Tuesday, April 21, 2026
Homeअपराध र घटनाजुम्लामा जुवाखालमा छापा: सात जना पक्राउ, झण्डै दुई लाख नगद बरामद

जुम्लामा जुवाखालमा छापा: सात जना पक्राउ, झण्डै दुई लाख नगद बरामद

मुगु । जिल्ला प्रहरी कार्यालय जुम्लाले चन्दननाथ नगरपालिका–१ मा जुवा खेलिरहेका सात जनालाई नियन्त्रणमा लिँदै एक लाख ७९ हजार २ सय ८५ रुपैयाँ नगद बरामद गरेको छ।

प्रहरीका अनुसार ३६ वर्षीय देसाङ तामाङको घरमा लुकीछिपी जुवा खेलिँदै आएको सूचनाका आधारमा कार्तिक २ गते राति प्रहरीले छापा मारेको हो। छापामारीका क्रममा सात जना जुवा खेलिरहेका अवस्थामा पक्राउ परेका थिए।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन बाबु रेग्मीले स्थानीय स्रोतबाट प्राप्त सूचनालाई प्राथमिकतामा राख्दै तत्काल टोली परिचालन गरिएको बताए। उनका अनुसार घटनास्थलबाट नगदसहित आवश्यक सामग्री समेत नियन्त्रणमा लिइएको छ।

हाल पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

सदरमुकाम क्षेत्रमा पछिल्लो समय जुवा, सट्टेबाजी र अन्य अवैध गतिविधि बढ्दै गएका कारण स्थानीयले प्रहरीको यो कदमको प्रशंसा गरेका छन्। उनीहरूले यस्ता गैरकानुनी क्रियाकलाप नियन्त्रणका लागि निरन्तर अनुगमन र कडा कारबाहीको माग गरेका छन्।

‘अपराधीलाई नछाड्ने हाम्रो नीति हो,’ डीएसपी रेग्मीले भने, ‘जुवा, सट्टेबाजी, लागुऔषध र अन्य गैरकानुनी क्रियाकलाप नियन्त्रणका लागि विशेष अभियान सञ्चालनमा छौँ।’ हालै पनि प्रहरीले जिल्लाका विभिन्न स्थानमा यस्तै कारबाही गर्दै जुवातास खेल्नेहरूलाई पक्राउ गरेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका