काठमाडौँ: सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा चुक्दा नेपाल फेरि वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) को ‘ग्रे लिस्ट’ मा परेको छ। फ्रान्सको पेरिसमा सम्पन्न एफएटिएफको पूर्ण बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष एलिसा डे आन्दा माद्राजोले यसबारे जानकारी दिएकी छन्।
नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी संरचना निर्माणमा प्रगति गरे पनि संरचनागत र व्यावहारिक सुधारमा कमजोरी देखिएको भन्दै एफएटिएफले ‘ग्रे लिस्ट’ मा राख्ने निर्णय गरेको हो। अनुसन्धान तथा अभियोजन प्रक्रियामा फितलोपना देखिएको, कानुनी सुधार भए पनि कार्यान्वयनमा प्रभावकारीता नदेखिएको, तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानीको पहिचान र नियन्त्रण गर्न नेपाल असक्षम रहेको जस्ता कारणहरू औंल्याइएको छ।
नेपाल यसअघि सन् २०१४ मा ‘ग्रे लिस्ट’ बाट बाहिरिएको थियो। तर हालै एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपिजी) ले गरेको ‘पारस्परिक मूल्याङ्कन प्रतिवेदन’ मा नेपालले आवश्यक सुधार नगरेको देखिएपछि, एफएटिएफले नेपाललाई एक वर्षको निगरानी अवधि दिएको थियो। तर, सो अवधिमा अपेक्षित सुधार गर्न नसकेपछि नेपाल फेरि ‘ग्रे लिस्ट’ मा सूचीकृत भएको हो।
नेपाल कहाँ चुक्यो?
एफएटिएफले नेपाललाई सुधार गर्नुपर्ने केही प्रमुख विषयहरू औंल्याएको छ:
गैर–वित्तीय क्षेत्र नियमनको अभाव: यो क्षेत्रमा सम्पत्ति शुद्धीकरणको उच्च जोखिम देखिएको छ।
आतंककारी क्रियाकलापमा वित्तीय लगानी ट्र्याक गर्न असफलता: नेपालले यस प्रकारका गतिविधिलाई प्रभावकारी रूपमा पहिचान गर्न सकेको छैन।
अनुसन्धान र अभियोजन प्रक्रियामा कमजोरी: उच्च जोखिमका बावजुद नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अनुसन्धान तथा जाँचबुझ प्रभावकारी रूपमा गर्न सकेको छैन।
कानुनी सुधार भए पनि कार्यान्वयन कमजोर: कानुनी संरचना भए पनि तल्लो तहसम्म यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।
बैंक तथा वित्तीय संस्थाहरूमा जोखिम व्यवस्थापन प्रणालीको अभाव: ‘बेनेफिसियल ओनरसिप’ र ‘पोलिटिकल्ली एक्सपोज्ड पर्सन’ को लगानी व्यवस्थापनमा कमजोरी देखिएको छ।
नेपालले सन् २०२० मा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन गरेको थियो। सो मूल्याङ्कनबाट नेपालका नियामक निकाय र निजी क्षेत्र केही हदसम्म सचेत देखिए पनि आतंककारी क्रियाकलापमा वित्तीय लगानी पहिचान र नियन्त्रण गर्न चुनौतीपूर्ण रहेको निष्कर्ष निकालिएको थियो।
‘ग्रे लिस्ट’ मा पर्नुको प्रभाव
नेपाल ‘ग्रे लिस्ट’ मा परेसँगै मुलुकको वित्तीय प्रणालीमा गम्भीर असर पर्ने देखिएको छ। वित्तीय अपराधहरू बढिरहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले नेपालप्रति विदेशी लगानीकर्ताहरूको विश्वास घट्न सक्छ।
अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीमा असर: बैंकिङ लेनदेनमा कडाइ हुन सक्ने र वैदेशिक व्यापारमा अवरोध आउन सक्ने सम्भावना छ।
विप्रेषण प्रणाली प्रभावित: हुन्डी कारोबार बढ्न सक्ने र औपचारिक च्यानलमार्फत विप्रेषण आप्रवाह घट्न सक्ने चिन्ता छ।
वैदेशिक लगानी र सहयोगमा गिरावट: नेपालप्रति अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको रुचि घट्न सक्छ, जसले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेछ।
आर्थिक स्थायित्वमा असर: पुँजी पलायन बढ्न सक्ने, अनौपचारिक अर्थतन्त्रको आकार विस्तार हुने, र सरकारको वित्तीय नीति कार्यान्वयनमा समस्या देखिन सक्नेछ।
वित्तीय साख कमजोर हुँदै जाँदा नेपाली नागरिक र सरकारको सम्पत्ति जोखिममा पर्न सक्छ, जसले समग्र आर्थिक वृद्धिमा अवरोध पुर्याउनेछ। आर्थिक स्थायित्व कायम राख्न नेपालले सुधार योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक देखिन्छ।