Thursday, June 25, 2026
Home Blog Page 551

बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला

0

विराटनगर: नेपाली कांग्रेसका प्रभावशाली नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले कमजोर आर्थिक अवस्था र बढ्दो भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम हुँदै गएको बताएका छन्।

मोरङको बुढीगंगा गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिकास्तरीय अस्पतालको उद्घाटन गर्दै आइतबार सांसद कोइरालाले भ्रष्टाचारसँग सम्बन्धित विभिन्न रिपोर्टका कारण देशलाई अफ्ठ्यारोमा पारेको बताए।

‘देशको आर्थिक अवस्थामा कमजोर हुँदै गएको छ। उत्पादकत्व वृद्धि हुन सकेको छैन। परनिर्भरता बढ्दै गएको छ,’ उनले भने, ‘अर्कातिर ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई), सिपीआइलगायत अन्तर्राष्ट्रिय संस्थाहरूको रिपोर्टले नेपालमा भ्रष्टाचार व्यापक मात्रामा बढेको देखाएको छ। यसले अन्तर्राष्ट्रियस्तरमा देश बदनाम भएको छ। देश अफ्ठ्यारो अवस्थामा परेको छ।’

नेता कोइरालाले सिपिआइको पछिल्लो रिपोर्टले विश्वका १८० मुलुकमध्ये नेपाल १०० मा ३४ अंकका साथ बढी भ्रष्टाचार हुने मुलुकको १०७ औं स्थान पर्नु लज्जाको विषय भएको बताए।

नेता कोइरालाले भ्रष्टाचारविरुद्ध निर्मम हुनु आवश्यक रहेको औंल्याए। देशमा सुशासन नभएकै कारण राजनीतिप्रति जनताको वितृष्णा बढ्दै गएको नेता कोइरालाले प्रस्ट पारे।

सुशासन, पारदर्शिता, जिम्मेवारीबोध नहुँदा विकासले गति लिन नसकेको उनको कथन थियो। नेता कोइरालाले भ्रष्टाचार, विकृति, विसंगतिविरुद्ध जनता एकजुट भएर लड्नुपर्नेमा जोड दिए।

‘जस्तोसुकै परिस्थिति आए पनि देश नेता र जनता मिलेरै बनाउने हो,’ नेता कोइरालाले थपे, ‘यो देश हामीले नै हो बनाउने, देशभित्रै बसोबास गर्नेले बनाउने हो। विदेशी आएर बनाउने होइन। त्यसो भएकाले सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नु जरुरी छ।’

कोइरालाले विद्यालयस्तरदेखि नै स्वास्थ्य सचेतना फैलाउनु आवश्यक रहेको औंल्याए। उनले मानिस शारीरिक र मानसिक रुपमा स्वस्थ भएमा मात्रै देश सुन्दर र विकसित हुने बताए। ‘अस्वस्थ र रोगी मानिसले देश बनाउन सक्दैन,’ उनले थपे, ‘देश स्वस्थ मानिसले बनाउने हो। यदि जनता अस्वस्थ भएमा देशको पैसा पनि स्वास्थ्य उपचारमै खर्च हुन्छ। त्यसो भएकाले रोग लाग्न नदिन जनस्तर अझ विद्यालय तहदेखि नै व्यापक मात्रामा सचेतना जगाउनु आवश्यक छ।’

आवश्यक मात्रामा दैनिक शुद्ध पानी पिउनाले ७० देखि ८० प्रतिशत रोग नलाग्ने चिकित्सकहरूले नै बनाउने गरेको उनको टिप्पणी थियो। उनले जनतालाई अस्पताल नै नजाने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। ‘घर-घरमा पुगेर स्वास्थ्यसँग सम्बन्धित सचेतना फैलाउन सकिए धेरै मानिस निरोगी हुन्छन्,’ उनको कथन थियो, ‘जसबाट अस्पतालहरूमा देखिँदै आएको भीड कम हुनेछ।’

कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले हरेक वर्ष विश्वविद्यालयले ५ सय रोजगारी सिर्जना गर्नेगरी काम गरिरहेको जानकारी दिए। उनले प्राविधिक र सीपमूलक शिक्षाले मात्रै उत्पादित जनशक्तिले रोजगारी पाउने दाबी गरे। उनले बूढीगंगा गाउँपालिकासँग मिलेर रोजगारमूलक तालिम र शिक्षा दिन विश्वविद्यालय तयार रहेको प्रस्ट्याए। बूढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले गाउँपालिकाले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाए।

उनले अस्पतालको फार्मेसीबाट बिमामार्फत उपलब्ध हुने ५ सय र गाउँपालिकाले छुट्टै ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको जानकारी दिए। अध्यक्ष थापा मगरले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुविधासम्पन्न आकर्षक पार्क निर्माण, महिला उद्यमी ग्रामले चाँडै नै मूर्त रुप लिने जानकारी दिए।

उद्घाटन समारोहमा संविधानसभा सदस्य पवनकुमार सारडा, वीरेन्द्रकुमार माझी, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलिया, गाउँपालिकाका निवर्तमान अध्यक्ष बालचन्द्र माझी, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझी, नेकपा एमालेका सत्यनारायण चौधरी, गाउँपालिकाकी उपाध्यक्ष अमृताकुमारी गच्छदार, बुढीगंगा गाउँपलिका खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजन केसीलगायतले पालिका अस्पतालले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिएका थिए।

समारोहमा अस्पताल निर्माणमा सहयोग पुर्‍याउने उद्योगी जगदीश अग्रवाल, रविरञ्जन झा र सञ्जय अग्रवाललाई सम्मान गरिएको थियो। विशाल ग्रुपका जगदीश अग्रवालले २५ लाख रुपैयाँको लागतमा दन्त विभागका लागि आवश्यक पर्ने प्राविधिक र चिकित्सकीय यन्त्रहरू सहयोग गरेका छन्।

पालिकास्तरीय अस्पतालमा आकस्मिक र ओपीडी सेवा रहेको छ। १० बेडको सो अस्पतालमा फिजिसियन, दाँत, प्रसूति, एक्से–रे, ल्याब, फार्मेसीलगायतका सेवाहरू उपलब्ध रहेको अध्यक्ष थापा मगरले जानकारी गराए। पालिकावासीको सुविधालाई ध्यानमा राखेर ३६५ दिनको चौबिसै घण्टा आकस्मिक सेवा उपलब्ध हुनेछ। त्यसबाहेक बिहान ८ देखि राति ८ बजेसम्म ओपीडी सेवा पनि चालु रहने उनले बताए।

एपिक नेपाल म्युजिक अवार्ड घोषणा

0

भक्तपुर: यस वर्षको पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड मध्यपुरथिमि नगरपालिकास्थित ऐतिहासिक सम्पदास्थल दुई पोखरीमा आगामी चैत २ गते आयोजना हुने भएको छ।

एपिक नेपाल म्युजिक प्रालिले शनिबार मध्यपुरथिमिको शङ्खधर पार्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुरस्कार वितरणबारे जानकारी दिँदै मध्यपुरथिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठले ३२ विधामा अवार्ड प्रदान गरिने घोषणा गर्नुभयो।

उहाँका अनुसार लाइफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ कलाकार वसुन्धरा भुसाललाई प्रदान गरिनेछ।

विशेष सम्मान पुरस्कारहरू
सदावहार नायक अवार्ड – भुवन केसी
रियल हिरो अवार्ड – पल शाह
पत्रकार सम्मान – ऋषि धमला
युवा पत्रकार सम्मान – ऋषि थपलिया
विभिन्न विधामा अवार्ड वितरण
लेकगीत विधाअन्तर्गत

गायक, गायिका, शब्द, लय
मोडल (पुरुष/महिला), भिडियो निर्देशक, नृत्य निर्देशक
म्युजिक एरेन्जर, भिडियो छायाँकार, भिडियो सम्पादक
नवगायक, नवगायिका, नवमोडल (पुरुष/महिला)
आधुनिक संगीत विधाअन्तर्गत

गायक, गायिका, सङ्गीतकार, गीतकार
मोडल (पुरुष/महिला), भिडियो निर्देशक
लोकपप गायक, टेलिचलचित्र कलाकार, श्रृङ्गार
भाषाभाषी पुरुष कलाकार, भजन गायक
गीतकार ड्यास्पोरा, भाषाभाषी गायिका
नवप्रतिभा, सर्वोत्कृष्ट खलपात्र, सर्वोत्कृष्ट चलचित्र गायक
निर्णायक मण्डल
श्रेष्ठका अनुसार प्रत्येक विधामा उत्कृष्ट पाँचजनाको छनोट भइसकेको छ। अब तिनैमध्येबाट सर्वोत्कृष्ट एकजनाको छनोट गर्न पाँच सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ। निर्णायकहरू:

मिथिला शर्मा (नेतृत्व)
सुब्रत आचार्य (निर्देशक)
चन्द्र शर्मा (गायक)
प्रकाश भट्ट (निर्देशक)
प्राश्ना शाक्य (गायिका)
अबदेखि दुई वर्षमा एक पटक अवार्ड वितरण
श्रेष्ठले अबदेखि एपिक नेपाल म्युजिक अवार्ड हरेक दुई वर्षमा एक पटक मात्र आयोजना गरिने जानकारी दिनुभयो। त्यसअनुसार छैटौँ संस्करण २०८३ सालमा आयोजना हुनेछ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चस्व

0

कास्की: देशको पर्यटकीय राजधानी पोखरामा सम्पन्न १९औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथन मा केन्याली धावकहरूले आफ्नो दबदबा कायम गरेका छन्। भूतपूर्व खेलाडी मञ्च नेपाल द्वारा आयोजित ४२.१९५ किमी म्याराथन मा केन्याली धावक विल्सन चेरियुयिटले २ घण्टा १७ मिनेट २४ सेकेण्डमा दौड पूरा गरी उपाधि जित्न सफल भए। उनले रु पाँच लाख नगद पुरस्कार हात पारे। साथै, उनले यसअघि केन्याली धावक जुलियस मुरियाली वाहोमले राखेको २ घण्टा १९ मिनेट ३६ सेकेण्डको कीर्तिमानसमेत तोडेका छन्।

गत वर्षको विजेता जुलियस मुरियाली मात्र २ सेकेण्ड पछि पर्दै २ घण्टा १७ मिनेट २६ सेकेण्डमा दौड पूरा गरी दोस्रो स्थानमा सीमित भए। उनले रु तीन लाख पुरस्कार जिते। अर्का केन्याली धावक ओनेसमस गिताउ जोरोग २ घण्टा १८ मिनेट २१ सेकेण्डको समय निकाल्दै तेस्रो बने र रु दुई लाख पुरस्कार जिते।

नेपाली धावक किरणसिंह बोगोटीले चौथो स्थान हासिल गरे।
अन्य नेपाली धावकहरूको स्थान:

पाँचौँ स्थान – निरोज भट्ट क्षेत्री
छैटौँ स्थान – रिखुलालसिंह मगर
सातौँ स्थान – दिनेश सिंह बोगोटी
आठौँ स्थान – केन्याली धावक माइकल माथिया
उनीहरूले क्रमशः रु ५० हजार, रु २० हजार, रु १५ हजार, रु १० हजार नगद पुरस्कार, मेडल, र प्रमाणपत्र प्राप्त गरे।

गण्डकी प्रदेश म्याराथनको नतिजा
पहिलो स्थान – निरोज भट्ट क्षेत्री (२ घण्टा ३८ मिनेट २२ सेकेण्ड) – रु ५० हजार
दोस्रो स्थान – रिखुलालसिंह मगर – रु ३० हजार
तेस्रो स्थान – दिनेशसिंह बोगोटी – रु २० हजार
चौथो स्थान – मीनराशी विक – रु १५ हजार
पाँचौँ स्थान – अशोक बराम – रु ८ हजार
छैटौँ स्थान – सनम गुरुङ – रु ६ हजार
सातौँ स्थान – प्रितम गुरुङ – रु ४ हजार
हाफ म्याराथन (२१ किमी) नतिजा
पुरुषतर्फ

पहिलो स्थान – केन्याली धावक जोन बान्सतरा (१ घण्टा ०९ मिनेट ०७ सेकेण्ड) – रु ७५ हजार
दोस्रो स्थान – नेपाली धावक सन्तोषविक्रम विष्ट (१ घण्टा ०९ मिनेट ५६ सेकेण्ड) – रु ५० हजार
महिलातर्फ

पहिलो स्थान – नेपाली ओलम्पियन सन्तोषी श्रेष्ठ (१ घण्टा २० मिनेट ०३ सेकेण्ड) – रु १ लाख ५० हजार
दोस्रो स्थान – केन्याली धाविका स्वारोन जोनोटिक (१ घण्टा २१ मिनेट ०७ सेकेण्ड) – रु १ लाख
तेस्रो स्थान – पुष्पा भण्डारी (१ घण्टा २३ मिनेट ०८ सेकेण्ड) – रु ७५ हजार
चौथो स्थान – आश्मा विक – रु १५ हजार
पाँचौँ स्थान – द्रोपताकुमारी कठायत – रु ५ हजार
पोखरा रंगशालाबाट सुरु भएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नुभएको थियो।

सामाजिक सञ्जालसम्बन्धी विधेयक परिमार्जन गरी हुन्छ: सञ्चारमन्त्री गुरुङ

0

दोलखा: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयक परिमार्जनसहित पारित हुने बताउनुभएको छ। जिरी भ्रमण वर्ष–२०२५ को उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सामाजिक सञ्जालमा देखिएको विकृति रोक्न सरकार विधेयक ल्याउन लागेको स्पष्ट पार्नुभयो। साथै, उक्त विधेयकले क्रियाशील पत्रकारहरूलाई कुनै समस्या नपर्ने उहाँको दाबी छ।

मन्त्री गुरुङका अनुसार विधेयकबारे विभिन्न सुझाव प्राप्त भएकाले त्यसको संशोधनपछि मात्र पारित गरिनेछ। “विधेयकमा धेरै बहस र छलफल भइसकेको छ। सुझावहरू संकलन गरिएको छ, त्यसैले जस्ताको तस्तै पारित हुँदैन, आवश्यक परिमार्जन गरेर मात्र पारित गर्छौँ,” उहाँले बताउनुभयो।

सामाजिक सञ्जालको विकृति नियन्त्रण आवश्यक
मन्त्री गुरुङले सामाजिक सञ्जालमा बढ्दो विकृति नियन्त्रणका लागि कानुनी व्यवस्था अपरिहार्य रहेको बताउनुभयो। साथै, मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिकालाई जोड दिँदै सरकारले उद्योग, व्यापार, तथा कल–कारखानाको प्रवर्द्धनका लागि नीतिगत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

जिरीको ताल निर्माणमा सबै दलको सहकार्य आवश्यक
मन्त्री गुरुङले जिरीको ताल निर्माण क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने बताउँदै, यस अभियानमा राजनीतिक आग्रह–पूर्वाग्रह त्यागेर सबै दलले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो। सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने उहाँले प्रतिबद्धता जनाउनुभयो।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले विकास निर्माणका काममा राजनीति गर्नु हुँदैन भन्दै साझा सहमति र सहकार्यको आवश्यकतामा जोड दिनुभयो।

जिरी भ्रमण वर्ष–२०२५ उद्घाटन समारोह जिरी नगरपालिकाका प्रमुख मित्र जिरेलको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भरतबहादुर केसी, उर्मिला सुनुवार, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, माओवादी केन्द्रका कर्मा शेर्पा, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, दोलखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठलगायत वक्ताले भ्रमण वर्षको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

संविधान संशोधन सहमतिमै गरिने
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखाले सदरमुकाम चरिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले संविधान संशोधन राजनीतिक दलहरूको सहमतिमा गरिने बताउनुभयो। नेपाली कांग्रेस र एमालेले सबै दलसँग छलफल गरी संशोधनका विषय तय गर्ने उहाँको भनाइ थियो।

एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सरकारले अध्यादेशमार्फत ल्याएका विधेयकहरू पनि सहमतिका आधारमा पारित गरिने विश्वास व्यक्त गर्नुभयो।

सुरुङमार्फत पर्सा र बारामा पानी आपूर्तिको सम्भाव्यता अध्ययन गरिने

0

काठमाडौं: खानेपानी तथा ढल व्यवस्थापन विभागले हेटौँडाको राप्ती नदीबाट पर्सा र बारा जिल्लामा पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्ने भएको छ। यसका लागि विभागले परामर्शदाताहरूबाट आशयपत्र आह्वान गरेको छ।

तराई–मधेसका क्षेत्रमा दीर्घकालीन रूपमा खानेपानी समस्या समाधान गर्न खानेपानीमन्त्री प्रदीप यादवको पहलमा अध्ययन अघि बढाइएको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो।

मन्त्री यादवका अनुसार, “राप्ती नदीबाट पर्सा र बाराका लागि पानी स्थानान्तरण अध्ययनले स्थानीय जलस्रोत अभावको समाधान, जलस्रोतको दिगो उपयोग तथा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न मद्दत गर्नेछ।”

उक्त अध्ययनले पानी आपूर्तिका लागि उपयुक्त प्रविधि, लागत, वातावरणीय प्रभाव तथा सम्भाव्यता विश्लेषण गर्नेछ, जसले भविष्यमा विस्तृत अध्ययन र कार्यान्वयनको आधार तय गर्नेछ।

तराई क्षेत्रमा गम्भीर पानी समस्या

जलवायु परिवर्तनका कारण नेपालका जलस्रोतहरूमा गम्भीर असर परेको छ। भू–जलको सतह घट्दै जाँदा मधेस प्रदेशका पर्सा र बारा जिल्लामा खानेपानी अभाव झन् तीव्र बनेको छ। यस समस्याको दिगो समाधान खोज्न विभागले यो अध्ययन अघि बढाएको हो।

अध्ययनका मुख्य उद्देश्यहरू
विभागका महानिर्देशक इन्जिनियर श्रेष्ठका अनुसार, अध्ययनका प्रमुख उद्देश्यहरू निम्नानुसार छन्:

पर्सा र बारा जिल्लामा हालको पानी अभावको विस्तृत मूल्याङ्कन।
आगामी २५ वर्षका लागि खानेपानी आवश्यकताको प्रक्षेपण।
सम्भावित जलस्रोतहरूको पहिचान तथा दिगो समाधानका उपाय खोजी।
राप्ती नदी तथा अन्य वैकल्पिक जलस्रोतहरूको गुणस्तर, उपलब्धता र स्थायित्वको मूल्याङ्कन।
वातावरणीय र सामाजिक प्रभावको अध्ययन।
जलस्थानान्तरण संरचनाहरूको सम्भाव्यता तथा लागत–लाभ विश्लेषण।

व्यापक अध्ययन हुने

अध्ययन प्रक्रियाअन्तर्गत हाइड्रोलोजिकल, जियोलोजिकल र सामाजिक सर्वेक्षण गरी जलस्रोत उपयोगका सम्भावनाहरू पहिचान गरिनेछ। बारा र पर्सा जिल्लाका क्षेत्रहरू समेटेर पानी वितरण प्रणाली, टनेल तथा पाइपलाइन संरचनाहरूको सम्भाव्यता अध्ययन हुनेछ।

हालको खानेपानी आपूर्ति प्रणाली भरपर्दो नभएको र गर्मी मौसममा समस्या झन् गम्भीर हुने भएकाले अन्तर–बेसिजनल स्थानान्तरण वा अन्य वैकल्पिक उपायहरूको खोजी गर्न आवश्यक रहेको मन्त्री यादवले बताउनुभयो।

आजको मौसम : पहाडी तथा हिमाली भू–भागका हल्का हिमपातको सम्भावना

0

काठमाडौँ, ४ फागुन : हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

साथै तराईका केही भू–भागहरुमा हुस्सु/कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

खसिबासका बासिन्दा खोलाको पानी पिउन बाध्य

0

कटारी: उदयपुरको कटारी नगरपालिका–१, माथिल्लो खसिबासका बासिन्दा वर्षौंदेखि खानेपानी समस्याले ग्रस्त छन्। कुनै पनि खानेपानी आयोजना सञ्चालनमा नआउँदा स्थानीयहरू खोलाको पानी पिउन बाध्य छन्।

खोलाको पानी पनि हिउँदमा सुकेर घट्दै जाने भएकाले समस्या झन् गम्भीर बन्दै गएको छ। स्थानीय ज्ञानबहादुर तामाङका अनुसार, “खोलाभन्दा माथिल्लो गाउँमा पानीको अभाव छ। लुगा धुन र नुहाउन तल्लो गाउँसम्म जानुपर्छ, तर गाईवस्तुलाई पानी खुवाउनसमेत कठिन छ।”

तल्लो खसिबासमा केही खानेपानी आयोजना सञ्चालनमा रहे पनि माथिल्लो खसिबासमा कुनै पनि योजना पुगेको छैन। वर्षायाममा बाढी आउँदा खोलाको पानी समेत प्रदूषित हुने र हिउँदमा खोलाखोल्सी चहारेर पानी जुटाउनुपर्ने बाध्यता रहेको स्थानीय रुद्रबहादुर राई बताउँछन्।

हाल माथिल्लो खसिबासका करिब ५०–६० घरधुरी खानेपानी अभावको सामना गरिरहेका छन्। तल्लो खसिबासमा समेत सञ्चालित योजनाबाट प्राप्त पानी पर्याप्त छैन। खोलामा मोटर जडान गरेर पानी तान्नेहरूले वर्षायाममा धमिलो पानी खानुपर्ने तथा हिउँदमा पानी घट्ने समस्यासँग जुध्नुपरेको छ।

चारैतिर चुरे वनले घेरिएको यस बस्तीको मुख्य जीविकोपार्जन पशुपालन भए पनि खानेपानीको अभावले स्थानीयहरू समस्यामा परेका छन्। स्थायी समाधानको माग गर्दै स्थानीयहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

पाँचौँ संस्करणको ‘कला साहित्य उत्सव’मा पर्यावरण विमर्श हुने

0

झापा: रिडर्स झापाले नेपाल र भारतका पर्यावरण वैज्ञानिकहरूको सहभागितामा तीनदिने ‘कला साहित्य उत्सव’ आयोजना गर्ने भएको छ। फागुन १४, १५ र १६ गते सुदूरपूर्वी सहर काँकडभिट्टामा हुने पाँचौँ संस्करणको उत्सवको मुख्य विषय पर्यावरण विमर्श हुनेछ।

उत्सवमा नेपालका वैज्ञानिक डा. उत्तमबाबु श्रेष्ठ, भारतको लद्दाखका पर्यावरण संरक्षण अभियन्ता सोनम वाङचुक, भारतको कोलकाताका रैथाने धान संरक्षण अभियन्ता डा. देवल देवललगायत वक्ताहरूले पर्यावरण संरक्षण र चुनौतीहरूबारे आफ्ना विचार प्रस्तुत गर्नेछन्। रिडर्स झापाका अध्यक्ष शैलेश दाहालका अनुसार, यो कार्यक्रम पर्यावरणीय संकट, जलवायु परिवर्तन, बाढी, पहिरो, प्रदूषण र प्राकृतिक विपद्को सामना गर्ने उपायहरूबारे वैचारिक अन्तरक्रियामा केन्द्रित हुनेछ।

उत्सवमा चित्रकला प्रदर्शनी, नाटक मञ्चन, कविता वाचन र प्रश्नोत्तर कार्यक्रमहरू समेत समावेश गरिनेछ। स्थानीय देहीआर्ट, चरा तथा वन्यजन्तु संरक्षण समाज र परिवर्तन थिएटरको सहकार्यमा चरा अवलोकन, भित्तेचित्र लेखन, फोटो प्रदर्शनी, सामूहिक छलफल जस्ता गतिविधिहरू सञ्चालन गरिने संयोजक सागर सिवाकोटीले जानकारी दिए।

उद्घाटन सत्रमा नेपाली वैज्ञानिक डा. उत्तमबाबु श्रेष्ठले ‘पर्यावरणीय संकट र नेपाल’ विषयमा मन्तव्य दिनेछन् भने भारतका वैज्ञानिक सोनम वाङचुकले हिमालय क्षेत्रको पर्यावरण संरक्षण आन्दोलन र उपलब्धिहरूबारे धारणा राख्नेछन्।

२०६५ सालमा पठन संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित रिडर्स झापाले २०६९ देखि हरेक दुई वर्षमा यो उत्सव आयोजना गर्दै आएको छ। कोरोना महामारीका कारण केही समय रोकिएको यो कार्यक्रम पुनः सञ्चालन हुन लागेको हो।

नेपाल र भारतका कलाकर्मी तथा पर्यावरण अभियन्ताहरूको सहभागिता रहने यस उत्सवमा १२ वटा छलफल सत्र हुनेछन्, जसमा ३० जना विज्ञले आफ्नो प्रस्तुति दिनेछन्। काँकडभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजना हुने यो त्रिदिवसीय उत्सवमा करीब रु १६ लाख खर्च हुने आयोजकको अनुमान छ।

जनकपुरधाममा मुख्यमन्त्री सतीस कुमार सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन

0

जनकपुरधाम: मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहविरुद्ध जनकपुरधाममा मसाल जुलुस प्रदर्शन गरिएको छ। शुक्रबार साँझ राष्ट्रिय एकता अभियानका युवाहरूले मुख्यमन्त्री सिंहको विरोध गर्दै मसाल जुलुस निकालेका हुन्।

भानु चोकबाट सुरु भएको जुलुस शिव चोक हुँदै जनक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। प्रदर्शनकारीहरूले ‘मुख्यमन्त्री सतीस सिंह मुर्दाबाद’, ‘प्रदेश सरकार मुर्दाबाद’ लगायतका नारासमेत लगाए।

अभियानमा संलग्न अक्षय यादवका अनुसार, आर्थिक वर्षको तीन महिना मात्र बाँकी रहँदा समेत मुख्यमन्त्रीले कुनै विकासको काम नगरेको र बजेट खर्च पनि १ प्रतिशत मात्र भएको आरोप लगाउँदै विरोधस्वरूप मसाल जुलुस निकालिएको हो।

उनले मुख्यमन्त्री सिंहले बजेट खर्च र विकास योजनामा ध्यान नदिई निजी अस्पतालहरूको अनुगमनमा मात्रै चासो देखाएको आरोप लगाए। ‘जनताको कामलाई प्राथमिकता दिनुको साटो अन्य विषयमा बढी केन्द्रित भएकाले विरोध गर्नु परेको हो’, यादवले भने।

उनका अनुसार, यसअघि पटक–पटक ज्ञापन पत्र बुझाउँदा पनि मुख्यमन्त्रीले कुनै प्रतिक्रिया नदेखाएको भन्दै विरोधस्वरूप मसाल जुलुस निकालिएको हो।

महाकुम्भमा दुर्घटना १० को मृत्यु, १९ घाइते

0

प्रयागराज: उत्तर प्रदेशको प्रयागराजमा एक भीषण सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। महाकुम्भमा स्नान गर्न आएका श्रद्धालु सवार बोलेरो र बस आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रारम्भिक जानकारीअनुसार, बस र बोलेरोमा रहेका सबै श्रद्धालु मध्यप्रदेश र छत्तीसगढका बासिन्दा थिए। दुर्घटनामा परेका घाइतेहरूको अहिले अस्पतालमा उपचार भइरहेको छ।

घटना शुक्रबार राति मेजाको प्रयागराज-मिर्जापुर राजमार्गमा भएको हो। संगम स्नान गर्न जाँदै गरेका छत्तीसगढको कोरबा जिल्लाका १० भक्तजन सवार बोलेरो बससँग ठोक्किँदा घटनास्थलमै ज्यान गएको बताइएको छ।

यसैगरी, बसमा रहेका १९ जना घाइते भएका छन्। उनीहरू संगम स्नान गरेर वाराणसी फर्किंदै थिए। घाइतेहरूलाई तत्कालै सीएचसी रामनगर अस्पतालमा भर्ना गरिएको छ। बसमा सवार सबै मध्यप्रदेशको राजगढ जिल्लाका बासिन्दा भएको खुलेको छ।

प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ।