काठमाडौं: भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभर कोभिड–१९ का सक्रिय संक्रमितको संख्या १,००९ पुगेको छ।
सबैभन्दा बढी सक्रिय केस केरलामा ४३० रहेका छन् भने दोस्रोमा महाराष्ट्रमा २०९ र तेस्रोमा दिल्लीमा १०४ संक्रमित रहेका छन्।
मन्त्रालयको तथ्यांकअनुसार अन्य राज्यहरूमा पनि निम्न अनुसार सक्रिय केस देखिएका छन्— गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७, उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बंगालमा १२, हरियाणामा ९, पुडुचेरीमा ९, आन्ध्र प्रदेशमा ४, मध्य प्रदेशमा २, तेलङ्गाना, गोवा र छत्तीसगढमा १/१ जना सक्रिय संक्रमित रहेका छन्।
यसैबीच, समाचार एजेन्सी पीटीआईले कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावलाई कोभिडको वर्तमान अवस्था र बढ्दो केसबारे प्रश्न गर्दा उनले भने, “चिन्ता गर्नुपर्ने कुनै कारण छैन।”
उनले थपे, “दक्षिणपूर्वी एसियाली देशहरूमा कोभिडका केसहरू बढेको भन्ने सुनेका छौं, तर त्यहाँ पनि संक्रमणको प्रकृति सामान्य देखिएको छ। भारतमा रिपोर्ट भएका केसहरू पनि प्रायः हल्का लक्षणयुक्त छन्।”
स्वास्थ्य मन्त्री रावले महाराष्ट्र लगायत केही स्थानमा कोभिड संक्रमितको मृत्यु भए पनि ती मृत्युलाई कोभिडसँग प्रत्यक्ष रूपमा सम्बन्धित भन्न नमिल्ने उल्लेख गरे। “तीमध्ये धेरैजसोको अन्य दीर्घरोग पनि थिए,” उनले स्पष्ट पारे।
तर, उनले सतर्कता भने आवश्यक रहेको बताए। “हामी परिस्थितिमा निगरानी गरिरहेका छौं र आवश्यक स्वास्थ्य सल्लाहहरू पनि जारी गरिसकेका छौं,” उनले बताए।


