Monday, June 22, 2026
Home Blog Page 592

केन्द्रीय नवीकरणीय ऊर्जा कोषको सदस्यमा शर्मा र यादव नियुक्त

0

काठमाडौँ: केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लगानी समितिमा रोजिना शर्मा र अभिषेक यादव नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बुधबार उनीहरूलाई औपचारिक रूपमा नियुक्त गरे।

ललितपुर निवासी शर्मा र महोत्तरी निवासी यादव दुवैजना नवीकरणीय ऊर्जा क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि सक्रिय छन्। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गत सञ्चालित यो समिति ग्रामीण तथा नवीकरणीय ऊर्जा प्रविधिमा अनुदान, भायविलिटी ग्याप फण्डिङ (भिजिएफ), र सरल कर्जाको प्रभावकारी व्यवस्थापन गर्दै आएको छ।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालका अनुसार कोषले नवीकरणीय ऊर्जा प्रविधिको विकास, प्रवर्द्धन र विस्तारका लागि अनुदान, भिजिएफ, र कर्जा प्रवाह गर्दै आएको छ। साथै, वित्तीय मध्यस्थकर्तामार्फत सहुलियतपूर्ण उपभोक्ता कर्जा उपलब्ध गराउने कामसमेत गरिरहेको छ।

समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव अध्यक्ष रहने छन्। साथै, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक, अर्थ मन्त्रालयका उपसचिव, ‘क’ वर्गको वाणिज्य बैँकको प्रतिनिधि, विकास साझेदारका प्रतिनिधि, र कोष सचिवालयका प्रमुख सदस्य–सचिवका रूपमा रहने व्यवस्था छ।

बाल्यकालमै अस्ताए बालगायक सचिन परियार

0

काठमाडौँ: बालगायक सचिन परियारको बिहीबार बिहान निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा निमोनियाको उपचारका क्रममा बिहान १० बजे उनको मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।

भाइरल बालगायकका रूपमा परिचित सचिनले थुप्रै लोकप्रिय गीत गाएका थिए। उनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए भने हास्य सिरियल ‘मेरी बास्सै’मा पनि भूमिका निर्वाह गरेका थिए।

उनका ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छायाँले’जस्ता गीतहरू निकै चर्चित छन्।

अमेरिकामा न्यायाधीशले जागिरको अन्तिम दिन अदालत परिसरमै आत्महत्या गरे

0

काठमाडौं: अमेरिकाको जर्जिया राज्यस्थित इफिंगम काउन्टी अदालतमा ७४ वर्षीय न्यायाधीश स्टेफन येकेल मृत अवस्थामा फेला परेका छन्, जसले अदालत परिसरमै आत्महत्या गरेको आशंका गरिएको छ। यो घटनाले स्थानीय समुदायमा ठूलो हलचल मच्चाएको छ।

येकेललाई अदालतका कर्मचारीले इफिंगम काउन्टी राज्य अदालतको भवनभित्र बिहान करिब १० बजे मृत अवस्थामा फेला पारेका थिए। प्रारम्भिक अनुसन्धानका अनुसार, उनले गभर्नरलाई पत्र लेखेर डिसेम्बर ३० देखि लागू हुने गरी पदबाट राजीनामा दिने तयारी गरेका थिए, तर गभर्नर ब्रायन केम्पले सो प्रस्ताव अस्वीकार गरेका थिए।

न्यायाधीश येकेल २०२२ मा राज्य अदालतमा नियुक्त भएका थिए। उनले भर्खरै आफ्नो पदबाट राजीनामा दिने प्रयास गरेका थिए, तर गभर्नरले अस्वीकार गरेका थिए। सोमबार राति वा मंगलबार बिहान उनको मृत्यु भएको हुन सक्ने अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन्।

यसैबीच, येकेलले अदालतकी कर्मचारी लिसा क्रफोर्डको मुद्दा पनि सामना गरिरहेका थिए, जसले येकेललाई गलत तरिकाले आफ्नो पदबाट बर्खास्त गरेको दाबी गरेकी थिइन्। येकेलले पदभार ग्रहण गर्दा आफ्नै कर्मचारी ल्याउने उद्देश्यले केही कर्मचारीलाई पदबाट हटाएको आरोप लागेको थियो। प्रारम्भिक अनुमानअनुसार, यी घटनाहरूले उनलाई मानसिक तनाव दिएको हुन सक्छ। यद्यपि, घटनाको विस्तृत अनुसन्धान जारी छ।

यो घटनाले न्यायालय र स्थानीय समुदायमा गहिरो प्रभाव पारेको छ। येकेलका परिवारजन र सहकर्मीहरूले उनको अप्रत्याशित निधनप्रति शोक व्यक्त गरेका छन्।

ट्रम्पको होटलमा एलन मस्कको कार विष्फोट, एक जनाको मृत्यु सात घाइते

0

काठमाडौं: अमेरिकाको लस भेगासस्थित ट्रम्प इन्टरनेशनल होटल बाहिर टेस्ला साइबरट्रक विस्फोट हुँदा चालकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।

विस्फोट भएको होटलको ५० प्रतिशत स्वामित्व अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्रम्प अर्गनाइजेसनसँग छ। होटलको नाम उनकै नामबाट राखिएको छ।

विस्फोट भएको गाडी अर्बपति एलन मस्कको कम्पनी टेस्लाको उत्पादन हो। मस्कले उक्त घटनामा साइबरट्रकको कुनै प्राविधिक त्रुटि नभएको र विस्फोट गाडीमा राखिएका विष्फोटक पदार्थका कारण भएको बताएका छन्।

बुधबार बिहान ८:३९ बजे साइबरट्रक होटलको प्रवेशद्वारमा रोकिनासाथ विस्फोट भएको थियो। प्रारम्भिक अनुसन्धानमा गाडीको पछाडिको भागमा ठूलो परिमाणमा पटाका र ग्यास क्यानिस्टरहरू राखिएको पाइएको छ।

यो घटनाको केही घन्टा अघि न्यू अर्लिन्समा एक ट्रकले भीडमा मानिसहरूलाई कुल्चिँदा १५ जनाको मृत्यु भएको थियो। दुवै घटनामा प्रयोग भएका गाडीहरू टुरो कार-शेयरिङ एपमार्फत भाडामा लिइएको पाइएको छ। यद्यपि, यी दुई घटनाबीच कुनै सम्बन्ध पुष्टि भएको छैन।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यी घटनाहरूको गहिरो अनुसन्धान भइरहेको र हालसम्म कुनै सम्बन्ध पुष्टि नभएको बताएका छन्। उनले जनतालाई संयम रहन र आधिकारिक सूचनाको पर्खाइ गर्न आग्रह गरेका छन्।

सहकारी ठगी प्रकरण : आजबाट जाहेरीवालाको बयान

0

पोखरा: सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजबाट जाहेरीवालाको बयान सुरू हुने भएको छ। बुधबारसम्म थुनछेक बहस सकिएसँगै अब जाहेरीवालाहरूको तर्फबाट बहस सुरू हुने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिएका छन्।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ।

बुधबार सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम, नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, र सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए।

सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएपछि अब जाहेरीवालाको तर्फबाट बहस हुनेछ। जाहेरीवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने र जवाफी बहस उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्नेछन्।

सरकारी वकिल कार्यालयका अनुसार सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधको अभियोग लगाइएको छ।

यस्तै, लामिछानेसँगै जोशी, पछाई, गुरुङ, र खनालविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको छ। लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबी गर्दै मुद्दा दर्ता गरिएको छ।

पूर्व-डिआइजी जोशीविरुद्ध ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा गैरकानुनी ढंगले आर्जन गरेको अभियोग लगाइएको छ। यस्तै, पछाईंमाथि २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो दाबी गरिएको छ भने रामबहादुर खनालमाथि १४ करोड ३० लाख ९१ हजार ९११ रुपैयाँ बिगो कायम गरिएको छ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।

किसानद्वारा ११ करोडको धान बिक्री

0

राँझा (बाँके): बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब रु ११ करोड बढीको धान बिक्री गरेका छन् ।

गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई रु ११ करोड ८२ लाख भुक्तानी गरी ३१ हजार ६ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिनुभयो ।

“धान बिक्री गर्न ६ सय ७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म पाँच सय ६७ किसानसँग धान खरिद गरिसकेका छौँ”, कार्यालय प्रमुख लामिछानेले भन्नुभयो, “स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्विन्टलसम्म धान खरिद गर्ने गरेका छौँ ।”

धान खरिद गर्नुअघि किसानले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको कार्यालय प्रमुख लामिछाने बताउनुभयो । “पहिला किसानहरु १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले धान ल्याउनुपूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र हामीले दिएको समयमा उहाँहरु आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नभुयो ।

मध्यम धान खरिदको कोटा पूरा गरिसकेको कार्यालयले मोटा धान भने लक्ष्यभन्दा निकै कम खरिद गरेको छ । धान बिक्री गर्ने धेरै किसानहरु आइसकेको हुँदा अब केही मात्रामा धान बिक्री गर्न किसान आउन सक्ने कार्यालयले जनाएको छ । गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगञ्ज कार्यालयले जम्मा आठ हजार क्विन्टल धान खरिद गरेको थियो ।

गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यस वर्ष ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जका प्रमुख लामिछानेले बताउनुभयो ।

“गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्यमा पनि वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि १५ दिनअघि सुरु गरेकाले लक्ष्यमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेका थियौँ”, लामिछानेले भन्नुभयो, “गत वर्ष मङ्सिर ६ गतेदेखि धान खरिद सुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कात्तिक २० गतेदेखि नै सुरु गरेका छौँ, यस वर्ष बजारको मूल्यभन्दा सरकारले खरिद मूल्य बढी दिएको हुँदा धेरै मात्रामा धान खरिद गर्न सकेका छौँ ।”

पुस १६ गतेसम्म मोटा धान सात हजार चार सय ४९ दशमलव ०४ क्विन्टल र मध्यम धान २४ हजार दुई सय ४१ दशमलव ९४ गरी ३१ हजार छ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार, यो वर्ष मोटा धानको तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले किसानसँग धान खरिद गरिरहेको छ ।

शुक्रबारदेखि प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने

0

काठमाडौँ: दोस्रो वागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता भोलि शुक्रबारदेखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति काठमाडौँको संयोजन र बागमती प्रदेश तेक्वान्दो सङ्घको प्राविधिक सहयोग तथा टोखा नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा पुरुषमा र महिला गरी दश तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताअन्तर्गत पुरुषमा ४६–५०, ५०– ५४, ५४–५८, ५८–६३ र ६३–६८ तथा महिलातर्फ ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तौल समूहमा प्रतिस्पर्धा हुने काठमाडौँ जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले राससलाई बताउनुभयो ।

मधेसमा उच्च शिक्षाका लागि छात्रालाई छात्रवृत्ति

0

महोत्तरी: मधेस प्रदेश सरकारले महिलाको उच्च शिक्षामा पहुँच वृद्धि गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ। यो व्यवस्था प्रदेशका अतिविपन्न र सीमान्तकृत समुदायका छोरीहरूको उच्च शिक्षा हासिल गर्न सहयोग पुर्‍याउनका लागि गरिएको हो।

प्रदेश शिक्षा निर्देशनालयका अनुसार दलित, मुस्लिम, विपन्न, र जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। मुख्यमन्त्री सतिशकुमार सिंहले सीमान्तकृत र विपन्न परिवारका जेहेन्दार छात्राहरूलाई उच्च शिक्षाबाट वञ्चित हुन नदिन छात्रवृत्तिको व्यवस्था गरिएको बताउनुभयो। छात्रवृत्ति वितरणको प्रक्रियागत काम निर्देशनालयले पूरा गर्नेछ।

छात्रवृत्ति प्रदेशका आठवटै जिल्लाका दलित, मुस्लिम, विपन्न, र जेहेन्दार छात्राले पाउनेछन्। हालसम्म एक हजार ७१ आवेदन प्राप्त भएको निर्देशनालयले जनाएको छ। साधारण र प्राविधिक गरी दुई वर्गमा छात्रवृत्ति प्रदान गरिनेछ। प्राविधिक शिक्षाका लागि वार्षिक रु ३५ हजार र मानविकी, वाणिज्य, तथा शिक्षाका लागि वार्षिक रु २५ हजार उपलब्ध गराइनेछ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि छात्रवृत्तिमा रु एक करोड ५० लाख विनियोजन गरेको छ। मधेस प्रदेशमा शिक्षाको अवस्था अन्य प्रदेशको तुलनामा कमजोर रहेको छ। राष्ट्रिय जनगणना, २०७८ अनुसार मधेसको साक्षरता दर ६३.५ प्रतिशत छ भने महिला साक्षरता दर ४३.२ प्रतिशत मात्र रहेको छ।

बढ्यो सुनचाँदीको भाउ

0

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार रुपैयाँ रहेको थियो। यसरी, एक दिनको अन्तरालमा सुनको मूल्य ५०० रुपैयाँले बढेको हो।

यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार बुधबार तोलामा १ हजार ७६५ रुपैयाँ रहेको चाँदी बिहीबार बढेर १ हजार ७९० रुपैयाँमा कारोबार भएको छ।

महासंघले यी विवरणहरू आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित गरेको छ।

२०२४ मा साढे ११ लाख विदेशी पर्यटक नेपाल भित्रिए

0

काठमाडौँ: सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए ।

विदेशी पर्यटक आगमनको यो आँकडाले कोभिड–१९ महामारी (कोरोना भाइरस) का कारण शिथिल भएको मुलुकको पर्यटन क्षेत्र लयमा फर्किएको छ । कोरोनाले तीन वर्ष विदेशी पर्यटक आगमन
खुम्चियो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन ह्वात्तै घट्यो ।

उल्लेखित आँकडाले एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेको भनाइ छ । संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को ६ महिनाको आँकडाअनुसार विश्वव्यापी रुपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ ।

निर्देशक लामिछानेका अनुसार पर्यटक आगमन सुधार हुनुमा बोर्डले बजारीकरणलाई तीव्रता दिएको तथा नेपालमै पहिलोपटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना, बुद्धिष्ट सम्मेलनका दौरानमा भएका आठ सयभन्दा बढी चार्टड उडान, अन्तर्राष्ट्रिय बेलुन फेष्टिबल चिनियाँ ड्रागन फेस्टिबलका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भएका पर्यटन उत्सव, मेला र प्रदर्शनी रहेको छ । विदेशी पर्यटक आगमन बढाउन बोर्डले क्षेत्रीय पर्यटन प्रवद्र्धनलाइ प्राथमिकतामा राखेको बोर्डले उल्लेख गरेको छ ।

कुन महिनामा कति पर्यटक

मार्च महिनामा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका थिए भने सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३, अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक नेपाल आएका थिए । डिसेम्बरमा ८९ हजार सात सय ६५, नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक, सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका थिए ।