नेपाली अमेरिकन सामुदायिक केन्द्र- न्याक भर्जिनियाले नयाँ नेपाली वर्षको उपलक्ष्यमा वृहत् साङ्गीतिक साँझ कार्यक्रम आयोजना गरेको छ । डिसी महानगर क्षेत्र वरपरका नेपाली समुदायको खचाखच भिड रहेको उक्त कार्यक्रममा राष्ट्रिय स्तरका प्राप्त लोकप्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो ।
कार्यक्रममा यस क्षेत्रका नेपाली समुदायहरू तीन पुस्ताहरु पनि संगै कार्यक्रम हेर्न र कलाकारहरुलाई हौशला प्रदान गर्न आएका थिए । कैयौ दर्शकहरू पुरै टिकट बिक्रि भएको कारण फर्कनु समेत परेको थियो । गायिका कुन्ती मोक्तानले आफ्ना दर्शकहरुलाई मन पर्ने उनका कालजयी गीतहरू माथि माथि सैलुंगेमा लगायत गीतहरू प्रस्तुत गरेकी थिइन् भने उनका पति शिला बहादुर मोक्तान तथा उनलाई सम्मान गरिएको थियो ।
अन्जु पन्तले पनि आफ्ना केही चर्चित गीत गाउँदै आफू मञ्चमै झुम्दा दर्शकहरूले साथ दिएका थिए । उनले सुर्के थैली लगायत केही गीतहरू प्रस्तुति गरेकी थिइन् । त्यस्तै गरी भ्वाईस अफ नेपाल–३ का विजेता युवा गायक किरण गजमेरले अझ माहौल तताएका थिए ।
कार्यक्रमका मुख्य आकर्षण मध्ये कै चर्चित कलाकार प्रकाश सपुत मञ्चमा आउँदा अझ दर्शकहरू औधी रमाएका थिए । उनले पनि आफ्ना ज्यादै चलेका गीतहरू पस्केका थिए भने उनले गीत गाउँदासँगै दर्शक झुमेका थिए । समयको अभावको कारण धेरै गीतहरू प्रस्तुति गर्न नपाएता पनि उनले दर्शकलाई बेजोड नचाएका थिए । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री प्रमुख अतिथि रहेका थिए भने मञ्चमा न्याकका अध्यक्ष चिकित्सक मदन उप्रेतीले छोटो बोलेका थिए ।