काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र हङकङबीचको खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५ बजे सुरु हुनेछ।
समूह चरणमा लगातार तीन खेल जित्दै अपराजित रहेको नेपाल आजको खेल जितेर समूह विजेता बन्ने लक्ष्यमा छ। नेपाल ६ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो। त्यसपछि आयोजक मलेसियालाई ६ विकेट तथा साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपालले लगातार तीन जित निकालेको हो।
उता हङकङले तीन खेलमध्ये दुईमा जित र एकमा हार व्यहोरेको छ। त्यसैले आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ।
एकदिवसीय क्रिकेटमा नेपाल र हङकङबीच हालसम्म चारपटक प्रतिस्पर्धा भएको छ। जसमा नेपालले एक खेल जित्दा हङकङले दुई खेलमा जित हात पारेको छ। एक खेल भने वर्षाका कारण रद्द भएको थियो।
नेपाल र हङकङबीच पछिल्लो पटक सन् २०१८ मा एकदिवसीय खेल भएको थियो। उक्त खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको थियो।
आजको खेलमा पनि जित निकाल्दै नेपाल समूह चरणको यात्रा अपराजित रूपमा टुंग्याउने र समूह विजेताका रूपमा अघि बढ्ने लक्ष्यमा हुनेछ।


