भक्तपुर: भक्तपुरमा सम्पन्न बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता–२०८१ मा सूर्यविनायक नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै समग्र उपाधि हात पार्न सफल भएको छ। प्रतियोगिता जेठ ९ र १० गते सूर्यविनायक नगर सितोरियो कराँते संघको आयोजनामा तथा सूर्यविनायक नगरपालिकाको विशेष प्रायोजनमा सम्पन्न भएको हो।
प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले तीन स्वर्ण, एक रजत र तीन कांस्य पदक जित्दै दोस्रो स्थान हासिल गर्यो, भने काठमाडौँ महानगरपालिकाले दुई स्वर्ण, एक रजत र पाँच कांस्यसहित तेस्रो स्थानमा चित्त बुझायो।
पुरुष तर्फ गोदावरी नगरपालिकाका राज व्लोन र महिला तर्फ साँगाचोकगढी नगरपालिकाकी आशिका तामाङ उत्कृष्ट खेलाडी घोषित भए। यो जानकारी सितोरियो कराँतेका प्रशिक्षक सचितानन्द बनेपालीले दिनुभयो।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गर्नुभएको थियो। कार्यक्रमको प्रारम्भ बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले खेल सामग्री हस्तान्तरण गरेर गर्नुभएको थियो। समापन समारोह तथा पुरस्कार वितरण सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। समारोहमा वडा नं. २ का अध्यक्ष प्रदीप कार्की र वडा नं. ९ का अध्यक्ष भगवान् खत्री विशेष आतिथ्यका रूपमा सहभागी थिए।
विजेता खेलाडीहरूलाई मेडल र प्रमाणपत्र तथा टोलीलाई ट्रफी प्रदान गरियो। समापन समारोहमा बोल्दै नगरप्रमुख थापाले नगरको समुन्नत विकासका लागि खेल क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै, भावी पुस्ताले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना देखिएको बताउनुभयो।
कार्यक्रम संयोजक तथा भक्तपुर जिल्ला सितोरियो कराँते संघका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीका अनुसार प्रतियोगितामा १३ जिल्लाका १५ स्थानीय तहबाट १२० पुरुष र ९० महिला गरी कुल २१० खेलाडी सहभागी थिए। सहभागी नगरपालिकामा मध्यपुरथिमी, चाँगुनारायण, बनेपा, पाँचखाल, काठमाडौँ, बुढानीलकण्ठ, गोदावरी, गोकर्णेश्वर, बागमती गाउँपालिका, टोखा, साँगाचोकगढी, पनौती, धुलिखेल लगायत रहेका थिए।
प्रतियोगिता विभिन्न तौल समूहमा सम्पन्न भएको थियो — पुरुषतर्फ ३५ केजीदेखि ६७ केजीसम्म र महिलातर्फ ३५ केजीदेखि ६१ केजीसम्म। साथै, महिला–पुरुष व्यक्तिगत काता र टिम काता प्रतिस्पर्धाहरू पनि सञ्चालन गरिएका थिए। सम्पूर्ण खेल World Karate Federation (WKF), Asian Karate Federation (AKF) र Nepal Karate Federation (NKF) का मापदण्डअनुसार सञ्चालन गरिएको हो।
प्रतियोगिताका प्रमुख निर्णायक (चिफ रेफ्री) प्रकाशमोहन धौवडेल रहनुभएको थियो। प्रतियोगिताका क्रममा कराँते खेलको विकासमा योगदान पुर्याउने प्रशिक्षक, व्यवस्थापक र संघ प्रतिनिधिहरूलाई सम्मानसमेत गरिएको थियो। सहभागीहरूको भनाइमा, खेल संघको सशक्त व्यवस्थापन, खेलाडीहरूको उत्कृष्ट प्रदर्शन र नगरपालिकाको सक्रियताले यो प्रतियोगिता कराँते खेलको प्रवर्द्धनमा ऐतिहासिक उपलब्धि सावित भएको छ।