झापा: रिडर्स झापाले नेपाल र भारतका पर्यावरण वैज्ञानिकहरूको सहभागितामा तीनदिने ‘कला साहित्य उत्सव’ आयोजना गर्ने भएको छ। फागुन १४, १५ र १६ गते सुदूरपूर्वी सहर काँकडभिट्टामा हुने पाँचौँ संस्करणको उत्सवको मुख्य विषय पर्यावरण विमर्श हुनेछ।
उत्सवमा नेपालका वैज्ञानिक डा. उत्तमबाबु श्रेष्ठ, भारतको लद्दाखका पर्यावरण संरक्षण अभियन्ता सोनम वाङचुक, भारतको कोलकाताका रैथाने धान संरक्षण अभियन्ता डा. देवल देवललगायत वक्ताहरूले पर्यावरण संरक्षण र चुनौतीहरूबारे आफ्ना विचार प्रस्तुत गर्नेछन्। रिडर्स झापाका अध्यक्ष शैलेश दाहालका अनुसार, यो कार्यक्रम पर्यावरणीय संकट, जलवायु परिवर्तन, बाढी, पहिरो, प्रदूषण र प्राकृतिक विपद्को सामना गर्ने उपायहरूबारे वैचारिक अन्तरक्रियामा केन्द्रित हुनेछ।
उत्सवमा चित्रकला प्रदर्शनी, नाटक मञ्चन, कविता वाचन र प्रश्नोत्तर कार्यक्रमहरू समेत समावेश गरिनेछ। स्थानीय देहीआर्ट, चरा तथा वन्यजन्तु संरक्षण समाज र परिवर्तन थिएटरको सहकार्यमा चरा अवलोकन, भित्तेचित्र लेखन, फोटो प्रदर्शनी, सामूहिक छलफल जस्ता गतिविधिहरू सञ्चालन गरिने संयोजक सागर सिवाकोटीले जानकारी दिए।
उद्घाटन सत्रमा नेपाली वैज्ञानिक डा. उत्तमबाबु श्रेष्ठले ‘पर्यावरणीय संकट र नेपाल’ विषयमा मन्तव्य दिनेछन् भने भारतका वैज्ञानिक सोनम वाङचुकले हिमालय क्षेत्रको पर्यावरण संरक्षण आन्दोलन र उपलब्धिहरूबारे धारणा राख्नेछन्।
२०६५ सालमा पठन संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित रिडर्स झापाले २०६९ देखि हरेक दुई वर्षमा यो उत्सव आयोजना गर्दै आएको छ। कोरोना महामारीका कारण केही समय रोकिएको यो कार्यक्रम पुनः सञ्चालन हुन लागेको हो।
नेपाल र भारतका कलाकर्मी तथा पर्यावरण अभियन्ताहरूको सहभागिता रहने यस उत्सवमा १२ वटा छलफल सत्र हुनेछन्, जसमा ३० जना विज्ञले आफ्नो प्रस्तुति दिनेछन्। काँकडभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजना हुने यो त्रिदिवसीय उत्सवमा करीब रु १६ लाख खर्च हुने आयोजकको अनुमान छ।


