काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न भएको आरोप लागेका गृहमन्त्री लेखकले पदत्याग गरी निष्पक्ष अनुसन्धानमा सहयोग पुर्याउनुपर्ने जनाएको हो।
पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकपछि कार्यबाहक प्रवक्ता मनीष झाले गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनको मार्ग सहज बनाउनुपर्ने माग दोहोर्याएका छन्।
विज्ञप्तिमा भनिएको छ, “विगतमा सांसदको हैसियतमा रमेश लेखकले नै ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भन्ने विभिन्न दृष्टान्तहरू प्रस्तुत गर्नुभएको थियो। आज त्यही मान्यतालाई स्मरण गराउँदै, हामी उहाँलाई गृहमन्त्री पदबाट यथाशीघ्र राजीनामा दिन र निष्पक्ष अनुसन्धानमा सहयोग गर्न आग्रह गर्छौं।”
बैठकले साथै, रास्वपाका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसला सदर गरेको निर्णयलाई कानूनी रूपमा स्वीकार गरेको जनाएको छ।



