Tuesday, June 16, 2026
Home Blog Page 8

जलविद्युत् अनुमति प्रणालीमा व्यापक सुधारको सुझाव, ऊर्जा मन्त्रालयलाई उच्चस्तरीय समितिको प्रतिवेदन

0

काठमाडौं । जलविद्युत् आयोजनासम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था, प्रगति र प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसमक्ष आफ्नो प्रतिवेदन पेस गरेको छ। समितिले अनुमति प्रणालीमा नीतिगत, कानुनी तथा संरचनागत सुधार आवश्यक रहेको निष्कर्षसहित प्रतिवेदन बुझाएको हो।

मंगलबार प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले समितिले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पूरा गरेको भन्दै सदस्यहरूलाई धन्यवाद दिएका छन्। उनले प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी तथा प्राविधिक मूल्याङ्कन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने बताएका छन्।

मन्त्रिपरिषद्को १०० बुँदे शासकीय सुधार कार्ययोजनाअन्तर्गत विद्युत् विकास विभागबाट जारी भएका अनुमति पत्रहरूको समीक्षा गर्न गत चैत १९ गते ऊर्जा मन्त्रालयका सहसचिव मोहन शाक्यको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको थियो। समितिमा डा. दिवसबहादुर बस्न्यात, निकुञ्ज भण्डारी, सालिकराम भण्डारी र जीवन राना मगर सदस्य रहेका थिए।

समितिले हालसम्म जारी भएका अनुमति पत्रहरूको अवस्था र प्रगतिबारे विस्तृत अध्ययन गरी अनुमति वितरण प्रक्रियामा रहेका नीतिगत, प्राविधिक, आर्थिक तथा कानुनी कमजोरीहरू पहिचान गरेको जनाएको छ। साथै सुधारका लागि विभिन्न सुझावहरू पनि प्रतिवेदनमा समेटिएका छन्।

प्रतिवेदनमा विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेपछि पनि लामो समयसम्म निर्माण कार्य अघि नबढाउने प्रवर्द्धकहरूको अनुमति पत्र विद्युत् ऐन, २०४९ को दफा ८ बमोजिम खारेज गर्ने प्रक्रिया अगाडि बढाउन सिफारिस गरिएको छ।

त्यसैगरी, अनुमति पत्र वितरण प्रणालीलाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र राष्ट्रहितअनुकूल बनाउन आवश्यक नीतिगत सुधार गर्नुपर्ने सुझाव दिइएको छ। समितिले विद्युत् ऐन, २०४९, विद्युत् नियमावली, २०५०, जलविद्युत् विकास नीति, २०५८ तथा अनुमतिपत्रसम्बन्धी निर्देशिकामा रहेका बाझिने र अस्पष्ट प्रावधानहरूको पुनरावलोकन गरी कानुनी संशोधनमार्फत एकरूपता कायम गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

यस्तै, विद्युत् आयोजनाको अनुमति पत्र तथा लगानी स्वीकृतिसम्बन्धी विषयमा लगानी बोर्ड, उद्योग मन्त्रालय र ऊर्जा मन्त्रालयबीच देखिएको कार्यक्षेत्रको दोहोरोपन हटाई स्पष्ट जिम्मेवारी निर्धारण गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समावेश गरिएको छ।

समितिले प्रस्तुत गरेका सुझावहरू कार्यान्वयन भएमा जलविद्युत् क्षेत्रको नियमन, लगानी व्यवस्थापन र आयोजना कार्यान्वयन प्रक्रिया थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

आज दुई संसदीय समितिको बैठक, बजेट र विद्युतीय सवारी जाँचपासबारे छलफल हुने

0

काठमाडौं । संघीय संसद्अन्तर्गत आज (बुधबार) दुई वटा संसदीय समितिको बैठक बस्दै छन्। अर्थ समिति र सार्वजनिक लेखा समितिको बैठकमा समसामयिक तथा महत्वपूर्ण विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

अर्थ समितिको बैठक बिहान ८ बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको अनुमान (बजेट) का प्रमुख व्यवस्था तथा प्राथमिकताबारे अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ। साथै, समितिको मस्यौदा कार्यविधिमाथि पनि सदस्यहरूबीच विचार-विमर्श हुने जनाइएको छ।

त्यसैगरी, सार्वजनिक लेखा समितिको बैठक पनि बिहान ८ बजे नै बस्नेछ। बैठकमा विद्युतीय सवारी साधन (ईभी) को जाँचपास प्रक्रियासम्बन्धी हालै उठेका प्रश्न तथा सरोकारका विषयमा छलफल गरिने कार्यसूची रहेको छ।

संसदीय समितिका यी बैठकहरूमा सम्बन्धित विषयका नीतिगत, प्रशासनिक तथा कार्यान्वयन पक्षबारे विस्तृत समीक्षा हुने अपेक्षा गरिएको छ।

काठमाडौं महानगरको ‘टोलटोलमा फिल्म महोत्सव’ अभियान, समुदायमै निःशुल्क चलचित्र प्रदर्शन गरिने

0

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘टोलटोलमा फिल्म महोत्सव’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। समुदायस्तरमा चलचित्र संस्कृतिको विकास, प्रवर्द्धन र विस्तार गर्ने उद्देश्यसहित ल्याइएको यस कार्यक्रमले फिल्म क्षेत्रलाई समुदायसँग नजिक बनाउने अपेक्षा गरिएको छ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक तथा फिल्म छनोट एवं कार्यक्रम मूल्याङ्कन समितिका संयोजक आशामान संगतले चलचित्रलाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्र नहेर्न आग्रह गरेका छन्। उनका अनुसार चलचित्र शिक्षा, सूचना, सन्देश र रचनात्मक उद्योगको महत्वपूर्ण माध्यमसमेत भएकाले यसलाई सम्मानित पेशाका रूपमा स्थापित गर्न आवश्यक छ।

‘टोलटोलमा फिल्म महोत्सव’ कार्यक्रममार्फत फिल्म क्षेत्रलाई समुदायसँग जोड्दै यसको विकास र विस्तारमा योगदान पुर्‍याउने लक्ष्य राखिएको संगतले बताए।

कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय गैरनाफामूलक संस्था, युवा क्लब, सामुदायिक संस्था, टोल विकास समिति, सांस्कृतिक समूह तथा पुचःहरूलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

महानगरले उपलब्ध गराउने सर्त, मापदण्ड, स्थान र मितिअनुसार निःशुल्क चलचित्र प्रदर्शन गर्नुपर्नेछ। प्रदर्शनका लागि आवश्यक चलचित्र, एलइडी स्क्रिन, साउन्ड सिस्टम तथा अन्य प्राविधिक उपकरण महानगरपालिकाले उपलब्ध गराउने जनाएको छ।

चलचित्र प्रदर्शन परम्परागत टोल, बहाः, बही, चोक, ननी, एम्फीथिएटर, पार्कलगायत खुला स्थानमा गरिनेछ। कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले खुला प्रस्ताव आह्वान गरेको छ। इच्छुक संस्थाहरूले तोकिएको समयभित्र महानगरको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।

यस कार्यक्रमअन्तर्गत छनोट भएका संस्थाहरूलाई कार्यक्रम व्यवस्थापन सहयोग, छनोट गरिएका चलचित्र तथा आवश्यक प्राविधिक सुविधा उपलब्ध गराइनेछ। समुदायमा आधारित कार्यक्रम भएकाले सहकार्य गर्न इच्छुक संघसंस्थाहरूलाई प्रस्ताव पेश गर्न सम्पदा तथा पर्यटन विभागले आग्रह गरेको छ।

कार्यक्रमलाई प्रभावकारी, उद्देश्यपरक र गुणस्तरीय बनाउन चलचित्रको विषयवस्तु, प्रस्तुतीकरण तथा समग्र गुणस्तरको मूल्याङ्कन, निगरानी र नियमनका लागि आशामान संगतको संयोजकत्वमा विशेष समिति समेत गठन गरिएको छ।

रास्वपा मुगुको पहिलो जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा बिर्खबहादुर मल्ल निर्वाचित

0

मुगु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको प्रथम जिल्ला अधिवेशनबाट बिर्खबहादुर मल्ल जिल्ला सभापतिमा निर्वाचित भएका छन्। नेतृत्व चयनका लागि मंगलबार सम्पन्न मतदानको मतगणनापछि मल्ल विजयी भएका हुन्।

निर्वाचन समितिका संयोजक सुशीलकुमार भामका अनुसार सभापति पदमा मल्लले ४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी मनोजकुमार शाहीले ६ मत पाए।

यस्तै, उपसभापति पदमा राजेन्द्र शाही ३५ मतसहित निर्वाचित भए। उनका प्रतिद्वन्द्वी विजयकुमार मल्लले १३ मत प्राप्त गरे। सचिव पदमा रामु विक २५ मतसहित विजयी हुँदा नन्दबहादुर मल्लले २१ मत प्राप्त गरेका थिए।

सदस्य पदमा जयधर्म जैसी ३९ मत, गोरखबहादुर कुमाईं ३० मत र लालचन्द्र रोकाया ३० मतसहित निर्वाचित भए। सदस्य पदकै अर्का उम्मेदवार खड्कबहादुर शाहीले २९ मत प्राप्त गरेका थिए।

दुई दिनसम्म नेतृत्व चयनका लागि सहमतिको प्रयास भए पनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरिएको रास्वपाले जनाएको छ।

निर्वाचित सभापति मल्लले पार्टीभित्र रहेका सबै सदस्यलाई एकताबद्ध गर्दै संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले मुगु जिल्लामा सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त बनाउँदै पार्टीको संगठनलाई वडा तहसम्म विस्तार गर्ने लक्ष्य रहेको बताए।

उनले पुराना राजनीतिक दलप्रति नागरिकमा बढ्दो असन्तुष्टिका कारण रास्वपाको उदय भएको उल्लेख गर्दै पार्टीको मूल उद्देश्य र सिद्धान्तअनुसार अघि बढ्न सबै नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

आज बस्दै प्रतिनिधिसभा बैठक, बजेटमाथिको छलफल र अर्थ विधेयक प्रमुख एजेन्डा

0

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दै छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफलका साथै विभिन्न विधेयक र सरकारी कार्यसूचीमाथि विचार-विमर्श हुने भएको छ।

संसद् सचिवालयका अनुसार बैठकको प्रारम्भमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्। साथै, कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गरिएको जानकारी पनि गराइनेछ।

बैठकमा सभामुखले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रिय सभाबाट निर्धारित अवधिभित्र फिर्ता नआएको विषयमा जानकारी गराउने कार्यसूची रहेको छ।

यस्तै, आगामी आर्थिक वर्षको बजेटमाथिको छलफललाई निरन्तरता दिइनेछ। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यक्रम छ।

अर्थमन्त्री वाग्लेले अर्थ विधेयक निर्धारित अवधिभित्र फिर्ता नभएको जानकारी गराउनुका साथै चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी विवरण पनि सदनलाई जानकारी गराइनेछ।

बैठकमा विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: आज पनि देशका धेरै ठाउँमा वर्षा, हिमपात र चट्याङको सम्भावना

0

काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा बदली, वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बदली छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ। कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा गर्मी बढेर तातो दिनको अवस्था रहने सम्भावना छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णालीसहित देशका हिमाली भूभाग र सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै स्थानमा वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्ले वर्षा, चट्याङ र हिमपातका कारण दैनिक जनजीवन तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

सिंगा तातोपानीमा नदी नियन्त्रण योजना समयअघि सम्पन्न, बस्ती संरक्षणमा राहत

0

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसार क्षेत्रमा निर्माणाधीन नदी नियन्त्रण योजना निर्धारित समयभन्दा एक महिनाअघि नै सम्पन्न भएको छ। म्याग्दी नदीको कटान तथा बाढीको जोखिमबाट तातोपानी बस्तीलाई जोगाउने उद्देश्यले जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले उक्त योजना कार्यान्वयन गरेको हो।

कार्यालयका इन्जिनियर नरजङ गुरुङका अनुसार मसारस्थित म्याग्दी नदी किनारमा १०२ मिटर लामो, भुइँमा चार मिटर चौडाइ र तीन मिटर उचाइको कङ्क्रिट संरचनामाथि ग्यावियन पर्खाल निर्माण गरिएको छ। उक्त संरचना ‘कम्पोजिट’ प्रविधिबाट निर्माण गरिएको हो।

योजनाको अनुमानित लागत तीन करोड ६८ लाख ८६ हजार ४८६ रुपैयाँ रहेको थियो। निर्माणका लागि आरआरसी/जेमी जेभीसँग २०८२ वैशाख १० गते दुई करोड ७१ लाख ८४४ रुपैयाँमा सम्झौता गरिएको थियो।

निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र कार्कीका अनुसार आगामी असार २० गतेसम्म सम्पन्न गर्नुपर्ने योजना गत माघदेखि निर्माण सुरु गरी लक्ष्यभन्दा करिब एक महिना अगावै पूरा गरिएको हो। इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद समयमै काम सम्पन्न गरिएको उनले बताए।

वि.सं. २०७८ मा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसार क्षेत्रमा ठूलो कटान गरेको थियो। त्यस क्रममा मसारका दुई घर बगेका थिए। नयाँ संरचना निर्माणपछि नदी कटानको जोखिममा रहेका सरस्वती माध्यमिक विद्यालय, ज्वालामाई भगवती आमा समूहको भवन तथा मसारका १७ घरपरिवार प्रत्यक्ष रूपमा सुरक्षित भएका छन्।

वडाध्यक्ष अणबहादुर खड्काका अनुसार करिब एक सय परिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार अझै पनि नदी कटानको जोखिममा छ। यसअघि ग्यावियन पर्खालमार्फत नदी नियन्त्रण गरिँदै आएकामा पछिल्ला वर्षहरूमा पक्की संरचना निर्माणलाई प्राथमिकता दिइएको छ।

गत वर्ष सङ्घीय सरकारको बजेट सहयोगमा सरस्वती मावि पछाडि ६६ मिटर लामो कम्पोजिट पर्खाल निर्माण गरिएको थियो। त्यसैगरी प्रदेश सरकारको सहयोगमा उपल्लो तातोपानी बजार पछाडि ४० मिटर लामो विभिन्न नदी नियन्त्रण संरचना निर्माण गरिनुका साथै यस वर्ष विनियोजित २० लाख रुपैयाँबाट थप संरचना निर्माण गरिएको छ।

प्राकृतिक तातोपानी कुण्डका कारण प्रसिद्ध सिंगा तातोपानी म्याग्दी जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। नदी नियन्त्रणका संरचना निर्माणसँगै स्थानीय बस्ती र पर्यटकीय क्षेत्रको सुरक्षा थप मजबुत हुने अपेक्षा गरिएको छ।

सुधन गुरुङ पुनः गृहमन्त्री, महावीर पुन विज्ञान तथा नवप्रवर्तनमन्त्री बन्दै

0

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त भएका छन् भने स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बन्ने भएका छन्। दुवै मन्त्रीको पद तथा गोपनीयताको शपथ मंगलबार अपराह्न शीतलनिवासमा हुने तय भएको छ।

व्यापारी दीपक भट्टसँगको व्यापारिक साझेदारी तथा बीमा कम्पनीको सेयर खरिदसम्बन्धी विवादपछि गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी त्यसबेला जम्मा २६ दिन मात्र गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।

गुरुङमाथि लागेको आरोपबारे छानबिन गर्न मन्त्रिपरिषद्ले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिले विस्तृत अध्ययनपछि गुरुङविरुद्ध उठेका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै उनका चल-अचल सम्पत्ति तथा सेयर लगानीलाई वैध ठहर गरेको थियो। सोही प्रतिवेदनपछि उनी पुनः गृहमन्त्री नियुक्त भएका हुन्।

यता, स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बन्ने भएका छन्। राष्ट्रपति कार्यालयले उनको शपथसम्बन्धी पत्र प्राप्त भएको जनाएको छ।

यसअघि पुन सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा शिक्षामन्त्री बनेका थिए। तर आफ्ना केही एजेन्डा सम्बोधन नभएको भन्दै उनले बीचमै पद त्याग गरी निर्वाचनमा सहभागी भएका थिए। उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

सरकारको पछिल्लो मन्त्रिपरिषद् पुनर्गठनसँगै गुरुङको पुनरागमन र महावीर पुनको मन्त्रिपरिषद्मा प्रवेशलाई राजनीतिक रूपमा अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।

विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाटै फर्काइए

0

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई फिफा विश्वकप २०२६ हेर्न अमेरिका जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएका छन्।

सोमबार बिहान अमेरिका प्रस्थान गर्ने तयारीमा रहेका उनीहरूलाई अध्यागमन अधिकारीहरूले ‘कालोसूची’ (ब्ल्याक लिस्ट) मा नाम रहेको जनाउँदै विदेश जान अनुमति नदिएको स्रोतले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीका अनुसार अध्यागमन विभागको अभिलेखमा उनीहरूको नाम कालोसूचीमा रहेकाले प्रस्थान अनुमति रोकिएको हो।

एन्फाको आर्थिक कारोबारसम्बन्धी विषयमा छानबिन चलिरहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमै एन्फाका पदाधिकारीहरूको विदेश भ्रमणमा रोक लगाएको थियो। सोही निर्णयका आधारमा नेम्वाङ र राईलाई मेक्सिको हुँदै अमेरिका जानबाट रोकिएको बताइएको छ।

विश्वकप अवलोकनका लागि विदेश जान पाउनुपर्ने माग राख्दै एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई आइतबार राखेप पुगेका थिए। उनीहरूले आफूहरूमाथि लगाइएको प्रतिबन्ध हटाइदिन आग्रह गरे पनि राखेपले त्यसमा सहमति जनाएको थिएन।

राखेपले प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेपछि अध्यागमन विभागले पूर्ववत् निर्णय कार्यान्वयन गर्दै उनीहरूलाई विमानस्थलबाटै फर्काएको हो।

आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको विनिमयदर १५३ रुपैयाँ नाघेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ भने बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा तोकिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ र बिक्रीदर १९२ रुपैयाँ ७५ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा कायम हुँदा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा तोकिएको छ। त्यस्तै, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा कायम गरिएको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा तथा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।