Saturday, May 2, 2026
Home Blog Page 6

संसद्का दुई समितिको बैठक आज: पूर्वाधार र विधेयकमा छलफल हुने

0

काठमाडौं । सङ्घीय संसदअन्तर्गत आज दुई वटा समितिको बैठक बस्दैछ। मंगलबार प्रतिनिधि सभाको पूर्वाधार विकास समिति र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका उपायबारे राष्ट्रिय योजना आयोगले प्रस्तुतीकरण गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल गरिनेछ। साथै समितिको वार्षिक कार्ययोजना सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूची तय गरिएको छ।

दुरुपयोग भएका सरकारी गाडी मन्त्रालयमा फिर्ता तानिँदै

0

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्रालयले मातहतका निकायहरूमा दुरुपयोग भइरहेका सरकारी सवारी साधन फिर्ता तान्न सुरु गरेको छ।

मन्त्री निशा मेहताले दुरुपयोगमा परेका सबै सवारी साधन मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि यस्तो प्रक्रिया अघि बढाइएको हो। सवारी सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गरिरहेको जानकारीपछि मन्त्रीले कडाइका साथ कदम चाल्न निर्देशन दिएकी थिइन्।

फिर्ता ल्याइएका सवारी साधन हाल मन्त्रालय परिसरमै राखिएको छ। अब आवश्यकताका आधारमा कानुन बमोजिम मात्रै कर्मचारीहरूले प्रयोग गर्न पाउने व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।

प्रचलित कानुनअनुसार सह–सचिव र सोभन्दा माथिका पदाधिकारीहरूले मात्र सरकारी सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था रहेको छ।

आजको विदेशी विनिमयदर सार्वजनिक: अमेरिकी डलर १५१ रुपैयाँ नजिक

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ।

यस्तै, युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३५ पैसा रहेको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५० पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १० पैसा र बिक्रीदर १०८ रुपैयाँ ५३ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४९ पैसा र बिक्रीदर ११० रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ १४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६१ पैसा रहेको छ भने जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ०४ पैसा र बिक्रीदर २२ रुपैयाँ १३ पैसा कायम गरिएको छ।

त्यस्तै, साउदी रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।

यसैगरी, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४ रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ११ पैसा तोकिएको छ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा रहेको छ भने स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६ रुपैयाँ ४३ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६४ पैसा र बिक्रीदर २३ रुपैयाँ ७३ पैसा कायम गरिएको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १९ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ। कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ८९ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८५ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार बहराइन दिनार एकको खरिददर ३९८ रुपैयाँ ६० पैसा र बिक्रीदर ४०० रुपैयाँ १९ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३९२ रुपैयाँ २३ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

कालीमाटी बजारमा आजका तरकारी–फलफूलको थोक मूल्य सार्वजनिक

0

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेँडाको मूल्यमा भिन्नता देखिएको छ। ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, ठूलो (भारतीय) १०० रुपैयाँ, सानो (लोकल) ५० रुपैयाँ तथा सानो (भारतीय/तराई) ५५ रुपैयाँ कायम गरिएको छ। आलु रातो २० रुपैयाँ र भारतीय आलु २२ रुपैयाँ प्रतिकिलो तोकिएको छ भने भारतीय सुकेको प्याज ३५ रुपैयाँ प्रतिकिलो रहेको छ।

तरकारीतर्फ गाँजर (लोकल) ४५ रुपैयाँ र तराईको २० रुपैयाँ, बन्दा (लोकल) ३५ रुपैयाँ र तराईको ३० रुपैयाँ, काउली २० रुपैयाँ तथा सेतो मूला १५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। भन्टा (लाम्चो) ३० रुपैयाँ र (डल्लो) ४० रुपैयाँ कायम गरिएको छ।

त्यस्तै मटरकोसा ४० रुपैयाँ, घिउ सिमी (लोकल) १५ रुपैयाँ र (हाइब्रिड) २५ रुपैयाँ, भटमास कोसा १४० रुपैयाँ, करेला ३० रुपैयाँ, लौका १५ रुपैयाँ, परवर ५० रुपैयाँ, घिर्रौला ३० रुपैयाँ र फर्सी ५५ रुपैयाँ प्रतिकिलो तोकिएको छ। हरियो फर्सी १५ रुपैयाँ, भिन्डी र बरेला ५०–५० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, पिँडालु ४० रुपैयाँ र स्कुस ६० रुपैयाँ कायम गरिएको छ।

सागपातमा रायो ३० रुपैयाँ, पालुङ्गो, चमसुर र मेथी ७०–७० रुपैयाँ, तोरीसाग २५ रुपैयाँ र हरियो प्याज ८० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। च्याउतर्फ कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ कायम गरिएको छ।

फलफूलतर्फ स्याउ (झोले) २२० रुपैयाँ र फुजी २५० रुपैयाँ, कागती ३७० रुपैयाँ, केरा प्रति दर्जन २०० रुपैयाँ, अनार ४३० रुपैयाँ, अङ्गुर (हरियो) २२० रुपैयाँ र (कालो) ३४० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। तरबुजा ३५ रुपैयाँ, भुइँकटहर प्रति गोटा २३० रुपैयाँ, काँक्रो (लोकल) ४० रुपैयाँ र (हाइब्रिड) २० रुपैयाँ तथा रुखकटहर ६० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

देशभर आंशिक बदली, केही ठाउँमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै पूर्वी क्षेत्रमा रहेको न्यून चापीय प्रणालीका कारण मौसम आंशिक प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेशसहित अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

आज राति पनि पहाडी र हिमाली क्षेत्रमा बदली रहने र तराईमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

इरान–अमेरिका तनावबीच रुसमा कूटनीतिक दौड, हर्मुज संकटले विश्व चिन्तित

0

मस्को। इरान र अमेरिकाबीच बढ्दो तनावबीच कूटनीतिक प्रयास अनिश्चित बन्दै जाँदा इरानका विदेशमन्त्री अब्बास अराघची सोमबार रुस पुगेका छन्। क्षेत्रीय वार्ता कमजोर बन्दै गएको र मध्यस्थताका प्रयास दबाबमा परिरहेका बेला उनको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

इरानी विदेश मन्त्रालयका अनुसार अराघची सेन्ट पिटर्सबर्ग पुगेका छन्, जहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने कार्यक्रम छ। तेहरान र वासिङ्टनबीच प्रत्यक्ष संवाद ठप्पजस्तै बनेको अवस्थामा मस्कोमार्फत सम्भावित सहमतिको बाटो खोज्ने प्रयास तीव्र भएको संकेत देखिएको छ।

यसअघि अराघचीले ओमानपाकिस्तान भ्रमण गरी मध्यस्थकर्ताहरूसँग परामर्श गरेका थिए। तर इस्लामाबादमा हुने भनिएको दोस्रो चरणको वार्ता अन्तिम समयमा स्थगित भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दूतहरू स्टिभ विटकफ र जारेड कुसनरको पाकिस्तान भ्रमण रद्द गरेपछि वार्तामा अवरोध आएको हो।

यद्यपि संवाद पूर्ण रूपमा बन्द नभएको संकेत देखिएको छ। इरानले पाकिस्तानमार्फत अमेरिकी पक्षलाई लिखित सन्देश पठाउँदै आणविक मुद्दा र हर्मुज जलघाँटी सम्बन्धी आफ्ना ‘लक्ष्मण रेखा’ स्पष्ट पारेको बताइएको छ।

अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार इरानले युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः खोल्ने प्रस्ताव अघि सारेको छ, यद्यपि त्यसलाई आणविक वार्तापछिको चरणसँग जोडिएको छ। इरानी सरकारी समाचार एजेन्सीले उक्त रिपोर्ट अस्वीकार नगरी उल्लेख गरेको छ।

इरान–अमेरिका–इजरायल तनावको प्रभाव विश्वभर फैलिएको छ। इरानले हर्मुज जलघाँटी बन्द गरेपछि तेल, ग्यास र मलको आपूर्ति प्रभावित भएको छ, जसले विशेषतः विकासशील देशहरूमा खाद्य असुरक्षा बढाउने चिन्ता पैदा गरेको छ। यसैबीच अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ।

इस्लामाबाद वार्ता स्थगित भएपछि डोनाल्ड ट्रम्पले वार्ता बन्द नभएको बताउँदै इरान वार्ताका लागि इच्छुक भए प्रत्यक्ष सम्पर्क गर्न सक्ने बताएका छन्। बढ्दो इन्धन मूल्यका कारण अमेरिकामा उनको आन्तरिक दबाब पनि बढ्दै गएको छ।

यसैबीच मध्यपूर्वको अर्को मोर्चामा इजरायलहिजबुल्लाहबीच तनाव जारी छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरान समर्थित समूहविरुद्ध कारबाही जारी रहेको बताएका छन्।

लेबनानको दक्षिणी क्षेत्रमा भएको आक्रमणमा १४ जनाको मृत्यु र ३७ जना घाइते भएको जनाइएको छ। इजरायलले आफ्नो एक सैनिक मारिएको पुष्टि गर्दै सम्भावित खतराविरुद्ध अग्रिम कारबाही गर्ने नीति दोहोर्‍याएको छ।

आम आदमी पार्टीका ७ सांसदको भाजपा प्रवेश राज्यसभाबाट अनुमोदित

0

काठमाडौं। भारतमा आम आदमी पार्टी (आप) का ७ जना राज्यसभा सांसद भारतीय जनता पार्टी (भाजपा) मा सामेल भएका छन्। यससँगै राज्यसभामा भाजपा सांसदहरूको संख्या ११३ पुगेको छ, जसमध्ये ५ जना राष्ट्रपतिद्वारा मनोनीत सदस्य रहेका छन्।

भाजपामा प्रवेश गर्ने सांसदहरूमा अशोक कुमार मित्तल, राघव चड्ढा, हरभजन सिंह, सन्दीप कुमार पाठक, विक्रमजीत सिंह साहनी, स्वाती मालीवाल र राजेन्द्र गुप्ता रहेका छन्।

शुक्रबार राघव चड्ढा र सन्दीप पाठकले भाजपा प्रवेशको घोषणा गरेका थिए। पार्टी अध्यक्ष नितिन नवीनले उनीहरूलाई मिठाई खुवाएर स्वागत गरेका थिए। सात सांसद बाहिरिएपछि आम आदमी पार्टीमा अब केवल तीन सांसद—संजय सिंह, नारायण दास गुप्ता र सन्त बलबीर सिंह—मात्र बाँकी रहेका छन्।

आम आदमी पार्टीका नेता संजय सिंहले सांसदहरूको दलबदलप्रति कडा असन्तुष्टि जनाउँदै उक्त निर्णयलाई अवैध बताएका छन्। उनले राघव चड्ढासहित सातै जनाको सदस्यता रद्द गर्न माग गरेका छन्।

उनले भाजपाले नियमविपरीत काम गरेको आरोप लगाए पनि ती सांसदहरूलाई भाजपामा सामेल हुन स्वीकृति दिइएको छ।

यसैबीच, आम आदमी पार्टीका नेता तथा पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले राघव चड्ढालाई “देशद्रोही” भन्दै आलोचना गरेका छन्।

सुकुमबासी बस्तीका विद्यार्थीको समस्यालाई हल गर्न शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

0

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुकुमबासी बस्ती हटाउने क्रममा प्रभावित विद्यार्थीहरूको सुरक्षा र शैक्षिक सहजीकरण सुनिश्चित गर्न ६ बुँदे सर्कुलर जारी गरेको छ।

मन्त्री सस्मित पोखरेलको निर्देशनपछि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती हटाउँदा विद्यार्थीहरूको परीक्षा व्यवस्थापन, प्रभावित क्षेत्रमा रहेका विद्यालयहरूको समायोजन तथा समन्वय प्रभावकारी बनाउन विभिन्न निर्देशन तथा अनुरोध जारी गरेको हो।

केन्द्रले सुकुमबासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीहरूलाई नजिकको विद्यालयमा स्थानान्तरण गर्न स्थानीय तहहरूलाई सहजीकरण गर्न अनुरोध गरेको छ।

विशेषगरी सोमबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूलाई परीक्षा केन्द्रसम्म पुग्न आवश्यक सहयोग पुर्‍याउन तथा विद्यालय नै प्रभावित भएको स्थानमा वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरिएको छ।

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

0

काठमाडौं। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सशस्त्र प्रहरी बल नेपालको १३औं महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णय वैशाख १९ गतेदेखि लागू हुने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश पाउँदैछन्। उनी २०७९ वैशाख १८ गते उक्त पदमा नियुक्त भएका थिए।

आईजीपी पदका लागि पौडेलसँगै एआईजी बंशीराज दाहाल पनि प्रतिस्पर्धामा थिए। दुवै १११औं टोलीका अधिकृत भए पनि बढुवा क्रममा पौडेल अगाडि रहेका थिए। पौडेल २०७९ जेठ ६ गते एआईजीमा बढुवा भएका थिए भने दाहाल २०७९ असोज २८ मा बढुवा भएका थिए। डीआईजी बढुवादेखि नै पौडेल ज्येष्ठतामा अघि थिए।

सरकारले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ५३ अनुसार ज्येष्ठता, कार्यकुशलता, नेतृत्व क्षमता, आर्थिक अनुशासन तथा व्यवस्थापकीय दक्षताको आधारमा पौडेललाई आईजीपी नियुक्त गरेको हो।

यसै बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यापारीक कारोबार गर्न पाउने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय पनि गरेको छ। साथै, भन्सार नियमावली, २०८३ स्वीकृत गरिएको छ।

मन्त्रिपरिषद्का अन्य निर्णयहरू:
१. सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने सार्वजनिक निकायको सूचीमा राखी सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।
२. भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने।
३. सशस्त्र प्रहरी बल नेपालका एआईजी नारायणदत्त पौडेललाई आईजीपीमा बढुवा नियुक्त गर्ने।

विदेश उपचार खर्च नदिने सर्वोच्चको फैसला

0

काठमाडौं। सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशलगायत पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गराउँदा सरकारले खर्च नबेहोर्ने फैसला गरेको छ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, डा. मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको संवैधानिक इजलासले यसअघि यस्तो सुविधा दिने व्यवस्था खारेज गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७३ को दफा १२(१) मा रहेको विदेश उपचार खर्च सरकारले व्यहोर्ने प्रावधान रद्द गरिएको हो।

यस व्यवस्थाअनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, पूर्वप्रधानन्यायाधीश, साथै पूर्वउपसभामुख, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वराज्यमन्त्री, पूर्वसहायकमन्त्री, पूर्वसांसद तथा संवैधानिक निकायका पूर्वपदाधिकारीलाई निश्चित सीमाभित्र विदेशमा उपचार खर्च दिने व्यवस्था थियो।

उक्त सुविधा खारेज गर्न माग गर्दै विसं २०७९ मा अधिवक्ता राधिका चम्लागाईं र भद्रप्रसाद नेपाल (स्वागत) ले रिट दायर गरेका थिए। स्वदेशमै उपचार गर्दा भने सरकारले खर्च व्यहोर्ने व्यवस्था भने यथावत रहेको छ।