Saturday, April 25, 2026
Homeअन्तराष्ट्रियराष्ट्रपति पदको सपथ लिने बित्तिकै ट्रम्पले ६४५ जनाको सजाय माफ गर्ने

राष्ट्रपति पदको सपथ लिने बित्तिकै ट्रम्पले ६४५ जनाको सजाय माफ गर्ने

काठमाडौं: डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतीय चुनाव जितेपछि आफ्नो पहिलो कार्यको रूपमा जनवरी ६, २०२१ मा क्यापिटल हिलमा भएको हिंसात्मक आक्रमणमा संलग्न आफ्ना समर्थकहरूलाई माफी दिने वाचा गरेका छन्। उनले आफूले राष्ट्रपति पदको सपथ लिने दिन नै यो कदम चाल्ने बताएका छन्।

जनवरी ६, २०२१ को घटनामा १२५० भन्दा बढी मानिसलाई दोषी ठहराइएको थियो। यसमध्ये ६४५ जनालाई केही दिनदेखि २२ वर्षसम्मको जेल सजाय तोकिएको छ। यो आक्रमणमा सहभागी ट्रम्प समर्थक फिलिप सन ग्रिलोले अदालतमा सुनुवाइका क्रममा न्यायाधीशलाई ट्रम्पले आफूलाई माफी दिने विश्वास व्यक्त गरेका थिए। उनलाई एक वर्षको जेल सजाय सुनाइएको छ।

क्यापिटल हिल हिंसाका मुख्य अभियुक्तहरूमध्ये एक एनरिक टेरियो हुन्, जसलाई देशद्रोहको मुद्दामा २२ वर्षको जेल सजाय सुनाइएको छ। उनलाई जनवरी ६ मा क्यापिटल हिलमा हिंसा फैलाएको आरोपमा दोषी ठहराइएको थियो।

क्यापिटल हिल हिंसाको पृष्ठभूमि
सन् २०२० को राष्ट्रपतीय चुनावमा डेमोक्र्याट उम्मेदवार जो बाइडेनले डोनाल्ड ट्रम्पलाई पराजित गरेपछि ट्रम्पले चुनावी परिणामलाई अस्वीकार गर्दै धोखाधडीको आरोप लगाएका थिए। ट्रम्पले सत्ता हस्तान्तरण गर्न मानेनन् र आफ्नो समर्थकहरूलाई वाशिंगटनमा र्‍यालीका लागि बोलाए। र्‍यालीको क्रममा उनले आफ्ना समर्थकहरूलाई अमेरिकी संसद क्यापिटल हिलतर्फ अघि बढ्न उक्साए।

यस उक्साहटपछि हजारौं ट्रम्प समर्थकहरूले क्यापिटल हिलमा आक्रमण गरे, जसका कारण संसदको कामकाज अवरुद्ध भयो। यस घटनामा कैयौं प्रहरी र प्रदर्शनकारी घाइते भए। अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले यो घटनामा संलग्नलाई पहिचान गरी ठूलो संख्यामा पक्राउ गरेको थियो।

राजनीतिक विवादहरू र ट्रम्पको अडान
क्यापिटल हिंसाको घटनाले अमेरिकी राजनीति र लोकतान्त्रिक परम्परामा गहिरो चोट पु¥याएको मानिन्छ। ट्रम्पले भने यो घटनालाई आफ्नो समर्थकहरूको निराशा र चुनावी नतिजाप्रति असन्तुष्टिको परिणाम बताएका छन्। उनले हिंसालाई अस्वीकार गरे पनि आफ्ना समर्थकहरूको माफीका लागि प्रतिबद्ध रहेको बारम्बार दोहोर्याउँदै आएका छन्।

उनले हालै एक अन्तर्वार्तामा भनेका छन्, “जनवरी ६ मा दोषी ठहर गरिएका मानिसहरूमाथि अन्याय गरिएको छ। म उनीहरूलाई न्याय दिलाउने छु।” यो प्रतिबद्धता ट्रम्पका कट्टर समर्थकहरूको मन जित्नको लागि एक राजनीतिक रणनीति पनि हुन सक्छ।

भविष्यको सम्भावित असर
यदि ट्रम्पले २०२४ को राष्ट्रपतीय चुनाव जिते र क्यापिटल हिंसाका दोषीहरूलाई माफी दिए, यसले अमेरिकी न्याय प्रणालीमा ठूलो विवाद निम्त्याउने अनुमान गरिएको छ। यसले आगामी राजनीतिक र कानूनी प्रक्रियाहरूलाई थप जटिल बनाउन सक्ने विशेषज्ञहरूको धारणा छ।

यस घटनाले अमेरिकी राजनीतिक प्रणाली र लोकतान्त्रिक मान्यतामाथि गहिरो प्रश्न खडा गरेको छ। क्यापिटल हिंसा, चुनावी प्रक्रिया, र राजनीतिक ध्रुवीकरणका यस्ता घटनाहरूले देशभित्र विभाजनलाई अझ गहिरो बनाउन सक्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका