Saturday, May 2, 2026
Home Blog Page 7

भीष्मराज आङदेम्बे नेपाली कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत चयन

0

काठमाडौँ — भीष्मराज आङदेम्बे नेपाली कांग्रेसको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन्।

निर्वाचन समितिका संयोजक सहमहामन्त्री प्रकाश स्नेह रसाइलीका अनुसार, आङदेम्बेलाई दलको नेता बनाउने प्रस्ताव संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा पारित भएको हो।

कांग्रेस संसदीय दल नेतामा सहमति, आजै चयन हुने

0

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेतामा सहमति जुटाएको छ। उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले दल नेताका लागि सहमति तयार पारेको हो।

आज बिहान ११ बजे सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उक्त समितिले सभापति गगन थापालाई सहमतिको नाम बुझाउनेछ। सभापति थापाले सोही नामलाई प्रस्तावका रूपमा बैठकमा पेस गर्नेछन्। प्रस्ताव अघि नाम सार्वजनिक नगरिने एक पदाधिकारीले जानकारी दिएका छन्।

केन्द्रीय कार्यसम्पादन समितिले दल नेता चयन नगर्ने भए पनि सर्वसम्मत नाम प्रस्ताव गर्नेछ। त्यसपछि दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकमा सांसदहरूबीच छलफल गरी नेता चयन गरिनेछ।

निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार सभापतिले प्रस्ताव गरेको नाममा सहमति भएमा त्यही अनुसार चयन हुनेछ, अन्यथा मतदान प्रक्रिया अघि बढ्नेछ।

सहमति जुटाउन उपसभापतिद्वय र महामन्त्रीद्वय सम्मिलित समितिले आकांक्षी नेताहरू र सांसदहरूसँग पटक–पटक छलफल गरेको थियो। सो क्रममा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य लगायत नेतासँग परामर्श गरिएको थियो।

केसीले सर्वसम्मति नभए चुनाव नलड्ने बताइसकेका छन्। आङ्देम्बे, आचार्य, बासना थापा र फिरदोष आलममध्ये एक जनाको नाममा सहमति भएको स्रोतले जनाएको छ।

कांग्रेसका कुल ३८ सांसद छन्। दल नेता चयनमा ढिलाइ भएको भन्दै पूर्णबहादुर खड्कालगायत केही नेताले असन्तुष्टि जनाउँदै आएका थिए।

सुकुम्बासी बस्ती हटाइएका क्षेत्रको संरक्षणमा कडाइ, तारबार गर्न महानगरको निर्देशन

0

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएका सार्वजनिक जग्गाको संरक्षणका लागि तत्काल काम थाल्न निर्देशन दिएकी छन्।

थापाथलीस्थित बागमती नदी किनारामा खाली गराइएको क्षेत्रको निरीक्षणपछि उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई ती स्थानहरूमा तारबार लगाएर सुरक्षा सुनिश्चित गर्न वागमती सभ्यता एकीकृत विकास समिति लगायत सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिइन्।

महानगरले अव्यवस्थित बस्ती हटाउने अभियान अन्तर्गत बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा बनाइएका अनधिकृत संरचनाहरू हटाउँदै आएको छ। यस क्रममा थापाथली क्षेत्रमा वैशाख १२ गते १३६ घरटहरा भत्काइएको थियो। केही परिवारले स्वेच्छाले घर खाली गरेपछि महानगरले समय थप गर्दै सहयोगसमेत उपलब्ध गराएको थियो।

हटाइएका बस्तीका बासिन्दालाई सामान सार्न महानगर प्रहरी बलले सवारी साधन र जनशक्ति परिचालन गरेको थियो। थापाथली र वंशीघाट क्षेत्रमा गरी कुल ३३२ घरटहरा रहेकोमा वंशीघाटमा अझै १९६ घरटहरा रहेका छन्।

यसैगरी, बागमती नदी खण्डअन्तर्गत सिनामंगलदेखि वानेश्वरसम्मका क्षेत्रमा पनि बस्ती हटाउने काम जारी छ। वडा नं. ९ मा १६२ घरधुरी र वडा नं. ३१ को जागृतिनगर क्षेत्रमा ४७६ घरटहरा रहेका थिए, जसमध्ये केही हटाइसकिएको छ भने बाँकी हटाउने काम जारी रहेको महानगरले जनाएको छ।

महानगरका अनुसार मनोहरा क्षेत्र लगायतका स्थानमा पनि आजदेखि थप स्रोतसाधन परिचालन गरी बस्ती हटाउने काम तीव्र पारिएको छ। साथै, नागार्जुनको इचङ्गुस्थित कोलोनीमा वास्तविक भूमिहीनलाई बसोबास गराउने योजना अघि बढाइएको छ।

इरानको नयाँ प्रस्ताव—होर्मुज जलडमरूमध्य खुलाउने र द्वन्द्व अन्त्य गर्ने पहल

0

तेहरान । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव प्रस्तुत गरेको छ, जसमा स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र जारी द्वन्द्व अन्त्य गर्ने विषय समावेश रहेको बताइएको छ।

एक्सियोसको रिपोर्टअनुसार यो प्रस्ताव पाकिस्तानमार्फत मध्यस्थताको रूपमा पठाइएको हो। प्रस्तावमा तत्काल युद्ध अन्त्य गर्ने र होर्मुज जलडमरूमध्य हुँदै जहाज आवागमन पुनः सुरु गर्ने व्यवस्था समावेश गरिएको छ। साथै, आणविक वार्तालाई पछि सार्ने सुझाव पनि दिइएको छ।

रिपोर्टले एक अमेरिकी अधिकारी तथा विषयमा जानकारी भएका अन्य स्रोतहरूलाई उद्धृत गर्दै यसलाई तनाव घटाउने सम्भावित प्रयासका रूपमा व्याख्या गरेको छ। प्रस्तावबारे इरान र अमेरिकाबाट आधिकारिक प्रतिक्रिया भने अझै सार्वजनिक भइसकेको छैन।

आज दिउँसो मन्त्रिपरिषद् बैठक, नियमित कार्यसूचीसँगै अध्यादेशबारे छलफल सम्भावना

0

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठक आज सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने एक मन्त्रीले जानकारी दिएका छन्।

ती मन्त्रीका अनुसार बैठकका एजेन्डाबारे औपचारिक रूपमा खुलाइएको छैन। तथापि, सरकारका नियमित कामकारबाहीबारे छलफल हुने अपेक्षा गरिएको छ। साथै, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने विषयमा पनि बैठकमा छलफल हुन सक्ने जनाइएको छ।

आजदेखि कक्षा १२ परीक्षा सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

0

काठमाडौं। यस वर्षको कक्षा १२ को परीक्षा आजबाट देशभर सुरु हुँदैछ। परीक्षामा कुल ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदैछन्।

परीक्षामा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थी सहभागी छन्। जसमध्ये १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० परीक्षार्थी रहेका छन्। आंशिकतर्फ ५ हजार ८३० परीक्षार्थी सहभागी हुनेछन्।

जिल्लागत रूपमा सबैभन्दा कम मनाङमा ३१ र सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६४ हजार ३३ परीक्षार्थी सहभागी हुँदैछन्।

यस वर्ष देशभर १ हजार ४२० र जापानमा १ गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र तोकिएका छन्। सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङमा १–१ केन्द्र निर्धारण गरिएको छ।

प्रदेशगत रूपमा कोशीमा ६७ हजार ४९७, मधेसमा ६२ हजार ११४, बागमतीमा १ लाख २० हजार ४७७, गण्डकीमा ३० हजार ५४६, लुम्बिनीमा ६९ हजार ४११, कर्णालीमा ३० हजार ४७९ र सुदूरपश्चिममा ३७ हजार ४४५ परीक्षार्थी सहभागी हुँदैछन्। साथै, जापानमा ३९ जनाले परीक्षा दिँदैछन्।

परीक्षा अवधिभर केन्द्राध्यक्षबाहेक अन्य कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पाउने छैनन्। परीक्षार्थीलाई मोबाइल फोन, स्मार्ट घडी लगायतका इलेक्ट्रोनिक उपकरण (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटर बाहेक) परीक्षा हलभित्र लैजान निषेध गरिएको छ।

एक महिनामा शिक्षामा सुधारको सुरुवात, छिटो नतिजा र समावेशी योजनामा मन्त्री पोखरेलको जोड

0

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आफ्नो एक महिने कार्यकालको अनुभव र भावी योजनाहरू सार्वजनिक गरेका छन्।

मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा भिडियो सन्देश जारी गर्दै मन्त्री पोखरेलले नागरिक र मतदाताको ठूलो आशा र भरोसाले आफूलाई काम गर्ने ऊर्जा दिएको बताएका छन्।

शिक्षा क्षेत्रमा देखिएको ढिलासुस्ती अन्त्य गर्न सुशासन र प्रणाली सुधारको काम सुरु गरिएको उनले जानकारी दिए। यसअघि एसईईको नतिजा सार्वजनिक हुन झण्डै तीन महिना लाग्ने गरेकोमा अब एक महिनाभित्रै नतिजा आउने गरी काम भइरहेको उनको भनाइ छ।

उनले नेपालको इतिहासमै पहिलोपटक परीक्षा र उत्तरपुस्तिका परीक्षण एकैदिन सुरु गरिएको उल्लेख गर्दै अब विद्यार्थीले नतिजाका लागि लामो समय कुर्नु नपर्ने बताए। साथै, कक्षा १२ को नतिजा पनि परीक्षा भएको ४५ दिनभित्रै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।

समावेशी शिक्षामा जोड दिँदै मन्त्री पोखरेलले सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय स्थापना गर्ने योजना अघि सारेका छन्। प्रारम्भिक बाल विकासदेखि विश्वविद्यालय तहसम्मको भौतिक पूर्वाधार, शिक्षक र विद्यार्थीको अवस्थामा सुधार ल्याउन मन्त्रालयले विज्ञहरूसँग परामर्श गरिरहेको उनले बताए।

खेलकुद क्षेत्रलाई विद्यालयको पाठ्यक्रमसँग जोड्दै तल्लो तहदेखि नै खेलाडी उत्पादन र उनीहरूको सम्मानका लागि नीतिगत काम भइरहेको पनि उनले उल्लेख गरे।

आफ्ना कामहरू सुरुवाती चरणमा केही सुस्त देखिए पनि सस्तो लोकप्रियताभन्दा दीर्घकालीन र नीतिगत समाधानमा आफू केन्द्रित रहेको उनले स्पष्ट पारे। नागरिकका सुझाव र आलोचनालाई आत्मसात् गर्दै आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता मन्त्री पोखरेलले व्यक्त गरेका छन्।

रसुवागढी नाकाबाट नौ महिनामा ३१ अर्बको आयात, पूर्वाधार अभावले चुनौती

0

रसुवा । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका वस्तु आयात भएका छन्।

नेपाल–चीन व्यापारको महत्वपूर्ण नाकाका रूपमा रहेको रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार आयातित सामग्रीको मूल्याङ्कनबाट सो अवधिमा रु ६ अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ। कठिन भौगोलिक अवस्था र पटक–पटक आउने प्राकृतिक अवरोधका बाबजुद नाकाबाट व्यापार सञ्चालन भइरहेको उनले जानकारी दिए।

नाकाबाट आयात हुने सामग्रीमा रोलकपडा, तयारी पोसाक, विद्युतीय सवारी (इभी), जलविद्युत् तथा पूर्वाधार आयोजनाका निर्माण सामग्री, स्याउ, लसुन, औद्योगिक कच्चापदार्थ, उद्योग तथा मिलका मेसिनरी सामग्री र ‘फास्ट ट्र्याक’ आयोजनाका उपकरण प्रमुख छन्।

नेपालबाट चीनतर्फ भने हस्तकला सामग्री, परम्परागत नेपाली कपडा, बाँसका मुढा, तिब्बत क्षेत्रमा चौँरीका लागि प्याकिङ गरिएको सुक्खा घाँस, चाउचाउ तथा बिस्कुट गरी करिब रु ६५ करोड बराबरका वस्तु निर्यात भएका छन्। सीमित उत्पादन क्षमताका बाबजुद नेपाली वस्तुको निर्यात क्रम विस्तार हुँदै गएको भन्सार कार्यालयले जनाएको छ।

गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि केही समय व्यापार पूर्ण रूपमा प्रभावित भएको थियो। पुल पुनःनिर्माण ढिलो हुँदा गत पुस १७ गतेदेखि मात्र आयात–निर्यात पुनः नियमित रूपमा सञ्चालनमा आएको हो।

ऐतिहासिक रूपमा भृकुटी र श्रङ्चङ गम्पोबीचको वैवाहिक सम्बन्धपछि नेपाल–तिब्बत व्यापार विस्तार भएको मानिन्छ। यही व्यापार मार्ग आधुनिक स्वरूपमा विकास हुँदै रसुवागढी आज नेपालको प्रमुख उत्तरी व्यापारिक प्रवेशद्वार बनेको छ।

चीन सरकारले २०७२ मङ्सिर १५ गतेदेखि रसुवागढी नाकालाई पूर्ण मान्यता दिएपछि व्यापारिक गतिविधि थप बढेको हो। छोटो दूरी, सहज पहुँच र अन्तर्राष्ट्रिय व्यापारको सम्भावनाका कारण यो नाका व्यवसायीका लागि आकर्षक बन्दै गएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।

तर सानो सडक, बाढी–पहिरो र स्तरोन्नतिको कामका कारण व्यापार पटक–पटक प्रभावित हुने गरेको छ। व्यवसायीहरूले सडक पूर्ण रूपमा बन्द नगरी तालिका मिलाएर मर्मत र व्यापार दुवै सञ्चालन गर्न माग गरेका छन्।

यस्तै, भन्सार यार्डमा आवश्यक संरचना र सुरक्षित भवनको अभाव छ। बालुवा खोलाको किनारमा सामान जाँचपास गर्नुपर्ने, चिसो हावा र धुलोबीच कर्मचारीले काम गर्नुपर्ने अवस्थाले कार्य वातावरण चुनौतीपूर्ण बनेको गुनासो कर्मचारीहरूले गरेका छन्।

नेकपा केन्द्रीय संयोजन समितिको बैठक आज, कार्यविभाजन र संगठन पूर्णतामा केन्द्रित

0

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज (सोमबार) बस्दै छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने यस बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ।

नेता प्रकाश ज्वालाका अनुसार आजको बैठकले नेताहरूको कार्यविभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने सम्भावना रहेको छ।

बैठकमा चुनावी समीक्षा प्रतिवेदनको अनुमोदन र सांगठनिक जिम्मेवारीको बाँडफाँट सम्बन्धी प्रस्तावहरू पनि प्रस्तुत हुनेछन्। यसअघि वैशाख ३ गतेको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने गरी संयोजक र सह–संयोजकलाई निर्णय प्रस्ताव तयार गर्ने जिम्मेवारी दिइएको थियो, जसलाई आज अनुमोदन गर्ने तयारी छ।

सांगठनिक संरचनाअन्तर्गत प्रदेश इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजकको जिम्मेवारी वरिष्ठ नेताहरूबाटै तोक्ने तयारी गरिएको छ। जिम्मेवारी बाँडफाँट गर्दा साविकका दुई पार्टी—माओवादी केन्द्र र एकीकृत समाजवादी—बीच सन्तुलन कायम गर्ने मापदण्ड अपनाइनेछ। त्यसअनुसार एक पक्षले इन्चार्ज पाएको प्रदेशमा अर्को पक्षले सह–इन्चार्ज पाउने व्यवस्था गरिनेछ। यसैगरी ३२ वटा विभागहरूमा प्रमुख र उपप्रमुखको जिम्मेवारी पनि बाँडफाँट गरिनेछ।

बैठकले विधानअनुसार १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्य समितिलाई पूर्णता दिने प्रस्तावमाथि पनि छलफल गर्नेछ। तल्लो तहका पालिका र जिल्लाको एकता तथा समायोजनको जिम्मा सम्बन्धित प्रदेशलाई दिने तयारी छ।

यसका साथै, जनवर्गीय संगठन र मोर्चाको एकता, सदस्यता नवीकरण तथा एकताको मापदण्डका विषयमा पनि आज निर्णय हुन सक्ने बताइएको छ।

पार्टीको आगामी कार्यदिशा र महाधिवेशनका सम्बन्धमा पनि बैठक निर्णायक हुने देखिएको छ। ६ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ वडा तहदेखि अधिवेशन प्रक्रिया अघि बढाउने र महाधिवेशनको मिति तय गर्ने सम्भावना रहेको नेता ज्वालाले बताएका छन्।

कांग्रेसमा आज तीन महत्वपूर्ण बैठक, दलको नेता चयन र अनुशासनका मुद्दा मुख्य एजेन्डा

0

काठमाडौँ । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन र पार्टीभित्रको अनुशासनको विषयलाई लिएर आज (सोमबार) दिनभरि नै बैठकहरू बस्ने भएका छन्। दलको नेता चयनमा देखिएको रस्साकस्सी र उजुरी परेका नेताहरूमाथिको स्पष्टीकरणबारे निर्णय लिन कांग्रेसले तीन वटा छुट्टाछुट्टै बैठक बोलाएको हो।

संसदीय दलको नेता चयनको विषय पेचिलो बन्दै जाँदा बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नेछ। उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी गरिएको छ।

लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीका अनुसार दलको बैठकले नेता चयन सम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिने र अनुमोदन गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय अनुशासन समितिको बैठक बस्नेछ। समितिका सचिव दिनेश थापा मगरका अनुसार गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका र तिनका समर्थक तथा प्रस्तावकहरू विरुद्ध परेका उजुरीमाथि छलफल हुनेछ।

त्यसैगरी, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रामेछाप सभापति कान्छाराम तामाङलाई सोधिएको स्पष्टीकरणका सम्बन्धमा पनि आजको बैठकले आवश्यक निर्णय लिने बताइएको छ।