काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्ने भएको छ। आगामी १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
यसअघि आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिकसम्बन्धी विवाद समाधान गर्दै सबै सदस्यलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार निर्वाचन समितिले अधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागेको हो।
बैठकमा अधिवेशनका प्राविधिक तयारी, क्रियाशील सदस्यहरूको अन्तिम नामावली व्यवस्थापन तथा यसअघि प्रभावित भएका तल्लो तहका अधिवेशनका लागि नयाँ मिति तय गर्ने विषयमा छलफल हुने निर्वाचन समितिले जनाएको छ।


