पछिल्लो आदेशलाई आफ्नो पार्टीले लामो समयदेखि गर्दै आएको मागको समर्थनका रूपमा व्याख्या गरेका छन्। उनले जेलभित्र उपलब्ध स्वास्थ्य सेवा स्वतन्त्र विशेषज्ञबाट गरिने विस्तृत परीक्षणको विकल्प हुन नसक्ने बताएका छन्।

सरकारी अधिकारीहरूले भने खानलाई जेलबाट अस्पताल सार्ने निर्णय कार्यपालिकाले मात्र गर्न नसक्ने र त्यसका लागि न्यायिक अनुमति आवश्यक पर्ने बताउँदै आएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका