Saturday, May 2, 2026
Homeमनोरन्जनगोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौँ: निर्देशक तुलसी घिमिरेको स्वास्थ्यमा समस्या आएपछि रोकिएको नेपाली चलचित्र पहाड को छायाङ्कन पुनः सुरु भएको छ। गत माघ २२ मा मुहुर्त गरेपछि एक दिन मात्र छायाङ्कन भएको थियो, तर घिमिरेलाई निमोनिया भएपछि काम रोकिएको थियो। स्वास्थ्यमा सुधार आएपछि पूर्वनिर्धारित तालिका अनुसार गोरखा र आसपासका क्षेत्रमा छायाङ्कन पुनः थालिएको छ।

निर्देशक घिमिरेले लामो समयपछि चलचित्र निर्देशनमा फर्किएको अनुभव सुनाउँदै भने, “नयाँ पुस्ताका कलाकारहरूसँग काम गर्दा छुट्टै ऊर्जा प्राप्त भइरहेको छ। चलचित्रले मानव बस्ती शून्य बनेका उच्च पहाडहरूको कथा समेट्छ।”

उनका अनुसार पहाड ले युवाहरूको विदेश पलायनले खाली भएका पहाड र त्यसले निम्त्याएका सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गर्छ। चलचित्रका निर्माता ओजस्वी केसी हुन् भने छायाङ्कन प्रमोद प्रधानले गरिरहेका छन्। भारतीय चलचित्र र टेलिशृङ्खलामा काम गरिसकेका प्रधानले अन्याय, कोसेली, चिनो र दक्षिणा मा निर्देशक घिमिरेसँग सहकार्य गरिसकेका छन्।

चलचित्रको छायाङ्कन २५ दिन गोरखा र आसपासका क्षेत्रमा तथा १५ दिन भारतमा हुने जनाइएको छ। भाग्यरत्न फिल्म्स प्रालि को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायत कलाकारको अभिनय रहने छ।

यसै चलचित्रमार्फत निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले अभिनयमा डेब्यु गर्दैछिन् भने जेठी छोरी भावना घिमिरे प्रोडक्सन डिजाइनरको भूमिकामा छन्। “आफ्ना छोरीहरू चलचित्र क्षेत्रमा सक्रिय हुन थालेकाले खुसी लागेको छ,” घिमिरेले बताए।

निर्माण पक्षले चलचित्र आगामी वर्षको जेठमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका