Sunday, June 21, 2026
Home Blog Page 616

राष्ट्रपति पदको सपथ लिने बित्तिकै ट्रम्पले ६४५ जनाको सजाय माफ गर्ने

0

काठमाडौं: डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतीय चुनाव जितेपछि आफ्नो पहिलो कार्यको रूपमा जनवरी ६, २०२१ मा क्यापिटल हिलमा भएको हिंसात्मक आक्रमणमा संलग्न आफ्ना समर्थकहरूलाई माफी दिने वाचा गरेका छन्। उनले आफूले राष्ट्रपति पदको सपथ लिने दिन नै यो कदम चाल्ने बताएका छन्।

जनवरी ६, २०२१ को घटनामा १२५० भन्दा बढी मानिसलाई दोषी ठहराइएको थियो। यसमध्ये ६४५ जनालाई केही दिनदेखि २२ वर्षसम्मको जेल सजाय तोकिएको छ। यो आक्रमणमा सहभागी ट्रम्प समर्थक फिलिप सन ग्रिलोले अदालतमा सुनुवाइका क्रममा न्यायाधीशलाई ट्रम्पले आफूलाई माफी दिने विश्वास व्यक्त गरेका थिए। उनलाई एक वर्षको जेल सजाय सुनाइएको छ।

क्यापिटल हिल हिंसाका मुख्य अभियुक्तहरूमध्ये एक एनरिक टेरियो हुन्, जसलाई देशद्रोहको मुद्दामा २२ वर्षको जेल सजाय सुनाइएको छ। उनलाई जनवरी ६ मा क्यापिटल हिलमा हिंसा फैलाएको आरोपमा दोषी ठहराइएको थियो।

क्यापिटल हिल हिंसाको पृष्ठभूमि
सन् २०२० को राष्ट्रपतीय चुनावमा डेमोक्र्याट उम्मेदवार जो बाइडेनले डोनाल्ड ट्रम्पलाई पराजित गरेपछि ट्रम्पले चुनावी परिणामलाई अस्वीकार गर्दै धोखाधडीको आरोप लगाएका थिए। ट्रम्पले सत्ता हस्तान्तरण गर्न मानेनन् र आफ्नो समर्थकहरूलाई वाशिंगटनमा र्‍यालीका लागि बोलाए। र्‍यालीको क्रममा उनले आफ्ना समर्थकहरूलाई अमेरिकी संसद क्यापिटल हिलतर्फ अघि बढ्न उक्साए।

यस उक्साहटपछि हजारौं ट्रम्प समर्थकहरूले क्यापिटल हिलमा आक्रमण गरे, जसका कारण संसदको कामकाज अवरुद्ध भयो। यस घटनामा कैयौं प्रहरी र प्रदर्शनकारी घाइते भए। अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले यो घटनामा संलग्नलाई पहिचान गरी ठूलो संख्यामा पक्राउ गरेको थियो।

राजनीतिक विवादहरू र ट्रम्पको अडान
क्यापिटल हिंसाको घटनाले अमेरिकी राजनीति र लोकतान्त्रिक परम्परामा गहिरो चोट पु¥याएको मानिन्छ। ट्रम्पले भने यो घटनालाई आफ्नो समर्थकहरूको निराशा र चुनावी नतिजाप्रति असन्तुष्टिको परिणाम बताएका छन्। उनले हिंसालाई अस्वीकार गरे पनि आफ्ना समर्थकहरूको माफीका लागि प्रतिबद्ध रहेको बारम्बार दोहोर्याउँदै आएका छन्।

उनले हालै एक अन्तर्वार्तामा भनेका छन्, “जनवरी ६ मा दोषी ठहर गरिएका मानिसहरूमाथि अन्याय गरिएको छ। म उनीहरूलाई न्याय दिलाउने छु।” यो प्रतिबद्धता ट्रम्पका कट्टर समर्थकहरूको मन जित्नको लागि एक राजनीतिक रणनीति पनि हुन सक्छ।

भविष्यको सम्भावित असर
यदि ट्रम्पले २०२४ को राष्ट्रपतीय चुनाव जिते र क्यापिटल हिंसाका दोषीहरूलाई माफी दिए, यसले अमेरिकी न्याय प्रणालीमा ठूलो विवाद निम्त्याउने अनुमान गरिएको छ। यसले आगामी राजनीतिक र कानूनी प्रक्रियाहरूलाई थप जटिल बनाउन सक्ने विशेषज्ञहरूको धारणा छ।

यस घटनाले अमेरिकी राजनीतिक प्रणाली र लोकतान्त्रिक मान्यतामाथि गहिरो प्रश्न खडा गरेको छ। क्यापिटल हिंसा, चुनावी प्रक्रिया, र राजनीतिक ध्रुवीकरणका यस्ता घटनाहरूले देशभित्र विभाजनलाई अझ गहिरो बनाउन सक्छ।

घाँस काट्न गएकी सुचिनामाथि बलात्कार प्रयास, प्रतिकार गर्दा ज्यान गुमाउनुपर्यो

0

काठमाडौँ : गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ की १८ वर्षिया सुचिना घलेले बलात्कारीको प्रतिकार गर्दा ज्यान गुमाउनु परेको छ। स्थानीय ४२ वर्षीय मन शम्शेर गुरुङले बलात्कार प्रयास गर्दा सुचिनाले प्रतिकार गर्न खोज्दा बलात्कारीले हत्या गरेको प्रहरीले जनाएको छ।

सुचिना घलेको हत्यामा संलग्न आरोपी गुरुङलाई प्रहरीले सार्वजनिक गरेको छ भने सुचिनाको शव मंसिर १८ मा जंगलमा गाडेको अवस्थामा भेटिएको थियो ।

मंसिर १५ मा घाँस काट्न जाँदा मैखर्क जंगलमा सुचिनालाई भेटेपछि मन शम्शेरले बलात्कार प्रयास गरेको र सुचिनाले प्रतिकार गर्दा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।

हत्या गरेपछि खुर्पाले १ फिट गहिरो खाल्डो खनेर शव पुरेको आरोपीले स्वीकार गरेका छन् । उनी २२ मंसिरमा पक्राउ परेका थिए।

२०८१ वैशाखमा बारपाक घर भएका धन बहादुर गुरुङसँग विवाह गरेकी सुचिना र मन शम्शेरको बिचमा पूर्व चिनजान थिएन । दुवैजना घाँस काट्न गएको बेला जंगलमा भेट भएको एसपी पाठकले बताए । उनले भने, ‘बलात्कार प्रतिकार गर्दा दुई जनाको बीच हानाहान र कपाल तानातान भएको देखिन्छ ।’

सुचिना चिच्याएपछि घटनास्थलमा भेटिएको गोबर र माटो मुखमा कोचेर आरोपीले सुचिनाको हत्या गरे । एसपी पाठक भन्छन्, ‘मुखमा गोबर र माटो कोचेपछि थिचेर हत्या गरेको देखिन्छ ।’

हत्यापछि घर फर्केर मन शम्शेरले दुई पटक आत्महत्या गर्ने प्रयास गरे । झुण्डिएर र विष सेवन गरेर आत्महत्या प्रयास गर्दा उनलाई छोरी र पत्नीले रोकेका थिए । त्यसपछि ‘मेरो बयान’ शीर्षकमा उनले लामो नोट लेखे औँठाछाप लगाएर घरमा राखे । सो नोट बरामद गरिएको एसपी पाठकले बताए । नोटमा उनले आफूले हत्या गरेको स्वीकारेका छन् । एसपी पाठक भन्छन्, ‘मैले गल्ती गरेँ भनेर ल्याप्चे लगाएको नोट हामीले बरामद गरेका छौँ ।’

प्रधान सेनापति सिग्देल भारत प्रस्थान

0

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल भारत प्रस्थान गरेका छन् । मंगलबार उनी भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीको निमन्त्रणमा सिग्देलले मंसिर २६ देखि २९ सम्म भारतको औपचारिक भ्रमण गर्दैछन् । भ्रमण टिममा सिग्देलपत्नी नीता क्षेत्री सिग्देलसहित ९ जना सहभागी छन् ।

प्रधान सेनापतिलाई बलाध्यक्ष रथी प्रदीप जंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका हुन् ।

सिग्देललाई मंसिर २७ मा भारतीय राष्ट्रपतिले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । भ्रमणको क्रममा उनले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछन् । इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेठको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा प्रधान सेनापति सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीप जंग केसीलाई कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी दिइएको छ । सिग्देल मंसिर ३० मा स्वदेश फर्किनेछन् ।

जन्ममिति फरक भएकाले बिमा प्राधिकरणका अध्यक्षविरुद्ध मुद्दा दायर

0

काठमाडौँ: नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालले नारिकतामा पटकपटक जन्ममिति परिवर्तन गरी तोकिएको समयभन्दा बढी सरकारी सेवामा रहेको पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बिमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुने समय विसं २०८० साउन १६ गते भए पनि हालसम्म पनि सेवामा रहेको पाइएको आयोगले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सिल्वालको नागरिकतामा जन्ममिति विसं २०३२ फागुन २४ गतेको नेपाली नागरिकतामा प्रमाणपत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकताको २०६६ वैशाख १७ गते जारी भएको प्रतिलिपिमा जन्ममिति २०१६ कात्तिक २२ उल्लेख छ । यस्तै, त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको शैक्षिक प्रमाणपत्रमा फरकफरक जन्ममिति उल्लेख रहेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

सरकारी सेवामा प्रवेश गर्दा सिल्वालले भरेको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) मा ट्रान्सक्रिप्टको जन्ममिति अर्थात् २०१५ साउन १५ उल्लेख गरी २०४३ साउन १ मा शाखा अधिकृतको नियुक्ति पाएको देखिन्छ । सोही जन्ममितिका आधारमा निजामती किताबखानाबाट निजले निवृत्तभरण अधिकार पत्र प्राप्त गरेको पाइएको आयोगले जनाएको छ । उहाँले नेपाल सरकारको सचिव पदबाट २०७३ साउन १५ गते ५८ वर्षे उमेर हदबाट अनिवार्य अवकाश पाउनुभएको थियो ।

यस्तै, कूटनीतिक राहदानी, विशेष राहदानी प्राप्त गर्न दिएको आवेदनमा झुटो विवरण दिइ जन्ममिति २०१८ कात्तिक २४ अर्थात् सन् १९६१ नोभेम्बर ९ कायम गरेको देखिएको छ । आफ्नो वास्तविक जन्ममितिभन्दा करिब तीन वर्ष उमेर घटाएर कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गरेको भेटिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार २०८० साउन १५ मा अवकाश भई नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहोदा नपाउनेमा जानीजानी सो पदमा बहाल रहेको, नेपाल बिमा प्राधिकरणको नपाए/नभएको अध्यक्षको ओहोदा, अधिकार, हैसियत पाएँ भनी हालसम्म पनि कार्य गरी नै रहेको देखिँदा उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ मा परिभाषित एवं निषेधित कसूर पुष्टि भएको छ ।

सो कसुरका लागि कैद तथा जरिवानाका साथै सिलवालले २०८० साउन १५ देखि हालसम्म लिएको लाभ सुविधाबापतको रकम रु ३६ लाख ६२ हजार जफत तथा असुल गर्न पनि आयोगले माग दाबी गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

कुलमान घिसिङद्वारा तनहुँ जलविद्युत् आयोजनाको अनुगमन

0

दमौली (तनहुँ): नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सोमबार अनुगमन गर्नुभएको छ ।

ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको निर्देशक घिसिङले स्थलगत अनुगमन गरी कामको प्रगति र समस्याका बारेमा जानकारी लिनुभएको हो । अनुगमनका क्रममा उहाँले आयोजनाको कामलाई निर्धारित समयमा सक्नेगरी तीव्रता दिन आग्रह गर्नुभयो ।

कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले भौतिक तथा आर्थिक प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

चरण एकअन्तर्गत बाँधसहित संरचना निर्माण भइरहेको छ । यस प्याकेजको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यस अवधिसम्ममा समग्र निर्माण प्रगति ३५ दशमलव सात प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।

मुख्य बाँध निर्माणअन्तर्गत एक सय ४० मिटर अग्लो बाँध बनाउन पूर्वतयारी सुरु गरिएको छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान गर्ने कार्य सम्पन्न भएको छ । बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्र सफा गर्न, ड्रिलिङ, ग्राउटिङलगायत कार्य जारी छन् ।

आयोजनाको चरण दुईअन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणमा सिनो हाइड्रोले काम गरिरहेको छ । यो चरणमा ६३ दशमलव पाँच प्रतिशत प्रगति भएको छ ।

चरण तीनको प्रसारण लाइनअन्तर्गत दमौली भरतपुर दुई सय २० केभी ३४.७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७८ टावरको जग हाल्ने र ६९ वटा टावर जडान कार्य सम्पन्न भएका छन् । यो चरणमा ७३ दशमलव छ प्रतिशत भौतिक प्रगति भएको छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर, कुन बढ्यो कुन घट्यो ?

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ ।

यस्तै, जापानी येन, साउथ कोरियन वन र मलेसियन रिङ्गेटको मूल्य भने घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ८९ र बिक्रीदर एक सय ७३ रूपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ ७० पैसा र बिक्रीदर ९६ रूपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ शून्य पाँच पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ९९ पैसा र बिक्रीदर नौ रूपैयाँ शून्य तीन पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १८ रूपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ शून्य एक पैसा र बिक्रीदर ३६ रूपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ शून्य एक पैसा र बिक्रीदर चार रूपैयाँ शून्य तीन पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रूपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५७ पैसा र बिक्रीदर ३० रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ४५ पैसा र बिक्रीदर नौ रूपैयाँ ४९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ४२ पैसा र बिक्रीदर १२ रूपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १९ पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ४० पैसा र बिक्रीदर १७ रूपैयाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपैयाँ २९ पैसा र बिक्रीदर चार सय ४२ रूपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५१ रूपैयाँ ३८ पैसा, बिक्रीदर तीन सय ५२ रूपैयाँ ९४ पैसा तोकिएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

एनपिएल : आज दुई खेल हुने

0

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ बजे आरम्भ
हुनेछ ।

चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।

यस्तै लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।

कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ । कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । कर्णाली चौथो स्थानमा छ । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो ।

यसैगरी पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो ।

आइतबारसम्म १५ खेल सम्पन्न भएका छन् । यही मङ्सिर १५ गतेदेखि सुरु भएको एनपिएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । उसले चार खेलबाट आठ अङ्क जोडेको छ । जनकपुर बोल्टस्ले उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको थियो ।

एनपिएलमा चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जित तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ । यसले चार खेलबाट ६ अङ्क जोडेको छ । सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले हारेको थियो ।

काठमाडौँ गुर्खाज दुई अङ्कसहित छैटौँ स्थानमा छ । काठमाडौँ पहिलो खेलमा चितवनसँग पाँच विकेटले हारेको थियो । दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले हराएको काठमाडौँ तेस्रो खेलमा सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो ।

विराटनगर किङ्ग्स दुई अङ्कका साथ सातौँ स्थानमा छ । विराटनगरले तीन खेलमा हार तथा एउटामा मात्र जित निकालेको थियो । पहिलो खेलमा विराटनगर जनकपुरसँग आठ विकेटले हारेको थियो । दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले हारेको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनीलाई दुुई विकेटले पराजित गरेको थियो । चौथो खेलमा विराटनगर कर्णालीसँग सात रनले हारेको थियो ।

पर्यटन राजधानीमा २६औँ पोखरा सडक महोत्सव हुने

0

गण्डकी: रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी २६औँ पोखरा सडक महोत्सव गर्ने भएको छ ।

‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आगामी पुसको १३ देखि १७ गतेसम्म सडक महोत्सव हुन लागेको २६औँ पोखरा सडक महोत्सवका संयोजक विकास भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक वर्ष लेकसाइडको तीन किलोमिटर क्षेत्र (लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्म) लाई समेटेर सडक महोत्सव गर्न लागिएको हो ।

महोत्सव पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न महत्वपूर्ण बन्दै गएको रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले उल्लेख गर्नुभयो । कला संस्कृति प्रवर्द्धनसँगै स्थानीय सामग्रीलाई बजारीकरण गर्न महोत्सव उपलब्धिपूर्ण बन्दै गएको उहाँले बताउनुभयो ।

महोत्सवमा मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिताहरू रहेका सांस्कृतिक संयोजक चौबहादुर गुरुङले जानकारी दिनुभयो ।

यस वर्ष लमजुुङबाट कृष्ण चरित्रका साथै भोजपुरी नृत्य आदि सांस्कृतिक प्रस्तुतिका साथै छिमेकी राष्ट्र भारत र चीनका सांस्कृतिक प्रस्तुति समेत रहने उहाँले उल्लेख गर्नुभयो ।

एडीबीद्वारा बङ्गलादेशको लागि थप १० करोड अमेरिकी डलर स्वीकृत

0

काठमाडौँ: एसियाली विकास बैङ्क (एडीबी)ले बङ्गलादेशको लागि सोमबार १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बङ्गलादेशमा सार्वजनिक–निजी साझेदारी मार्फत महत्वपूर्ण पूर्वाधार विकासलाई समर्थन गर्न उक्त ऋण स्वीकृति गरिएको हो ।

एडीबीले बङ्गलादेशले मुख्यतया सार्वजनिक क्षेत्रबाट सञ्चालित देशको पूर्वाधार विकासले सीमित स्रोत र कार्यान्वयन बाधाका कारण चुनौतीहरूको सामना गरिरहेको बताएको छ ।

बङ्गलादेशका लागि एडीबीका निर्देशक युन जियोङले भन्नुभयो,“यस परियोजनाले बङ्गलादेशलाई निजी क्षेत्रको वित्तपोषणलाई उत्प्रेरित गर्न, पूर्वाधार विकास घाटालाई सम्बोधन गर्न, सार्वजनिक वित्तमा दबाब कम गर्न र थप रोजगारी सिर्जना गर्न सक्षम बनाउनेछ ।”

यस ऋणले बङ्गलादेश इन्फ्रास्ट्रक्चर फाइनान्स फण्ड लिमिटेडको वित्तीय र संस्थागत क्षमतामा बृद्धि गर्नेछ । यसमा लैङ्गिक र जलवायु परिवर्तनमा विशेष ध्यान केन्द्रित गर्दै सार्वजनिक–निजी साझेदारी मार्फत दिगो निजी लगानीलाई समर्थन गर्ने वातावरण निर्माण गर्नेछ ।

देशभर पश्चिमी वायुको प्रभाव,तराईमा हुस्सु र कुहिरो

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्नुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।