Friday, January 17, 2025
Homeमनोरन्जननेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौँ: सन् २०२४ को तथ्याङ्कअनुसार चीनमा ८६ हजार थियटर पर्दा रहेका छन्। चिनियाँ चलचित्रकर्मीको भनाइलाई आधार मान्दा, चलचित्रका लागि विश्वकै ठूलो बजार चीन हो। त्यहाँ एक वर्षमा विदेशी चलचित्र प्रदर्शन गर्न पाउने संख्या मात्र ३४ छ।

भारतको सर्वाधिक व्यापारिक सफलता हासिल गर्ने चलचित्र ‘दङ्गल’ पनि चीनमा प्रदर्शन भएकै कारण इतिहास रच्न सफल भएको थियो। भारतीय मात्र नभई हलिउडका चलचित्रसमेत चीनमा सीमित मात्रामा प्रदर्शन हुने गरेका छन्। यस्तो अवस्थामा, नेपाली चलचित्र चीनमा प्रदर्शन गर्न सकिन्छ त?

नेपालमा पुस २५ मा चाइना फिल्म एडमिनिस्ट्रेशन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा पहिलोपटक ‘चीन चलचित्र दिवस’ सम्पन्न भयो। कार्यक्रममा सहभागी हुन आएका वितरक कम्पनी टाइगर पिक्चर्स इन्टरटेनमेन्टका उपप्रमुख ओवेन यङले पछिल्ला केही वर्षमा नेपाली चलचित्रले राम्रो प्रगति गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, “मैले हङकङ र अमेरिकाको बजारमा नेपाली चलचित्रका बारेमा सुनेको छु। विशेषतः द्वन्द्वप्रधान र सामाजिक ‘ड्रामा’का चलचित्रमा गुणस्तर वृद्धि भएको महसुस गरेको छु। यसकारण, नेपाली चलचित्रको भविष्य उज्ज्वल देखिन्छ। यस्ता महोत्सवमार्फत कला र संस्कृतिसँगै चलचित्रका लागि नयाँ बजार खोज्न सकिन्छ। नेपालीका लागि चीनको बजार नयाँ छ भने, चीनका लागि नेपाल पनि नयाँ नै छ।”

चिनियाँ दर्शकले रोमान्टिक, एक्सन र थ्रिलर विधाका चलचित्र रुचाउने जानकारी दिँदै, यङले आउँदो मार्चमा हङकङ र बेइजिङमा हुने चलचित्र महोत्सवमा सहभागी भएर नेपाली चलचित्रको प्रचार गर्न र स्थानीय वितरकसँग सहकार्यका सम्भावना खोज्न सुझाव दिनुभयो।

उहाँले थप्नुभयो, “चीनमा प्रदर्शन हुने विदेशी चलचित्रले राम्रो व्यापार गरेका छन्। नेपाली चलचित्रकर्मीले पनि छायाङ्कनअगावै चीनमा पुगेर स्थानीयसँग सहकार्य गरेमा नयाँ सम्भावना खुल्नेछ। स्थानीय सहभागिताले प्रदर्शनलाई सहज बनाउँछ।”

वितरक यङले निकट भविष्यमा नेपाली चलचित्रकर्मीहरूसँग सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभयो। चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभाग निर्देशक सु याङले गत वर्ष नेपालमा प्रदर्शन भएका ‘पूर्णबहादुरको सारङ्गी’ र ‘१२ गाउँ’ सफल भएकाले नेपाली चलचित्रकर्मीले चीनको बजारमा प्रयास गर्नुपर्ने सुझाव दिनुभयो।

उहाँले भन्नुभयो, “हाम्रो चिनियाँ चलचित्र उद्योग सबैका लागि खुला छ। यस्ता महोत्सवले दुई देशका चलचित्रबीच आदानप्रदान गर्ने अवसर सिर्जना गर्छ। नेपाली चलचित्रकर्मीले पहल गर्नुभयो भने चीन नेपाली चलचित्रका लागि सम्भावित बजार बन्न सक्छ।”

सु याङले चिनियाँ चलचित्रले नेपालको सुन्दरतालाई विश्वभर पुर्याउँदै पर्यटन प्रवर्द्धनमा भूमिका खेल्दै आएकोमा जोड दिनुभयो। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष एवं चलचित्र निर्देशक केपी पाठकले ‘चीन चलचित्र दिवस’ले दुई देशबीच चलचित्र बजारको सम्भावनालाई गति दिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “यस किसिमको कार्यक्रम पहिलोपटक भएको हो। यसले दुई देशबीच निकटता मात्र बढाएको छैन, चलचित्र आदानप्रदानका लागि संवादको वातावरण पनि सिर्जना गरेको छ। हामीले चीनमा चलचित्र पुर्याउन सके हाम्रो चलचित्र उद्योगले नयाँ युगको सुरुवात गर्नेछ।”

‘चीन चलचित्र दिवस’का लागि प्रसिद्ध अभिनेत्री यु हङ, चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभाग उपनिर्देशक झेङ झेङ, निर्देशक जिङ जिआओ, पटकथा लेखक लु वेइ, निर्देशक झाङ गुदोङ, निर्देशक झाङ युडीसहित १४ जना चिनियाँ चलचित्रकर्मी नेपाल आएका थिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका