जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले वनेपा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालयमा कार्यरत नर्सलाई आयुर्वेद र योग शिक्षा सम्बन्धी जानकारी दिएको छ ।
केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा. मनोज चौधरी, पतञ्जलि आयुर्वेदका उपप्राध्यापक डा. प्रवीणकुमार यादव, योग प्रशिक्षक क्षेत्रबहादुर तामाङ आयुर्वेद चिकित्सक डा. समीक्षा न्यौपाने लगायतले प्रशिक्षण दिएका हुन् ।
विशेषगरी पछिल्लो समयमा कोभिड–१९को सङ्क्रमण फैलिरहेको अवस्थामा कसरी सुरक्षित र स्वस्थ रहने भन्ने विषयमा केन्द्रीत भएर सो कार्यक्रम सञ्चालन गरेको डा.चौधरीले बताए । उनले विद्यालयले स्थानीय पाठ्यक्रमसमेत बनाएर योग शिक्षालाई सिकाइ प्रक्रियासँग जोडर अगाडि बढिरहेको अवस्थामा आयुर्वेद र योग शिक्षालाई सहकार्यको माध्यमबाट व्यवहारिक कार्यान्वयनमा सहयोग गर्ने कार्यमा सहयोग पुर्याउँदै आएको जानकारी दिए ।
वनेपा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्याम सिंह धामीले स्वास्थ्यलाई व्यवहारिक र प्रयोगात्मक विधिलाई अवलम्वन गर्ने क्रममा शिक्षक र विद्यार्थीलाई योग अभ्याससँगै आयुर्वेद शिक्षाको ज्ञान दिलाउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसँग समन्वय गरेर काम गरेको बताए ।
वनेपा–२ घिमिरे गाउँस्थित स्वेतबराहा माध्यमिक विद्यालयका विद्यालय नर्स विद्या बस्नेतले विद्यालयमा विद्यार्थीलाई प्राथमिक उपचारको कामदेखि स्वास्थ्यसम्बन्धी समस्याको परामर्श दिने काम गर्दै आएको जानकारी दिए ।
भकुण्डेबेंसी फाँटमा सिंचाइ सुविधा
भकुण्डेवेंशी फाँटलाई सिँचित गर्ने उद्देश्यले यहाँका खोलालाई व्यवस्थित गर्ने कार्य अगाडि बढाएको छ । काभ्रेपको नमोबुद्ध नगरपालिका क्षेत्रको सोती खोलालाई व्यवस्थित गरेपछि भकुण्डे फाँटका हजारौँ रोपनी जग्गा फेरी सिँचाइ सुविधासहित हराभरा हुने आशा गरिएको छ ।
नगरपालिकाले सोती खोला जलाधार व्यवस्थापन कार्यक्रम अन्तर्गत सो खोलाको व्यवस्थापन गर्न अगाडि बढाएको हो । सो काम अगाडि बढेसँगै सोतीले रुप फेर्दैछ । सो कार्यक्रम अन्तर्गत अहिले पहिलो चरणमा नमोबुद्ध नगरपालिका–२ मा झण्डै आधा किलोमिटर क्षेत्रमा खोला संरक्षणको काम सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ । वन तथा वातावरण मन्त्रालयको जलवायु नमूना कार्यक्रम अन्तर्गत आधा किलोमिटर क्षेत्रमा खोला संरक्षणका लागि दायाँवायाँ पर्खाल लगाउने काम सकिएको छ । सोती खोला जलाधार व्यवस्थापन कार्यक्रम अन्तर्गत यसवर्ष ९९ लाख ६८ हजार रुपैयाँ र १५ लाख २९ हजार रुपैयाँ जनश्रमदानबाट र बाँकी नेपाल जलवायु अनुकुलन कार्यक्रममार्फत खर्च गरी सो कार्य सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । नमोबुद्ध नगरपालिकाका इञ्जिनियर उज्ज्वल अर्यालले सहायक खोलासहित सोती खोला व्यवस्थापनका लागि कूल ४५ करोड ६८ लाख रुपैयाँ खर्च हुने अनुमानसहितको डिपिआर तयार भइसकेको बताए ।
खोलाको दुबैतर्फ कोरिडोरसमेत निर्माण हुनेछ । नमोबुद्ध–२, ३, ४ र ७ अन्तर्गत ४।३०५ किमी लम्बाइँमा सोती खोलाको मुहानदेखि दाप्चा खोलासम्म सो काम सम्पन्न हुनेछ । कुनैबेला आफूले सिँचाइका लागि सोती खोलाको पानी उपभोग गर्ने गरेको स्मरण गर्नुहुँदै नगरप्रमुख प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले उक्त खोला पहिलेकै अवस्थामा ल्याउनको लागि पानीको व्यवस्थापन गर्न र वातावरण संरक्षणका लागि कृषि क्षेत्रको प्रवद्र्धनका गर्न व्यवस्थापन अगाडि बडाएको बताए । हिउँदमा पनि पानीको अभाव नभएको अवस्थाबाट अहिले सिँचाइको अभावका कारण वर्षायामसमेतमा खेती गर्न समस्या भएकोले सो आयोजनालाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए । अहिले खोलाको मूलसमेत सुकेको र पानीको आधार नभएकाले भकुण्डे क्षेत्र सुख्खाग्रस्त रहेको भन्दै शर्माले केही वर्षपछि भकुण्डेमा सिँचाइको अभाव नहुने गरी कार्यक्रमलाई अघि बढाइएको उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले प्रदेश सरकार र सङ्घीय सरकारका अन्य निकायसँग पनि सहकार्य गर्दै कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउने प्रयास भइरहेको बताए । नमोबुद्ध नगरपालिकाले सोती खोला संरक्षण र व्यवस्थापनका लागि २०३४ सालको नापीअनुसार खोलाको सीमाङ्कन गरेर काम शुरु गरेको जनाएको छ । जनअन्तर्गत पहिलो चरणमा खोलाको संरक्षण गर्ने, बीचबीचमा पोखरी निर्माण गर्ने, खोलाको दुवैतर्फ वृक्षारोपण गर्ने र सोती कोरिडोरसमेत निर्माण गर्ने नगरपालिकाको लक्ष्य रहेको छ ।
वातावरण अधिकृत सन्तोष काफ्लेले भकुण्डे फाँटमा रहेका इँटा उद्योग विस्थापनसँगै किसानलाई राहत दिनका लागि योजना फलदायी सावित हुने बताए । वरिपरि सुख्खा रहेको क्षेत्रमा कृषिमार्फत जनताको आर्थिक उन्नतिमा टेवा पु¥याउन सो योजनाले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । उनका अनुसार सोती खोलामा पानीका लागि डिप बोरिङ सञ्चालन गरिने र बोरिङको पानीलाई खोलामा बगाएर ठाउँठाउँमा पोखरी निर्माण गरिनेछ । खोलाको ठाउँठाउँमा निर्माण गरिने पोखरीबाट पानी तानेर सिँचाइ गर्नका लागि सोलारको पनि व्यवस्थापन गरिने उनले बताए । जमीनको पानी निकालेर जमीनमै बगाएर जमीनभित्रै पु¥याउने लक्ष्य रहेको उनले बताए । बहुवर्षे योजनामा परेको यो आयोजना सम्पन्न भएपछि सोती खोलाबाट भकुण्डे र आसपासका किसानले पर्याप्त मात्रामा सिँचाइ सुविधा उपभोग गर्न पाउने अपेक्षा गरिएको छ ।
जलाधार व्यवस्थापन कार्यक्रम अन्तर्गत पहिलो चरणको काम सकिएपछि वन तथा वातावरण मन्त्रालयका सहसचिवद्वय डा राधा वाग्ले र विन्दुकुमारी मिश्र तथा उपसचिव सिर्जना श्रेष्ठ, नगर प्रमुख तिमल्सिनालगायतको टोलीले कार्यक्रमस्थलको अनुगमनसमेत गरेको थियो ।
अन्लाईनपानाबाट साभार