Friday, July 3, 2026
Home Blog Page 462

धर्मगुरु रामबहादुर बम्जन सम्पत्ति शुद्धिकरणमा पुन: जेल चलान

0

मलङ्गवा (सर्लाही): विवादास्पद धर्मगुरु रामबहादुर बम्जन, जसलाई ‘रामलाल बम्जन’ र ‘लिटिल बुद्ध’ का नामले समेत चिनिन्छ, सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका छन्। सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई थुनामा राख्ने आदेश दिएपछि मलङ्गवा कारागार पठाइएको हो।

बम्जनविरुद्ध २०८१ साल फागुन ५ गते सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा दर्ता भएको थियो। मुद्दाको सुनुवाइका क्रममा उनी अदालतमा उपस्थित हुँदा ठूलो सङ्ख्यामा उनका समर्थक तथा अनुयायीहरू अदालत परिसरमा भेला भएका थिए।

यसअघि पनि बम्जनलाई सर्लाही जिल्ला अदालतले एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुर्व्यवहार गरेको ठहर गर्दै २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो। तर उनले उक्त फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए।

उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गत चैत ६ गते सफाइ दिएको थियो, जसपछि उनी जेलमुक्त भएका थिए। तर हाल पुनः सम्पत्ति शुद्धिकरण मुद्दामा थुनामै राखिने भएपछि उनी पुनः जेल चलान भएका छन्।

यु–१६ सुदूरपश्चिम छनोटः कैलालीको लगातार दोस्रो जित

0

बैतडी: एसिसी मेन्स यु–१६ इस्ट जोन कप–२०२५ को सुदूरपश्चिम क्षेत्रीय छनोटमा कैलालीले लगातार दोस्रो जित निकाल्दै फाइनल प्रवेशको दाबी बलियो बनाएको छ। पहिलो खेलमा अछामलाई ७१ रनले हराएको कैलालीले सोमबार दार्चुलामाथि ९४ रनको फराकिलो जित दर्ता गर्‍यो।

पहिले ब्याटिङ गर्दै कैलालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनायो। अविरल विकले अविजित ५३ रनको अर्धशतकीय पारी खेले। दार्चुलाका रोशन मिश्र र पुरषोत्तम रावलले दुई–दुई विकेट लिए।

१३१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको दार्चुला १६.३ ओभरमै जम्मा ३६ रनमा अलआउट भयो। दार्चुलाका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। कैलालीका रुद्रप्रसाद आचार्यले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएर ‘प्लेयर अफ द म्याच’ घोषित भए। स्कोरर नुरेन अन्सारीका अनुसार यो दार्चुलाको लगातार दोस्रो हार हो, जसले टोली प्रतियोगिताबाट बाहिरिएको छ।

सोमबार नै तय भएको अछाम र कञ्चनपुरबीचको खेल वर्षाका कारण रद्द भयो, जसले दुवै टोलीले समान अंक बाँडेका छन्। आज (मंगलबार) हुने कैलाली र कञ्चनपुरबीचको खेलले फाइनलमा पुग्ने टोली तय गर्नेछ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा जेठ ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल क्रिकेट संघमा आबद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता छ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशस्तरीय टोलीमा छनोट गरिने संघका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले जानकारी दिएका छन्।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुने यु–१६ इस्ट जोन कपका लागि नेपाल क्रिकेट संघले यही महिनाभित्र राष्ट्रिय स्तरको छनोट प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ।

कोसी प्रोजेक्ट शो केसको उपाधि एक्मी इन्जिनियरिङलाई

0

काठमाडौं: कोसी प्रोजेक्ट शोकेसको उपाधि एक्मी इन्जिनियरिङले जितेको छ। आइतबार काठमाडौंमा सम्पन्न फाइनल चरणमा नौ वटा टोलीलाई पछि पार्दै एक्मी इन्जिनियरिङ कलेजको ‘एक्मी कोस्टर’ टोलीले उपाधि हात पारेको हो।

कोसी प्रदेशको पर्यटन प्रवर्द्धन र प्रवर्द्धनात्मक योजनाहरू खोज्न एलिसन हस्पिटालिटीले आयोजना गरेको कोसी प्रोजेक्ट शोकेसमा फस्ट रनरअपको रुपमा पुल्चोक इन्जिनियरिङ कलेजको ‘फुल्चोक इयर फाइभ’ टोली र सेकेन्ड रनरअपको रुपमा नेपाल इन्जिनियरिङ कलेजको ‘एग्रो बस्ती’ टोली चयन भएका छन्।

प्रतियोगिताको उपाधि जित्ने ‘एक्मी कोस्टर’ टोलीले नगद एक लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने फस्ट रनरअपले रु ५० हजार र सेकेन्ड रनरअपले रु २५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहारहरू प्राप्त गर्नेछन्। साथै उत्कृष्ट १० टोलीले आगामी दिनमा कोसी प्रदेशका लगानीकर्ता र सरोकारवालाहरू माझ पुनः आफ्नो प्रोजेक्ट प्रदर्शन गरेपछि थप पुरस्कार प्रदान गरिनेछ।

फाइनल चरणमा निर्णायकको रूपमा इन्जिनियर मन्दाकिनी कार्की, बैंकर नवराज सत्याल, आर्किटेक्ट पुनम शाह, युवा व्यवसायी तथा शैक्षिक सल्लाहकार शिशिर सिंखडा र पर्यटन व्यवसायी चन्द्र रिजालले सहभागी टोलीका प्रोजेक्टहरूको विस्तृत अध्ययन, अवलोकन र प्रस्तुति मूल्यांकन गरेका थिए।

नेपालमै पहिलो पटक सिभिल इन्जिनियरिङ र आर्किटेक्चरका विद्यार्थीहरूलाई समेटेर आयोजना गरिएको प्रतियोगिताले इन्जिनियरिङ र पर्यटनलाई जोड्दै नयाँ पर्यटकीय क्षेत्रहरूको पहिचान गरेको र गाउँ पर्यटनलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ।

एलिसन हस्पिटालिटीकी अध्यक्ष एलिना मगरका अनुसार, लगानीकर्ता, स्थानीय तह वा सरकारले प्रोजेक्ट कार्यान्वयन गर्न इच्छुक भएमा आवश्यक सहजीकरण प्रदान गरिनेछ। तीन दिनसम्म चलेको कोसी प्रोजेक्ट शोकेसले नेपालको पर्यटन क्षेत्रमा युवापुस्तालाई आकर्षित गर्नुका साथै मुलुकको अर्थतन्त्र सुधार र रोजगारी सृजनामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतियोगिताको उत्कृष्ट १० टोलीमा ‘बियोन्ड द ब्रिज’ (ख्वप इन्जिनियरिङ कलेज), ‘कोशी एक्स्प्लोरर’ (पुल्चोक क्याम्पस), ‘पाथ फाइन्डर’ (पुल्चोक क्याम्पस), ‘केटुपिए’ (पुल्चोक क्याम्पस), ‘विनर’ (पुल्चोक क्याम्पस), ‘स्केच स्क्वायर्ड’ (पुल्चोक क्याम्पस), ‘रुलर रिज बिल्डर्स’ (नेपाल इन्जिनियरिङ कलेज) रहेका थिए।

त्यसअघि प्रारम्भिक चरणमा २१ टोलीले प्रतिस्पर्धा गरेका थिए।

फाइनल चरणमा छनोट भएका टोलीहरूले कन्सेप्ट पेपरमा तोकिएका डाँडाबजार, राजारानी, रौता पोखरी, सोलु, सङ्खुवासभा, पानीटार इलाम, सूर्योदय अन्तु इलाम, माई पोखरी, ओखलढुंगा लिखु, मुन्धुम सर्किट लगायतका क्षेत्रमा आधारित परियोजनाहरू तयार पारेका थिए र ती डमी प्रदर्शनीमा राखिएका थिए।

कोसी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम लगायत संस्थाले कोसी प्रोजेक्ट शोकेसलाई सहयोग गरेका थिए भने कार्यक्रम व्यवस्थापन काफल इभेन्टले गरेको थियो।

पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

0

पोखरा: पोखरा महानगरपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यसहित “पूर्ण खोप सुनिश्चितता दिगोपना” घोषणा गरेको छ। नगर प्रमुख धनराज आचार्यले एक औपचारिक समारोहमा उक्त घोषणा गर्नुभएको हो।

नेपाल सरकारको प्राथमिकता प्राप्त राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत महानगरभित्रका सबै बालबालिकाले समयमै आवश्यक खोप प्राप्त गरेको सुनिश्चित गर्ने लक्ष्य यो घोषणाको आधार हो। नगर प्रमुख आचार्यले बालबालिकाको सुरक्षित भविष्यका लागि खोप र अन्य स्वास्थ्य सेवा प्रभावकारी रूपमा उपलब्ध गराउनु महानगरपालिकाको प्रमुख दायित्व भएको स्पष्ट पार्नुभयो। साथै, स्वास्थ्यकर्मीहरूलाई खोप र पोषण कार्यक्रमहरू थप प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिनुभयो।

महानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जुदेवी गुरुङले बालबालिकाका लागि खोप अत्यावश्यक र प्रभावकारी कार्यक्रम भएकाले यसलाई सम्पूर्ण वडामा विस्तार गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले विगत एक वर्षमा ०–१५ महिनाका ५ हजार ३४१ र १६–२३ महिनाका ४ हजार १५० बालबालिकाको घरघरमा खोप अवस्थाको अध्ययन गरिएको जानकारी दिनुभयो। अध्ययन क्रममा जन्मदेखि खोप नपाएका एक बालकलाई खोपको पहुँचमा ल्याइएको र ४१ जना अपूर्ण खोपप्राप्त बालबालिकालाई पूर्ण खोप दिइएको उल्लेख गर्नुभयो।

वडा नं. १२ का अध्यक्ष सन्तोष बास्तोलाले बालबालिकालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सबै वडा कार्यालय प्रतिबद्ध रहेको जानकारी दिनुभयो। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीकी अध्यक्ष भीमा पौडेलले खोप अभियानमा महिला स्वयंसेविकाको सक्रियता र योगदान उल्लेखनीय रहेको बताए।

जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालका अनुसार नगर क्षेत्रका खोप योग्य सबै बालबालिकालाई खोप लगाइएको सुनिश्चित भएपछि यो घोषणा गरिएको हो। कार्यक्रममा सहभागी विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरूले पोखराको बालस्वास्थ्य प्रवर्द्धनमा उल्लेखनीय प्रगति भएको प्रशंसा गरेका छन्।

पूर्ण खोप भन्नाले राष्ट्रिय खोप तालिकाअनुसार १५ महिना उमेर भित्र दिइने सबै खोपहरू प्राप्त गरेका बालबालिकालाई जनाइन्छ। पूर्ण खोप सुनिश्चितता घोषणाका लागि १६ देखि ५९ महिना उमेर समूहका बालबालिकामा खोप अवस्थाको मूल्याङ्कन गरिन्छ।

मनास्लु क्षेत्रमा अहिलेसम्मकै बढी विदेशी पर्यटकले भ्रमण गरे

0

गोरखा: चालु आर्थिक वर्षको वैशाखसम्ममा उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा १२ हजार २५९ जना विदेशी पर्यटकले भ्रमण गरेका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो।

आर्थिक वर्ष २०८०/८१ मा नौ हजार ७८२, २०७९/८० मा सात हजार ७०५ र २०७८/७९ मा दुई हजार २८४ जना पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका थिए । एमक्यापका प्रमुख सन्तोष शेरचनका अनुसार हरेक वर्ष पर्यटकको संख्या निरन्तर वृद्धि हुँदै आएको छ। एमक्यापले आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ५०० पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । चालु वर्षमा ९८.०७% लक्ष्य प्राप्त भएकोले यो वर्ष लक्ष्यभन्दा बढी पर्यटक आउने अपेक्षा गरिएको छ।

“कोभिड महामारीपछि पर्यटकको आगमन निकै न्यून थियो”, प्रमुख शेरचनले बताउनुभयो, “आर्थिक वर्ष २०७७/७८ मा मात्र एक सय ९४ जना पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरेका थिए, जुन सबैभन्दा कम थियो।”

मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटक संख्या आर्थिक वर्ष २०७६/७७ मा पाँच हजार ३३८ र २०७५/७६ मा सात हजार ६५५ पुगेको थियो।

मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार र अन्य राष्ट्रका पर्यटकले रु तीन हजार प्रवेश दस्तुर बुझाउनुपर्ने व्यवस्था छ । पर्यटकहरूले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरबाट प्रवेश दस्तुर तिर्न सक्ने व्यवस्था गरिएको छ ।

“यी दुवै ठाउँबाट दस्तुर नबुझाएमा मनास्लु संरक्षण क्षेत्रका जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने हुन्छ,” प्रमुख शेरचनले जानकारी दिनुभयो। मनास्लु संरक्षण क्षेत्र निषेधित क्षेत्र मानिएकाले भ्रमणका लागि पर्यटकहरूले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान छ।

अध्यागमन विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक साताको अनुमति दिने गर्छ। पर्यटकले पर्यटकीय सिजनमा चुम भ्यालीको लागि प्रतिव्यक्ति ५० डलर र बेमौसमी समयमा २५ डलर बुझाउनु पर्छ भने, नुब्री भ्यालीका लागि सिजनमा ७० डलर र बेसिजनमा ३५ डलर तिर्नुपर्ने व्यवस्था छ । एक हप्ताभन्दा बढी भ्रमण गर्न चाहने पर्यटकहरूले थप शुल्क तिर्नुपर्छ ।

मनास्लु संरक्षण क्षेत्र भित्र चुमनुब्री गाउँपालिकाका सात वटा वडा पर्दछन् । साविकका सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविस यस क्षेत्रअन्तर्गत पर्छन् । सामागाउँ, ल्हो, प्रोक र बिही नुब्री उपत्यका भनेर चिनिन्छ भने चुम्चेत र छेकम्पार चुम उपत्यका भनेर परिचित छन् ।

सन् १९९५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुला गरिएको छ ।

ट्रम्पले पुटिनलाई ‘पागल’ भने, रुसमाथि थप प्रतिबन्ध लगाउने घोषणा

0

काठमाडौं: अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा भइरहेको रुसी बमबारीप्रति आक्रोश व्यक्त गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘पागल’को संज्ञा दिएका छन्। उनले रुसविरुद्ध थप प्रतिबन्धको तयारी भइरहेको संकेत पनि गरेका छन्।

ट्रम्पले आफ्ना विचारहरू ट्रुथ सोशलमा पोस्ट गर्दै लेखेका छन्, “मेरो रूसका भ्लादिमिर पुटिनसँग सधैं राम्रो सम्बन्ध रह्यो, तर अहिले उनलाई के भएको हो भन्ने थाहा छैन। उनले बिना कारण धेरै मानिसहरू मारिरहेका छन्, र म केवल सैनिकहरूको कुरा गरिरहेको छैन। युक्रेनी शहरहरूमा मिसाइल र ड्रोन आक्रमणहरू भइरहेको छ, जुन पूर्णतः अनावश्यक छ।”

पुटिनबारे ट्रम्पले लेखे, “मैले सधैं भनेको छु कि उनी युक्रेनको एक टुक्रा मात्र होइन, सम्पूर्ण युक्रेन चाहन्छन्। र त्यो कुरा सत्य साबित हुँदै गएको देखिन्छ। तर यदि उनले युक्रेन कब्जा गर्न खोजे भने, त्यसको परिणाम रूसको पतन नै हुनेछ।”

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीप्रति पनि आलोचनात्मक टिप्पणी गर्दै भने, “जेलेन्स्कीले आफ्नो अभिव्यक्तिको शैलीले आफ्नै देशलाई हानी पुर्‍याइरहेका छन्। उनले बोलेका अधिकांश कुराले समस्या बढाउँछ, र यो बन्द हुनु राम्रो हुनेछ।”

जेलेन्स्कीले केही दिनअघि अमेरिकाको ‘मौनता’ले पुटिनलाई उत्साहित गरिरहेको टिप्पणी गरेका थिए।

ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि पनि आरोप लगाउँदै भने, “यो यस्तो युद्ध हो, जुन म राष्ट्रपति भएको भए कहिल्यै सुरु हुने थिएन। यो जेलेन्स्की, पुटिन र बाइडेनको युद्ध हो, ट्रम्पको होइन। म त केवल एउटा ठूलो संकटको सामना गर्न मद्दत गरिरहेको छु, जुन पूर्ण असक्षमता र घृणाबाट सुरु भएको हो।”

भारतमा कोभिड-१९ का सक्रिय केस १ हजार बढी पुगे, धेरै राज्यमा फैलियो संक्रमण

0

काठमाडौं: भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभर कोभिड–१९ का सक्रिय संक्रमितको संख्या १,००९ पुगेको छ।

सबैभन्दा बढी सक्रिय केस केरलामा ४३० रहेका छन् भने दोस्रोमा महाराष्ट्रमा २०९ र तेस्रोमा दिल्लीमा १०४ संक्रमित रहेका छन्।

मन्त्रालयको तथ्यांकअनुसार अन्य राज्यहरूमा पनि निम्न अनुसार सक्रिय केस देखिएका छन्— गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७, उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बंगालमा १२, हरियाणामा ९, पुडुचेरीमा ९, आन्ध्र प्रदेशमा ४, मध्य प्रदेशमा २, तेलङ्गाना, गोवा र छत्तीसगढमा १/१ जना सक्रिय संक्रमित रहेका छन्।

यसैबीच, समाचार एजेन्सी पीटीआईले कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावलाई कोभिडको वर्तमान अवस्था र बढ्दो केसबारे प्रश्न गर्दा उनले भने, “चिन्ता गर्नुपर्ने कुनै कारण छैन।”

उनले थपे, “दक्षिणपूर्वी एसियाली देशहरूमा कोभिडका केसहरू बढेको भन्ने सुनेका छौं, तर त्यहाँ पनि संक्रमणको प्रकृति सामान्य देखिएको छ। भारतमा रिपोर्ट भएका केसहरू पनि प्रायः हल्का लक्षणयुक्त छन्।”

स्वास्थ्य मन्त्री रावले महाराष्ट्र लगायत केही स्थानमा कोभिड संक्रमितको मृत्यु भए पनि ती मृत्युलाई कोभिडसँग प्रत्यक्ष रूपमा सम्बन्धित भन्न नमिल्ने उल्लेख गरे। “तीमध्ये धेरैजसोको अन्य दीर्घरोग पनि थिए,” उनले स्पष्ट पारे।

तर, उनले सतर्कता भने आवश्यक रहेको बताए। “हामी परिस्थितिमा निगरानी गरिरहेका छौं र आवश्यक स्वास्थ्य सल्लाहहरू पनि जारी गरिसकेका छौं,” उनले बताए।

कम्युनिष्ट एकताको प्रक्रिया अघि बढ्योः प्रचण्ड

0

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका लागि आवश्यक पर्ने कम्युनिष्ट एकताको प्रक्रियामा गम्भीर ढंगले अगाडि बढिरहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले समाजवादी आन्दोलन अघि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया पनि सँगसँगै अगाडि बढ्ने बताउँदै अहिले कम्युनिष्ट एकताको दिशामा गम्भीर प्रयास भइरहेको उल्लेख गरे।

उनले भने, “हामी समाजवादी क्रान्तिको तयारीका लागि आवश्यक पर्ने कम्युनिष्ट एकताको प्रक्रियामा गम्भीर ढंगले अघि बढिरहेका छौं। यसअघि ०६४ सालको निर्वाचनमा प्राप्त जनमत जोगाउन नसक्दा पार्टी विभाजन भयो, जसले श्रमजीवी वर्गलाई ठूलो क्षति पुर्‍यायो। महान सहिदहरुको सपना ओझेलमा पर्‍यो। तर संविधान घोषणापछि फेरि एकताको प्रक्रिया सुरु भएको छ।”

प्रचण्डले विश्वभर भएका क्रान्ति र प्रतिक्रान्तिका अनुभवका आधारमा नेपालमा मौलिक ढंगले समाजवादतर्फ अघि बढ्ने लक्ष्य राखेको उल्लेख गरे। साथै, नेकपा एमालेसँग पनि समाजवादी क्रान्तिको दिशामा सहकार्यको प्रयास गरे तापनि देशी-विदेशी प्रतिगामी शक्तिहरूको कारण ती प्रयास सफल हुन नसकेको आरोप लगाए।

त्यसै अवसरमा नेसपा (नेपाल समाजवादी पार्टी) का अध्यक्ष गंगानारायण श्रेष्ठले अतीतमा पार्टीबाट अलग हुनु गल्ती भएको स्वीकार गर्दै पार्टी एकताको पहल सुरु गरिएको जानकारी दिए।

रास्वपाले संसदबाटै गृहमन्त्रीको राजीनामा माग्ने

0

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा प्रश्न उठेकाले निष्पक्ष अनुसन्धानका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने ठहर गर्दै मंगलबार बस्ने संसद बैठकमै सशक्त ढंगले राजीनामा माग गर्ने निर्णय गरेको हो।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले संसदमा प्रतिपक्षको हैसियतले गृहमन्त्रीसँग प्रश्न गर्ने र त्यसपछि मात्रै जवाफ सुन्ने स्पष्ट योजना रहेको बताए। उनले प्रश्न सोध्न नपाई गृहमन्त्रीले एकलौटी जवाफ दिने अवस्था स्वीकार्य नहुने जनाए।

प्रवक्ता झाले गृहमन्त्री लेखकलाई कांग्रेसका केही पदाधिकारीले ‘क्लीन चिट’ दिन खोज्नु उपयुक्त नभएको समेत बताए। “उनी कांग्रेस नेता पनि हुन्, तर यो प्रकरणमा कांग्रेसले अनुसन्धानलाई सहज बनाउने भूमिका खेल्नुपर्छ,” उनले भने।

उनले विगतमा आफ्ना नेतामाथि प्रश्न उठ्दा कांग्रेसले २२ पटकसम्म संसद अवरोध गरेको प्रसंग पनि सदनमा उठाउने तयारी भएको जानकारी दिए। अन्य दलभन्दा सुदृढ र जिम्मेवार संसदीय अभ्यास प्रस्तुत गर्ने रास्वपाको अठोट रहेको उनले दोहोर्‍याए।

मानव अधिकार आयोगको चेतावनी : प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण

0

काठमाडौं: राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट काठमाडौंमा सुरु गर्न लागेको आन्दोलनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले सोमबार जारी एक विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन चेतावनी दिएको छ। विशेषगरी, प्रधानमन्त्रीले सार्वजनिक रुपमा “जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ” भन्ने निर्देशनमूलक भनाइ दिएकोप्रति आयोगले असन्तुष्टि जनाएको हो।

आयोगका अनुसार, शान्ति सुरक्षा कायम गर्नु सरकार तथा सुरक्षा निकायहरूको मुख्य जिम्मेवारी हो। तर, स्वयं सरकारको नेतृत्वमा रहेका व्यक्तिले यस्तो उत्तेजक अभिव्यक्ति दिनु विधिको शासनको मर्मविपरीत रहेको आयोगको भनाइ छ।

लोकतन्त्रमा विचार र प्रदर्शन गर्ने स्वतन्त्रता सबैको अधिकार

आयोगले लोकतान्त्रिक व्यवस्थामा कुनै पनि व्यक्ति, समूह वा पार्टीलाई आफ्नो विचार अभिव्यक्त गर्ने र शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने अधिकार सुनिश्चित गरिएको स्मरण गराएको छ। तर, अरूको विचार लक्षित गरी भड्काउने शैलीमा भाषा प्रयोग गर्नु मानव अधिकारका मूल्य र मान्यताको उल्लंघन हुने स्पष्ट पारेको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जुनसुकै व्यक्ति, समूह वा पार्टीलाई अभिव्यक्ति दिने स्वतन्त्रता भए पनि, अरूलाई लक्षित गरी मूठभेड निम्त्याउने प्रकारको अभिव्यक्ति पूर्ण रूपमा अस्वीकार्य छ।”

आयोगको आग्रह : संयमित भाषा र शान्तिपूर्ण विरोध

आयोगले सबै पक्षलाई संयमित रहन, नकारात्मक वा भडकाउने टीकाटिप्पणी नगर्न र विरोध कार्यक्रमहरू शान्तिपूर्ण बनाउन आग्रह गरेको छ। साथै, राजधानीसहित विभिन्न क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन सुरक्षा निकायहरूलाई विशेष जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आयोगले अनुरोध गरेको छ।