Sunday, April 26, 2026
Homeशिक्षामधेसमा उच्च शिक्षाका लागि छात्रालाई छात्रवृत्ति

मधेसमा उच्च शिक्षाका लागि छात्रालाई छात्रवृत्ति

महोत्तरी: मधेस प्रदेश सरकारले महिलाको उच्च शिक्षामा पहुँच वृद्धि गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ। यो व्यवस्था प्रदेशका अतिविपन्न र सीमान्तकृत समुदायका छोरीहरूको उच्च शिक्षा हासिल गर्न सहयोग पुर्‍याउनका लागि गरिएको हो।

प्रदेश शिक्षा निर्देशनालयका अनुसार दलित, मुस्लिम, विपन्न, र जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। मुख्यमन्त्री सतिशकुमार सिंहले सीमान्तकृत र विपन्न परिवारका जेहेन्दार छात्राहरूलाई उच्च शिक्षाबाट वञ्चित हुन नदिन छात्रवृत्तिको व्यवस्था गरिएको बताउनुभयो। छात्रवृत्ति वितरणको प्रक्रियागत काम निर्देशनालयले पूरा गर्नेछ।

छात्रवृत्ति प्रदेशका आठवटै जिल्लाका दलित, मुस्लिम, विपन्न, र जेहेन्दार छात्राले पाउनेछन्। हालसम्म एक हजार ७१ आवेदन प्राप्त भएको निर्देशनालयले जनाएको छ। साधारण र प्राविधिक गरी दुई वर्गमा छात्रवृत्ति प्रदान गरिनेछ। प्राविधिक शिक्षाका लागि वार्षिक रु ३५ हजार र मानविकी, वाणिज्य, तथा शिक्षाका लागि वार्षिक रु २५ हजार उपलब्ध गराइनेछ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि छात्रवृत्तिमा रु एक करोड ५० लाख विनियोजन गरेको छ। मधेस प्रदेशमा शिक्षाको अवस्था अन्य प्रदेशको तुलनामा कमजोर रहेको छ। राष्ट्रिय जनगणना, २०७८ अनुसार मधेसको साक्षरता दर ६३.५ प्रतिशत छ भने महिला साक्षरता दर ४३.२ प्रतिशत मात्र रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका