Friday, July 3, 2026
Home Blog Page 463

सर्वोच्चको परमादेश: त्रिविमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक-कर्मचारी नियुक्त गर्नू (पूर्णपाठसहित )

0

काठमाडौं: सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा प्राध्यापक र कर्मचारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट मात्रै छनोट र नियुक्ति गर्नुपर्ने आदेश दिएको छ। न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासले २०८१ फागुन ६ गते जारी गरेको परमादेशको पूर्णपाठ हालै सार्वजनिक भएको हो।

त्रिवि सभाले २०७८ मंसिर १४ गते त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम, २०५० को नियम ६ को उपनियम (१) मा संशोधन गरी १० वर्ष अस्थायी वा करार सेवामा काम गरेका शिक्षक वा कर्मचारीलाई मात्रै प्रतिस्पर्धा गर्न दिने विशेष आन्तरिक खुला प्रतिस्पर्धाको व्यवस्था गरेको थियो।

उक्त निर्णय विरुद्ध मनिता खत्री लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनीहरूले उपयुक्त योग्यता भए पनि खुला प्रतिस्पर्धामा सहभागी हुनबाट वञ्चित गरिएको भन्दै न्याय माग गरेका थिए।

रिटमाथिको सुनुवाइपछि सर्वोच्चले, खुला प्रतिस्पर्धा न्यूनतम शैक्षिक योग्यता र उमेरजस्ता सर्तबाहेक अरू कुनै बन्देज नराखी सबैका लागि खुला हुनुपर्ने ठहर गरेको हो। विशेष वर्गलाई मात्रै प्रतिस्पर्धा गर्न दिने व्यवस्था स्वेच्छाचारी र समानताको हकविपरीत भएको अदालतको ठहर छ।

पूर्णपाठमा भनिएको छ, “संविधानले प्रत्याभूत गरेको मौलिक हकमा आघात पुग्ने गरी त्रिवि सभाले नियम संशोधन गरेको देखिन्छ।” त्रिवि ऐनको दफा १०(च) र ३४ समेतको उल्लंघन भएको ठहर गर्दै, २०७८ मंसिर १४ र २०८० असार १२ मा गरिएको संशोधन निर्णय र त्यसका आधारमा भएका सबै कामकारबाही उत्प्रेषणको आदेशमार्फत बदर गरिएको हो।

सर्वोच्चले त्रिभुवन विश्वविद्यालयलाई खुला प्रतिस्पर्धालाई साँघुरो र निष्प्रभावी बनाउने कुनै प्रावधान नराख्न, र स्वच्छ एवं स्वस्थ प्रतिस्पर्धाबाट पदपूर्ति गराउन स्पष्ट परमादेश दिएको छ।
TU_supreme

दुई ओटा संसदीय समितिको बैठक बस्दै

0

काठमाडौं: संघीय संसद् अन्तर्गत आज दुई ओटा संसदीय समितिहरूको बैठक बस्दैछन्।अर्थ समिति र उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक आज सिंहदरबारमा निर्धारित छ।

अर्थ समितिको बैठक दिउँसो १२ बजे बस्नेछ। बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ संशोधन गर्न बनेको विधेयकका सन्दर्भमा सरोकारवालाहरू र विज्ञहरूसँग छलफल हुने कार्यसूची रहेको छ।

त्यस्तै, उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे बस्नेछ। सो बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिसँग छलफल गरिनेछ।

दुवै बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने कार्यक्रम रहेको छ।

चितवनको विकट कान्दामा चेपाङ बालबालिकाको उत्कृष्ट शैक्षिक प्रगति, कान्देश्वरी विद्यालय नगरकै उत्कृष्टमा

0

भरतपुर: चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय शिक्षामा उल्लेखनीय प्रगति गर्न थालेका छन्। चितवनको राप्ती नगरपालिका–१३ स्थित चेपाङ बालबालिकामात्र अध्ययनरत कान्देश्वरी आधारभूत विद्यालय यस वर्षको कक्षा ८ को परीक्षामा नगरकै उत्कृष्ट विद्यालय घोषित भएको छ।

विद्यालयले कक्षा ८ मा अध्यापन सुरु गरेको पहिलो वर्षमै उत्कृष्ट नतिजा हासिल गरेको हो। विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाका अनुसार, यस वर्ष परीक्षामा सहभागी भएका १३ मध्ये एक जनाले ग्रेड प्लस, सात जनाले ए ग्रेड, दुई जनाले बी प्लस ग्रेड ल्याएका छन्। “पहिलो वर्षमै यस्तो परिणाम आउँदा हामी अत्यन्तै खुसी छौं,” उहाँले भन्नुभयो, “शिक्षक, विद्यार्थी, अभिभावक र संस्थाहरूको संयुक्त मेहनतले नै यो सम्भव भएको हो।”

विद्यालयमा लक्ष्मी प्रतिष्ठानको सहयोगमा आवासीय छात्रावास सञ्चालन भएपछि चेपाङ समुदायका बालबालिकाको पढाइप्रतिको लगाव बढेको हो। “बिहान ४ बजेदेखि राति ९ बजेसम्म नियमित अध्यापन हुन्छ, र शिक्षकहरू पनि आवासमै बस्नुहुन्छ,” थपलियाले जानकारी दिनुभयो।

राप्ती नगरपालिकामा रहेका २७ सामुदायिक विद्यालयमध्ये कान्देश्वरीसहित तीन विद्यालयले कक्षा ८ को परीक्षामा सतप्रतिशत नतिजा ल्याएको नगरपालिकाको शिक्षा शाखाकी प्राविधिक सहायक लक्ष्मी लामिछानेले जानकारी दिनुभयो। विकट क्षेत्रमै यस्तो नतिजा आएकोले यो विद्यालय बजार क्षेत्रका स्कुलहरूसँग प्रतिस्पर्धा गर्न सक्ने उदाहरण बनेको उहाँको भनाइ छ।

कान्दा चितवनकै अत्यन्तै विकट गाउँ हो, जहाँ अहिलेसम्म सवारीसाधन र विद्युत् सेवा पुगेको छैन। स्थानीय सीताबहादुर चेपाङका अनुसार, अब भने अभिभावकमाझ छोराछोरीलाई विद्यालय पठाउनुपर्छ भन्ने चेतना विकास भएको छ।

विद्यालयमा पूर्वाधारको अभाव छ। हाल कक्षा ८ सम्म पढाइ भइरहेको भए पनि शिक्षक दरबन्दी अपुग रहेको प्रधानाध्यापक थपलियाले बताउनुभयो। १० जनाको दरबन्दी आवश्यक भए पनि हाल सात शिक्षक मात्र छन्। साथै, विद्यालयमा शौचालय, पुस्तकालय, आवश्यक स्रोतसाधनको अभाव पनि रहेको छ।

२०७२ साल अघिसम्म कक्षा ३ सम्ममात्र पढाइ हुने यस विद्यालयमा २०६७ सालमा एकै घरका आठ जनाले विषालु च्याउ खाएर ज्यान गुमाएपछि राज्य र संस्थाहरूको ध्यान त्यता गएको थियो। त्यसपछि लक्ष्मी प्रतिष्ठान र मितेरी फाउण्डेशन सक्रिय रूपमा सहयोग गर्न थाले। प्रतिष्ठानले छात्रावास सञ्चालन गरिदिएको छ भने फाउण्डेशनले दुई शिक्षक उपलब्ध गराएको छ, जसले गर्दा आज विद्यालयले कक्षा ८ सम्मको पढाइ सञ्चालन गर्न सकेको हो।

विगतमा ५० जना पनि नपुग्ने विद्यार्थी संख्या अहिले १५० पुगेको छ। यससँगै स्रोत र पूर्वाधार आवश्यकतासमेत बढेको प्रधानाध्यापक थपलियाको भनाइ छ। कक्षा ८ पछि अन्यत्र जानुपर्ने बाध्यता रहेकाले लक्ष्मी प्रतिष्ठानले काभ्रेमा सञ्चालन गरेको छात्रावासमा कक्षा १२ सम्मका लागि बालबालिकालाई पठाउँदै आएको छ।

सरकार र सम्बन्धित निकायले अझ बढी ध्यान नदिए यो प्रगति दीर्घकालीन हुन नसक्ने थपलियाको चेतावनी छ। “सङ्घसंस्था नहुँदो हो त यहाँका धेरै बालबालिका अझै पनि शिक्षाबाट वञ्चित हुन्थे,” उहाँले भन्नुभयो।

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान देउवा निवासमा बस्दै

0

काठमाडौं: नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (सोमबार) बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने भएको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको क्रियाशील सदस्यता नवीकरणसम्बन्धी हालसम्मको प्रगतिबारे विस्तृत छलफल हुने छ। उक्त विषयमा महामन्त्री गगन थापाको संयोजकत्वमा गठित समिति पदाधिकारीहरूलाई जानकारी गराउनेछ।

साथै, बैठकमा गृहमन्त्री रमेश लेखकसँग सम्बन्धित अध्यागमन विभागसम्बन्धी पछिल्लो विवादबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।

धुलिखेलमा ट्रमा तथा आपतकालीन केन्द्र निर्माण हुने, जापान सरकारको ५७ करोड येन थप सहयोग

0

काभ्रेपलाञ्चोक: धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालमा आधुनिक ट्रमा तथा आपतकालीन सेवा केन्द्र (ट्रमा एण्ड इमर्जेन्सी सेन्टर) निर्माण गरिने भएको छ। नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी (जाइका)बीचको समझदारीअनुसार जापान सरकारले यो केन्द्र निर्माणका लागि सहयोग प्रदान गर्नेछ।

जापान सरकारले यस परियोजनाका लागि अतिरिक्त ५७ करोड ३० लाख येन (लगभग ५१ करोड नेपाली रुपैयाँ) अनुदान उपलब्ध गराउनेछ। यो सहयोगबारे सम्झौता जेठ २ गते अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोबीच सम्पन्न भएको हो।

यसअघि नै जापानले सन् २०२३ मा यस परियोजनाका लागि तीन अर्ब २९६ करोड येन बराबरको अनुदानमा हस्ताक्षर गरिसकेको थियो। तर निर्माण लागतमा वृद्धि तथा अन्य कारणले देखिएको आर्थिक अभावका कारण हाल थप अनुदान दिइएको जापानस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार नेपालमा सडक सञ्जाल विस्तार, यातायातको बढ्दो प्रयोग, ट्रमाका बिरामीको संख्या र नसर्ने रोगहरू (जस्तै: स्ट्रोक, मुटु) का कारण अस्पतालहरूमा श्यया र उपकरणको अभाव देखिन थालेकोले यो सहायता प्रदान गरिएको हो।

सहयोगबाट धुलिखेलमा १०० श्ययाको आधुनिक ट्रमा सेन्टर स्थापना हुनेछ। उक्त केन्द्रमा पार्किङ, आइसियु, एचडियु, तीनवटा अपरेशन थिएटर, ल्याब, फार्मेसी, फोहोर व्यवस्थापनलगायत सबै आवश्यक सेवा उपलब्ध हुनेछन्। भवन तीन तला बेसमेन्टसहित पाँच तल्ले हुनेछ, जसमा भूकम्प प्रतिरोधात्मक प्रविधि तथा आपतकालीन संरचना समेत रहनेछ।

निर्माण सम्झौता अनुसार जापानले भवन निर्माण लागतमा ६० प्रतिशत तथा सबै प्रकारका चिकित्सकीय उपकरणमा ४० प्रतिशत योगदान दिनेछ।

धुलिखेल ट्रमा सेन्टरको स्थापना अरनिको र विपी राजमार्ग हुँदै काठमाडौँ आउनुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्यसहित गरिएको हो। अरनिको राजमार्गले धुलिखेललाई चीनको तिब्बतसँग र विपी राजमार्गले पूर्वी नेपाल हुँदै भारतसँग जोड्दछ।

चिकित्सकहरूका अनुसार दुर्घटनापछि ‘गोल्डेन आवर’ अर्थात् छ घण्टाभित्र उपचार गरेमा बिरामीको ज्यान बच्ने सम्भावना उच्च हुन्छ। यो समयावधि गुमाउँदा मृत्यु वा गम्भीर अङ्गभङ्ग हुने जोखिम अत्यधिक हुने भएकाले, ट्रमा सेन्टर स्थापनालाई जीवनरक्षासँग प्रत्यक्ष जोडिएको मानिएको छ।

बागमती प्रदेशको प्रदेश खेलकुद परिषदले २ करोड १६ लाखको सामान सोझै खरिद

0

हेटौंडा: बागमती प्रदेशको प्रदेश खेलकुद परिषद्, हेटौंडाले २ करोड १६ लाख रुपैयाँ बराबरको सामग्री सार्वजनिक बोलपत्र बिना नै सोझै खरिद गरेको पाइएको छ। गत आर्थिक वर्षमा परिषद्ले ठूलो रकमलाई ४४ वटा टुक्रामा बाँडेर विभिन्न फर्महरूबाट वितरणमुखी शैलीमा सोझै खरिद गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

सार्वजनिक खरिद ऐनअनुसार २० लाख रुपैयाँभन्दा बढीको कार्य ठेक्का प्रक्रियामार्फत गर्नुपर्ने कानुनी व्यवस्था छ। तर परिषद्ले कानुनको उल्लंघन गर्दै सोझै खरिद प्रक्रिया अपनाएको भन्दै महालेखाले आपत्ति जनाएको हो।

परिषद्ले अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन तथा समापनका लागि खेलमैदान निर्माण, खेल सामग्री खरिद, साउण्ड सिस्टम, झण्डा, खादा, छपाइ लगायतका शीर्षकमा ४४ वटा फर्महरूमार्फत सोझै खरिद गरेको थियो।

त्यस्तै, परिषद्ले बितेको आर्थिक वर्षमा विभिन्न संघसंस्थाहरूलाई प्रदान गरिएको अनुदानबारे पनि महालेखाले प्रश्न उठाएको छ। अनुदान वितरण भएपनि सो रकमको सदुपयोग भएको नहुन सक्ने आशङ्कासहित अनुगमन तथा मूल्याङ्कन नभएको विषयमा महालेखाको ध्यानाकर्षण भएको हो।

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

0

काठमाडौं: हाल देशभरि पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका साथै देशका पहाडी भूभागका केही स्थानहरूमा र अन्य क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनासमेत रहेको छ।

आज रातिको मौसमसम्बन्धी पूर्वानुमान अनुसार कोशी, मधेश र बागमती प्रदेशका पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ। विशेषगरी कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना महाशाखाले जनाएको छ।

न्युजिल्यान्डका उपप्रधानमन्त्री विन्स्टन पिटर्सको नेपाल भ्रमण हुँदै

0

काठमाडौँ: न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स औपचारिक भ्रमणका लागि नेपाल आउन लाग्नुभएको छ। उहाँ यही जेठ १४ र १५ गते नेपालको भ्रमणमा रहने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

भ्रमणका अवसरमा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ। साथै, उहाँले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय वार्ता पनि गर्नुहुनेछ।

न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको हैसियतमा पिटर्सको यो पहिलो नेपाल भ्रमण हो। परराष्ट्र मन्त्रालयका अनुसार यस भ्रमणले नेपाल–न्युजिल्यान्डबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

सरकार शिक्षकसँगको नौबुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध : मन्त्री पन्त

0

काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार र नेपाल शिक्षक महासङ्घबीच भएको नौबुँदे सहमति कार्यान्वयनप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गर्नुभएको छ।

आज प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल हुँदै मन्त्री पन्तले सहमति कार्यान्वयन गर्न सरकार र राजनीतिक दलहरूको साझा प्रतिबद्धता रहेको उल्लेख गर्नुभयो।

विधेयकलाई निष्कर्षमा पुर्‍याउन शिक्षक महासङ्घसँग छलफल जारी रहेको जानकारी दिँदै मन्त्री पन्तले समितिसँग एक हप्ताको समय माग गर्नुभयो। उहाँले “विधेयकमा शिक्षक महासङ्घसँग सल्लाह भइरहेकाले चाँडै निष्कर्षमा पुगिन्छ,” भन्नुभयो।

समितिमा विभिन्न सांसदहरूको धारणा

समिति सभापति अमरबहादुर थापाले शिक्षा मन्त्रालयको प्रत्यक्ष जिम्मेवारी रहेको विधेयक यथाशीघ्र ल्याउनुपर्नेमा जोड दिनुभयो। “भताभुङ्ग भएको शिक्षा प्रणालीलाई विधेयकमार्फत सही दिशामा लैजान ढिला गर्नु हुँदैन,” उहाँले भन्नुभयो।

समिति सदस्य महेन्द्र राय यादवले शिक्षकहरूसँग भएको विगतको सहमति अनुसार नै विधेयक ल्याउनुपर्ने धारणा राख्नुभयो। उहाँले निजी विद्यालयका विषयमा समितिको एउटै साझा धारणा हुनुपर्नेमा जोड दिँदै चेतावनी दिनुभयो, “शिक्षकको समस्या समाधान नगरे मुलुक गम्भीर समस्यामा पर्न सक्छ।”

सदस्य ज्ञानु बस्नेत सुवेदीले दोहोरो शिक्षा प्रणाली अन्त्य गर्ने जिम्मा विधेयकको कन्धामा रहेको बताउँदै, बाल शिक्षाको विषय समितिले टुंग्याउनुपर्ने धारणा राख्नुभयो।

सदस्य सुमना श्रेष्ठले विधेयकलाई अन्तिमरूप दिन मन्त्रालयले अझ गम्भीर छलफल गर्नुपर्नेमा जोड दिनुभयो।

सदस्य देवेन्द्र पौडेल र रेखा शर्माले पनि बाल शिक्षा अत्यन्त संवेदनशील विषय भएकाले समितिभित्र गम्भीर छलफल गरी स्पष्ट निष्कर्ष निकाल्नुपर्नेमा जोड दिनुभयो। रेखा शर्माले विधेयकले निम्त्याउने सम्भावित आर्थिक दायित्वबारे पनि ध्यान दिनुपर्ने बताउनुभयो।

त्यस्तै, सदस्य दीपा शर्माले प्रारम्भिक बाल विकास शिक्षालाई “शिक्षाको जग” को रूपमा व्याख्या गर्दै, बाल शिक्षालाई बेवास्ता गरेर अघि बढ्न नहुने टिप्पणी गर्नुभयो।

न्युनतम सेवा मापदण्ड अनुगमनमा भरतपुर अस्पताल देशकै पहिलो अस्पताल

0

चितवन: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित न्यूनतम सेवा मापदण्ड कार्यक्रमअन्तर्गत गरिएको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पतालले देशभरका संघीय अस्पतालहरूमध्ये प्रथम स्थान हासिल गरेको छ। अस्पतालले ८८ प्रतिशत अङ्कसहित ‘ग्रिनजोन’ स्टिकर प्राप्त गर्दै देशकै उत्कृष्ट संघीय अस्पताल बन्न सफल भएको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार यो मूल्याङ्कन देशभरका १५ वटा संघीय अस्पतालमा गरिएको थियो। “८५ प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने अस्पताललाई मात्र दिइने ‘ग्रिनजोन’ स्टिकर यसपटक भरतपुर अस्पताल एकमात्र प्राप्तकर्ता बन्न सफल भएको छ,” उहाँले बताउनुभयो।

अनुगमन तथा मूल्याङ्कनमा सुशासन र व्यवस्थापन, चिकित्सकीय सेवा, फोहरमैला व्यवस्थापन, र अन्य सहयोगी सेवाहरूलाई आधार मानेर मूल्याङ्कन गरिएको हो। अनुगमन टोलीको नेतृत्व मन्त्रालयका प्रवक्ता डा. प्रकाश वुढाथोकीले गर्नुभएको थियो।

डा. पौडेलले अस्पतालले गुणस्तरीय सेवा प्रवाहमा निरन्तर सुधार गर्दै आएको बताउँदै भन्नुभयो, “अस्पतालको सम्पूर्ण टिम सेवा सुधारमा समर्पित छ, जसको परिणामस्वरूप यो उपलब्धि हासिल भएको हो।”

सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालले विगत केही वर्षयता निरन्तर रूपमा आफ्नो मूल्याङ्कन अङ्क सुधार गर्दै आएको छ। उनका अनुसार:

२०७८ सालमा: ५२ प्रतिशत

२०७९ मा: ६२ प्रतिशत

२०८० मा: ६४ प्रतिशत

२०८१ मा: ७७ प्रतिशत

२०८२ मा: ८८ प्रतिशत

यस उपलब्धिले भरतपुर अस्पतालको सेवा, व्यवस्थापन र समर्पणलाई थप पुष्टि गरेको छ।