काठमाडौँ: सर्वाेच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका छन्। आज अपराह्न भएको उक्त घटनामा संलग्न रहेको आरोपमा काठमाडौँको माइतीघरमा रहेको लिङ्कन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदन फैसलाको नक्कल लिने विषयमा भनाभन भएपछि सुरक्षाकर्मी बोलाई सोधपुछ गर्ने क्रममा चौधरीले सर्वोच्च अदालत सुरक्षा एकाइमा कार्यरत महिला प्रहरी कर्मचारीमाथि हातपातका साथै अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।
उनलाई आवश्यक कारबाहीका लागि प्रहरीवृत्त सिंहदरबारमा ल्याई अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो ।


