काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–ट्याङ्लाफाँटस्थित चाँदनी चोक नजिक एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। मृतकको पहिचान ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठका रूपमा भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार मंगलबार बा.५ च ३०३८ नम्बरको सेतो किया कारमा एक्कासि आगो लागेको थियो। आगलागी हुँदा चालक श्रेष्ठ सिट बेल्ट बाँधेकै अवस्थामा गाडीभित्र फसेका कारण बाहिर निस्कन नसकी जलेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार श्रेष्ठको स्थायी घर नरदेवी भए पनि उनी पछिल्लो समय कीर्तिपुरको ट्याङ्लाफाँटमा बस्दै आएका थिए। घटनापछि परिवारका सदस्यले उनको सनाखत गरेका छन्।
प्रत्यक्षदर्शीका अनुसार चाँदनी चोकमा कार रोकिएपछि सुरुमा गाडीभित्रबाट सामान्य धुवाँ र सानो आगो देखिएको थियो। केही क्षणमै आगोले विकराल रूप लिएपछि स्थानीयवासी र प्रहरीले फायर एक्स्टिङ्गुइसर प्रयोग गरी आगो निभाउने प्रयास गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेको दमकलले आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो।
प्रहरीले आगलागीको कारण भने अझै खुल्न नसकेको जनाएको छ। घटनाबारे प्राविधिक अनुसन्धान जारी रहेको र आवश्यक परीक्षणपछि मात्रै आगलागीको वास्तविक कारण खुल्ने बताइएको छ।
मृतक श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ।
अनुसन्धानका क्रममा उक्त कार नबिल बैंकबाट ऋण लिएर २०६२ साल कात्तिक २७ गते किस्ताबन्दीमा खरिद गरिएको विवरण पनि खुलेको प्रहरीले जनाएको छ। हाल घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले विस्तृत अनुसन्धान गरिरहेको छ।


