काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण सहित १६ जनालाई काठमाडौँ जिल्ला अदालतले कैद र जरिवानाको सजाय सुनाएको छ।
न्यायाधीश तेजबहादुर खड्का को इजलासले सजाय निर्धारण गर्दै यसअघि असार २३ गते ३१ प्रतिवादीमध्ये १६ जनालाई दोषी ठहर, ७ जनालाई सफाइ तथा ८ जनाको मुद्दा मुल्तबीमा राख्ने आदेश दिएको थियो।
अदालतको फैसलाअनुसार पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, बिचौलिया केशव दुलाल र सानु भण्डारी सहित सन्देश शर्मा, आङटावा शेर्पा, सागर राई र गोविन्दकुमार चौधरी (विक्रम) लाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
पूर्वगृहमन्त्री बालकृष्ण खाण र भुटानी अधिकारकर्मी टेकनाथ रिजाल लाई २ वर्ष कैद तथा २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।
यस्तै, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई लाई ४ वर्ष कैद तोकिए पनि ७५ वर्षभन्दा माथिको उमेरका कारण कानुनी छुट दिइएको छ। अब उनले ३ वर्ष २ महिना १० दिन कैद र ४० हजार रुपैयाँ जरिवाना भुक्तान गर्नुपर्नेछ।
यसैगरी, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेल लाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला अदालतले सुनाएको छ।


