विराटनगर । अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद सजाय भुक्तान गरिसकेका अभिषेक गिरीलाई अवैध असुली धन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शनिबार बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट ४८ वर्षीय गिरीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीमाथि कारागारभित्र हुने आर्थिक कारोबारमा अनधिकृत हस्तक्षेप गर्दै अवैध असुली गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
प्रहरीको दाबीअनुसार गिरीले कारागारभित्र रहेका कैदीबन्दीलाई सरकारले उपलब्ध गराउने जाडो तथा गर्मीको कपडा भत्ता, श्रमबाट आर्जित आम्दानी तथा अन्य रकमसमेत विभिन्न माध्यमबाट असुल्ने गरेका थिए।
हालै मोरङ कारागारमा कैदीबन्दीलाई वितरण गरिएको गर्मी भत्ताको रकम वितरण भएको केही घण्टामै गायब भएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो। कारागार प्रशासनले प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँका दरले १ हजार १८५ जना कैदीबन्दीलाई भत्ता वितरण गरेको थियो। तीमध्ये ‘बी ब्लक’का कैदीबन्दीलाई वितरण गरिएको करिब १३ लाख ४० हजार रुपैयाँ हराएको सूचनापछि प्रशासनले छड्के अनुगमन गरेको थियो।
अनुगमनका क्रममा कैदीबन्दीको हातमा भत्ताको रकम नभेटिएपछि सोधपुछ गरिएको थियो। प्रहरीका अनुसार त्यसक्रममा प्राप्त सूचनाका आधारमा गिरीको घरमा खानतलासी गर्दा कैदीबन्दीका नाममा बनाइएका केही तमसुक (ऋणपत्र) बरामद भएका छन्। गिरीले जेलमा चौकीदार रहँदादेखि नै विभिन्न बहानामा तमसुक गराई पछि रकम असुल्ने गरेको आशंका गरिएको छ।
अनुसन्धानका क्रममा कारागारभित्र श्रम गर्ने कैदीबन्दीको आम्दानी र सरकारी भत्ता आफ्ना सहयोगीहरूको बैंक खातामार्फत असुली गरिएको हुन सक्ने आशंकामा प्रहरीले बैंकिङ कारोबार र अन्य प्रमाणसमेत अध्ययन गरिरहेको जनाएको छ।
गिरी पक्राउ परेपछि मोरङ कारागारभित्र केही समय तनाव उत्पन्न भएको थियो। गिरीसँगको मिलेमतोको आशंकामा कारागारका वर्तमान चौकीदार राकेश यादवलाई बयानका लागि लैजान खोजिएपछि केही कैदीबन्दीले विरोध प्रदर्शन गरेका थिए। त्यसपछि प्रहरीले यादवलाई कारागारभित्रै सुरक्षा व्यवस्थासहित बयान लिने निर्णय गरेको जनाएको छ।
पक्राउपछि जिल्ला प्रहरी कार्यालय पुर्याइएका गिरीले छाती दुखेको गुनासो गरेपछि उनलाई विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो। अस्पतालका अनुसार प्रारम्भिक परीक्षणमा उनको रक्तचाप उच्च देखिए पनि ईसीजी रिपोर्ट सामान्य आएको छ। हाल उनी प्रहरी निगरानीमा उपचाररत छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। यद्यपि, गिरीले भने आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजिएको दाबी गरेका छन्।


