Tuesday, July 14, 2026
Homeअन्तराष्ट्रियहोर्मुज जलमार्गमा २०% टोलको ट्रम्प योजना, ब्राजिलका राष्ट्रपतिले भने– ‘यो त डकैती...

होर्मुज जलमार्गमा २०% टोलको ट्रम्प योजना, ब्राजिलका राष्ट्रपतिले भने– ‘यो त डकैती हो’

काठमाडौं। रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) हुँदै आवतजावत गर्ने व्यापारिक जहाजबाट २० प्रतिशत टोल असुल्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को प्रस्तावको ब्राजिलले कडा विरोध गरेको छ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लूला डा सिल्वा ले ट्रम्पको योजनालाई अन्तर्राष्ट्रिय नियमविपरीत रहेको भन्दै यसलाई खुला ‘डकैती’ को संज्ञा दिएका छन्। ट्रम्पले अमेरिका अबदेखि होर्मुज जलमार्गको ‘संरक्षक’ का रूपमा रहने र सुरक्षाबापत शुल्क उठाउने घोषणा गरेपछि लूलाले त्यसको तीव्र आलोचना गरेका हुन्।

राष्ट्रपति लूलाले अन्तर्राष्ट्रिय जलमार्ग प्रयोग गर्ने जहाजबाट कर उठाउने कानुनी अधिकार अमेरिकासँग नरहेको स्पष्ट पारे। उनका अनुसार होर्मुज जलमार्ग लामो समयदेखि अन्तर्राष्ट्रिय नौवहनका लागि खुला रहँदै आएको छ र त्यहाँबाट गुज्रिने जहाजहरूले यसअघि यस्तो अतिरिक्त शुल्क तिर्नु परेको इतिहास छैन।

उनले अमेरिका जस्तो शक्तिशाली राष्ट्रले आफूलाई ‘समुद्री लुटेरा’ जस्तो व्यवहार गर्न नमिल्ने टिप्पणी गर्दै ट्रम्प प्रशासनले अरू देशको संकटबाट नाफा कमाउने प्रयास गरिरहेको आरोप लगाए।

यसअघि राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत होर्मुज जलमार्ग इरानको साथ वा इरानविना पनि खुला रहने दाबी गरेका थिए। उनले इरानमाथिको नाकाबन्दी पुनः सुरु गरिने र इरानी जहाज तथा तिनका ग्राहकहरूलाई मात्र आवतजावतमा रोक लगाइने उल्लेख गरेका थिए।

ट्रम्पले अमेरिका अब ‘गार्डियन अफ द होर्मुज स्ट्रेट’ का रूपमा रहने र सो क्षेत्रको सुरक्षा खर्च जुटाउन उक्त जलमार्ग हुँदै ढुवानी हुने सबै कार्गोमा २० प्रतिशत टोल लगाइने घोषणा गरेका छन्। उनको यस प्रस्तावप्रति विभिन्न देशका नेताहरू तथा अन्तर्राष्ट्रिय सिपिङ क्षेत्रबाट आलोचना बढ्दै गएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका