काठमाडौं । अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका केही सरकारी निकट सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा अन्य वरिष्ठ अमेरिकी र इजरायली अधिकारीलाई लक्षित गर्दै कडा चेतावनीपूर्ण सामग्री प्रकाशित गरेका छन्। यसले अमेरिका–इरान सम्बन्धमा थप तनाव उत्पन्न हुने संकेत दिएको विश्लेषण गरिएको छ।
इरानी दैनिक हामशहरी ले पहिलो पृष्ठमा ‘आकस्मिक मृत्युका लागि तयार हुनुहोस्’ शीर्षकसहित ट्रम्प, अमेरिकी रक्षामन्त्री पीट हेग्सेथ, प्रधानमन्त्री नेतान्याहु तथा अन्य अधिकारीका तस्बिर प्रकाशित गरेको छ। त्यस्तै, अर्को पत्रिका भातान-ए इमरोज ले ‘मृत्युका व्यापारीको मृत्यु’ शीर्षकमा ग्राहमको निधनलाई प्रमुख समाचार बनाउँदै उनलाई इरानविरुद्ध अमेरिकाको कडा नीतिका प्रमुख समर्थकमध्ये एकका रूपमा चित्रण गरेको छ।
यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमका एक समाचार वाचकले ग्राहमको मृत्युबारे विवादास्पद टिप्पणी गर्दै इरानविरोधी अमेरिकी सिनेटरको अन्त्य भएको प्रतिक्रिया दिएका छन्। यस्ता अभिव्यक्तिले सामाजिक सञ्जाल र अमेरिकी राजनीतिक वृत्तमा व्यापक बहस सुरु भएको छ।
ग्राहमको निधनपछि ट्रम्प समर्थक ‘मेक अमेरिका ग्रेट अगेन (MAGA)’ अभियानसँग आबद्ध केही समूहले घटनाबारे विभिन्न षड्यन्त्रका दाबी गरेका छन्। कतिपयले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) को सम्भावित संलग्नताबारे अनुसन्धान गर्न माग गरेका छन्। तर, हालसम्म त्यस्तो दाबी पुष्टि गर्ने कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन।
दक्षिण क्यारोलिनाबाट निर्वाचित रिपब्लिकन सिनेटर ग्राहम अमेरिकाको आक्रामक विदेश नीतिका समर्थकका रूपमा परिचित थिए। उनले युक्रेनलाई निरन्तर सैन्य सहयोग, गाजामा इजरायललाई खुला समर्थन तथा इरानको वर्तमान शासन परिवर्तनको पक्षमा बारम्बार सार्वजनिक अभिव्यक्ति दिएका थिए। इरानविरुद्ध कडा नीति अपनाउनुपर्ने उनको अडानका कारण उनी लामो समयदेखि विवादमा पनि रहँदै आएका थिए।


