Tuesday, September 8, 2026
Homeअर्थ र ब्यापारभोटेकोशी बाढीपीडितका लागि दुगड समूहद्वारा १ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि दुगड समूहद्वारा १ करोड ११ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एमभी दुगड समूहले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

घटनाको तेह्रौँ दिन सोमबार परेको राष्ट्रिय शोक दिवसका अवसरमा समूहका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड र सञ्चालक शुभम दुगडले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

समूह र अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक सहयोगसमेत जोडेर संकलित १ करोड ११ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अध्यक्ष दुगडले जानकारी दिए।

विनाशकारी विपद्का पछाडि जलवायु परिवर्तन तथा विश्वव्यापी तापक्रम वृद्धिको प्रभाव रहेको भन्दै अध्यक्ष दुगडले वातावरण संरक्षणमा समूहले विगत पाँच वर्षदेखि देशव्यापी वृक्षारोपण अभियान सञ्चालन गर्दै आएको बताए।

उनका अनुसार हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बोटबिरुवा रोपिएको छ। त्यस्तै, ६ किलोमिटरभन्दा लामो राजमार्ग खण्ड, विभिन्न विद्यालय, प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलसहितका बिरुवा रोपेर संरक्षण गरिएको छ।

विश्वव्यापी तापक्रम वृद्धिको असर न्यूनीकरण गर्न वातावरण संरक्षणका कार्यक्रमलाई समूह र त्यसमा कार्यरत कर्मचारीहरूले निरन्तरता दिने प्रतिबद्धता पनि दुगडले व्यक्त गरे।

दुगड समूहले हस्तान्तरण गरेको सहयोग बुझ्दै अर्थमन्त्री वाग्लेले विपद्का बेला निजी क्षेत्रबाट प्राप्त सहयोगले सरकारलाई थप बल पुगेको बताए। उनले विपद् व्यवस्थापन तथा प्रभावित नागरिकको उद्धार र राहतका लागि सरकारले कुनै कसर बाँकी नराखेको दाबी गरे।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ। दुगड समूहले बाढी प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मीमार्फत थप राहत वितरण गर्ने जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका