काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१, कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ गरिएको एक विद्युतीय कारभित्र एक महिला जलेको अवस्थामा मृत फेला परेकी छन्।
मृतक तारकेश्वर नगरपालिका–९, शुभकामना चोक निवासी ४५ वर्षीया रश्मी रिजाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। पारिवारिक स्रोतका अनुसार उनी साउन ८ गते बिहान ७ बजेदेखि सम्पर्कविहीन भएपछि आफन्तहरूले उनको खोजी गरिरहेका थिए।
शनिबार दिउँसो करिब १ बजे बा अ ०४१० नम्बरको विद्युतीय कारको पछाडिको सिटमा जलेर चिन्न कठिन अवस्थामा शव फेला परेको थियो। स्थानीयको सूचनापछि प्रहरी घटनास्थल पुगेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बालाजुको टोलीले घटनास्थलमा पुगेर प्राविधिक तथा फरेन्सिक अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अवस्थामा घटना दुर्घटना, आत्महत्या वा हत्या कुन कारणले भएको हो भन्नेबारे कुनै निष्कर्षमा नपुगी प्रहरीले सबै सम्भावित कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पठाइएको छ। प्रहरीले पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि घटनाको वास्तविक कारण खुल्ने जनाएको छ।


