बरहथवा, सर्लाही: चिसोको कारण समस्यामा परेका सर्लाहीको बसवरियाका विपन्न मुसहर समुदायका सुत्केरी महिलाहरूले न्यानो कपडा र पोषिलो खाद्यान्न पाएका छन्।
बसवरिया गाउँपालिका–३, बङ्गलवाका पाँच सुत्केरी आमाहरूलाई आज न्यानो कपडा, सिरक, डस्ना, चामल, गेडागुडी, र घीउ वितरण गरिएको गाउँपालिका अध्यक्ष रामसिहासन रायले जानकारी दिनुभयो।
तराईमा केही दिनदेखि बाक्लो हुस्सुसहितको शीतलहरका कारण सुत्केरी महिलाहरू समस्या परिरहेको खबर सार्वजनिक भएपछि लायन्स क्लब अफ काठमाडौँ होली स्माइल कुलेश्वरले राहत वितरण गरेको हो।
अध्यक्ष रायले भन्नुभयो, “विपन्न परिवारको अवस्थाबारे समाचार प्रकाशन भएपछि सहयोगी संस्थाहरूले खाद्यान्न र कपडाहरू उपलब्ध गराए, जसलाई सम्बन्धित परिवारहरूलाई वितरण गरेका छौँ।”
राहत पाएपछि १० दिनकी सुत्केरी २३ वर्षीया जोनिता माझीले खुसी व्यक्त गर्दै सहयोगी संस्थालाई धन्यवाद दिनुभयो। चिसोमा आफू र बच्चा संकटमा परेको बेला यस्तो सहयोग पाउनु अत्यन्त महत्त्वपूर्ण भएको उहाँले बताउनुभयो।
सोही गाउँका अन्य सुत्केरीहरू, २४ वर्षीया बिना माझी, २० वर्षीया दीपा माझी, ३० वर्षीया मनिषा माझी, र २० वर्षीया पुनीता माझीलाई पनि पोषिलो खाद्यान्न र न्यानो कपडा वितरण गरिएको छ।
स्थानीय व्यवस्थापक संस्था साहसी नेपालकी अध्यक्ष पवित्रा माझीले राहत सामग्री सुत्केरीहरूको गाउँमै पुगेर वितरण गरिएको जानकारी दिनुभयो।
राहत वितरणमा भारतको बैङ्गलोरमा व्यवसाय गर्दै आएका दीपक देउवा परिवारले पनि आर्थिक सहयोग गरेका थिए।
लायन्स क्लब अफ काठमाडौँ होली स्माइल कुलेश्वरको सहयोगमा मुसहर टोलका अन्य ४५ परिवारलाई ज्याकेट, सर्ट, पाइन्ट, र जुत्तालगायत न्यानो सामग्री वितरण गरिएको कार्यवाहक वडाध्यक्ष रामप्रकाश राय यादवले बताउनुभयो।











