काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउने क्रममा श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री खनालले सम्बोधन गरिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङसहितका सांसदहरू आ–आफ्नो आसनबाट उठेर विरोधमा उत्रिएका थिए। उनीहरूले परराष्ट्रमन्त्रीको सम्बोधनप्रति असहमति जनाउँदै आफ्नो विरोध दर्ज गराएका हुन्।
बैठक सुरु हुनासाथ साम्पाङले सीमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिबारे स्पष्टिकरण दिन माग गरेका थिए। उक्त विषयमा सरकारको धारणा सार्वजनिक हुनुपर्ने उनको भनाइ थियो।
यसअघि भने श्रम संस्कृति पार्टीबाहेकका विपक्षी दलहरू सदनको गतिरोध अन्त्य गर्न सहमत भएका थिए। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईका अनुसार परराष्ट्रमन्त्रीलाई सदनमा आफ्नो धारणा राख्न दिने तथा सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन सभामुखसमक्ष आग्रह गर्ने सहमति भएको थियो।
राईले लामो समयसम्म संसद् अवरुद्ध हुँदा सकारात्मक सन्देश नजाने भएकाले सदन सञ्चालनमा अवरोध नगर्ने निर्णय गरिएको बताए। साथै, विपक्षी दलहरूले आफ्ना मुद्दाहरू भने संसद्मार्फत निरन्तर उठाइरहने जनाएका छन्।


