Sunday, April 19, 2026
Homeसुन्दर नेपालमनास्लु क्षेत्रमा अहिलेसम्मकै बढी विदेशी पर्यटकले भ्रमण गरे

मनास्लु क्षेत्रमा अहिलेसम्मकै बढी विदेशी पर्यटकले भ्रमण गरे

गोरखा: चालु आर्थिक वर्षको वैशाखसम्ममा उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा १२ हजार २५९ जना विदेशी पर्यटकले भ्रमण गरेका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो।

आर्थिक वर्ष २०८०/८१ मा नौ हजार ७८२, २०७९/८० मा सात हजार ७०५ र २०७८/७९ मा दुई हजार २८४ जना पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका थिए । एमक्यापका प्रमुख सन्तोष शेरचनका अनुसार हरेक वर्ष पर्यटकको संख्या निरन्तर वृद्धि हुँदै आएको छ। एमक्यापले आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ५०० पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । चालु वर्षमा ९८.०७% लक्ष्य प्राप्त भएकोले यो वर्ष लक्ष्यभन्दा बढी पर्यटक आउने अपेक्षा गरिएको छ।

“कोभिड महामारीपछि पर्यटकको आगमन निकै न्यून थियो”, प्रमुख शेरचनले बताउनुभयो, “आर्थिक वर्ष २०७७/७८ मा मात्र एक सय ९४ जना पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरेका थिए, जुन सबैभन्दा कम थियो।”

मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटक संख्या आर्थिक वर्ष २०७६/७७ मा पाँच हजार ३३८ र २०७५/७६ मा सात हजार ६५५ पुगेको थियो।

मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार र अन्य राष्ट्रका पर्यटकले रु तीन हजार प्रवेश दस्तुर बुझाउनुपर्ने व्यवस्था छ । पर्यटकहरूले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरबाट प्रवेश दस्तुर तिर्न सक्ने व्यवस्था गरिएको छ ।

“यी दुवै ठाउँबाट दस्तुर नबुझाएमा मनास्लु संरक्षण क्षेत्रका जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने हुन्छ,” प्रमुख शेरचनले जानकारी दिनुभयो। मनास्लु संरक्षण क्षेत्र निषेधित क्षेत्र मानिएकाले भ्रमणका लागि पर्यटकहरूले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान छ।

अध्यागमन विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक साताको अनुमति दिने गर्छ। पर्यटकले पर्यटकीय सिजनमा चुम भ्यालीको लागि प्रतिव्यक्ति ५० डलर र बेमौसमी समयमा २५ डलर बुझाउनु पर्छ भने, नुब्री भ्यालीका लागि सिजनमा ७० डलर र बेसिजनमा ३५ डलर तिर्नुपर्ने व्यवस्था छ । एक हप्ताभन्दा बढी भ्रमण गर्न चाहने पर्यटकहरूले थप शुल्क तिर्नुपर्छ ।

मनास्लु संरक्षण क्षेत्र भित्र चुमनुब्री गाउँपालिकाका सात वटा वडा पर्दछन् । साविकका सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविस यस क्षेत्रअन्तर्गत पर्छन् । सामागाउँ, ल्हो, प्रोक र बिही नुब्री उपत्यका भनेर चिनिन्छ भने चुम्चेत र छेकम्पार चुम उपत्यका भनेर परिचित छन् ।

सन् १९९५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुला गरिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका