Sunday, April 19, 2026
Homeअन्तराष्ट्रियआजबाट बेलायत प्रवेशमा थप कडाइ, दश हजार पाउन्डसम्म जरिवाना

आजबाट बेलायत प्रवेशमा थप कडाइ, दश हजार पाउन्डसम्म जरिवाना

साउथ अफ्रिकामा उत्पन्न कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रन’ का केसहरु फेला परेपछि आज मंगलबारबाट बेलायत सरकारले थप कडाइ गरेको छ । नयाँ केस भेटिएलगत्तै शनिबार साँझ एक पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले अन्य मुलुकबाट बेलायत आउने सबैलाई पिसिआर टेस्ट अनिवार्य हुने घोषणा गरेका थिए ।

सरकारले आइतबार एक सूचना जारी गर्दै नोभेम्बर ३० तारिख बिहान ४ बजेपछि बेलायत भित्रिने सबै यात्रुहरुले प्यासेन्जर लोकेटर फर्मका साथै अनिवार्य रुपमा ४८ घण्टा भित्रको पिसीआर टेष्टसमेत बुक गरेको हुनुपर्ने बताएको छ । पिसीआर टेष्ट बुक नगरि आएका यात्रुलाई तत्कालै एक हजार पाउण्ड जरिवाना गरिनेछ । यसअघि बेलायत भित्रिने यात्रुहरुले दोस्रो दिनमा सामान्य ल्याटरल फ्लो टेष्ट मात्र गरे पुग्नेमा कोभिडको नयाँ भेरियन्ट फेला परेपछि पिसिआर टेस्ट अनिवार्य गरिएको हो ।

यदि परीक्षणको नतिजा पोजेटिभ भेटिएमा नेगेटिभ नतिजा नआएसम्म आइसोलेसनमा बस्न पर्नेछ । तर, यसअघि भने पोजिटिभ नतिजा आएपनि १० दिन आइसोलेसनमा बसेपछि टेष्ट नै नगरी बाहिर निस्कन पाइन्थ्यो ।

आजैबाट लागू हुनेगरी सार्वजनिक यातायात र पसलहरु, हेयरड्रेसर, बैंक तथा पोष्ट अफिसलगायतमा मास्क अनिवार्य गरिएको छ । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रन’ का केसहरु थपिंदै गएपछि स्वास्थ्यमन्त्री साजिद जाभिदले मास्क लगाउन अनिवार्य गरेका हुन् ।

सरकारको नियम पालना नगरे एक सय देखि छ हजार चार सय पाउण्ड जरिवाना तिर्नुपर्नेछ । पहिलोपल्ट दुई सय पाउँद जरिवाना गरिनेछ तर, दुई हप्ताभित्र भुक्तानी गरेमा एक सय पाउण्ड मात्र तिरे पुग्छ । लगातार नियमको अवज्ञा गरेको पाइएमा प्रत्येक पटक जरिवाना डब्लिदै बढीमा छ हजार दुइ सयसम्म पुग्नेछ । पब, रेष्टुरेन्ट, सिनेमा, थिएटर जस्ता स्थानमा भने मास्क अनिवार्य छैन ।

नयाँ भेरियन्ट ‘ओमिक्रन’ फेला परेलगत्तै सरकारले दश वटा अफ्रिकन मुलुकलाई यात्रा प्रतिबन्धको ‘रेड लिष्ट’ मा राखेको छ । रेड लिष्टमा परेका मुलुकहरुमा एंगोला,बोत्स्वाना,इस्वाटिनी,लेसोठो,मलावी, मोजाम्बिक, नामिबिया, साउथ अफ्रिका, जाम्बिया र जिम्बावे पर्दछन् ।

उक्त मुलुकबाट बेलायत आउने यात्रुले ११ रातको अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ भने, सोबापत लाग्ने खर्च दुई हजार २८५ पाउन्डसमेत स्वयमले व्यहोर्नु पर्नेछ । आइसोलेसन नियम उलंघन गरेको पाइएमा पाँच सय पाउण्ड देखि दश हजार पाउण्ड सम्म जरिवाना गरिनेछ ।

सरकारले संक्रमण नियन्त्रण प्रयासमा कोभिड खोपको तेस्रो मात्रा ‘बुस्टर’ पनि अब झन् ठूलो जनसंख्यालाई बाँड्ने तयारी थालेको छ । दोस्रो डोज लगाएको छ महिना भएको हुनुपर्ने यस अघिको नियमको सट्टा अब तीन महिना कायम गरिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका