काठमाडौं: राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै शहीदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन्।
शहीद दिवसको अवसरमा जारी सन्देशमा उनले देश र जनताको हक अधिकारका लागि विभिन्न समयमा जीवन अर्पण गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले बेपत्ता योद्धाहरूलाई उच्च सम्मान प्रकट गर्दै घाइते योद्धाहरूको स्वास्थ्यलाभको कामना पनि व्यक्त गरे।
माघ १६ लाई नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि जीवन बलिदान गर्ने शहीदहरूलाई विशेष सम्मान र स्मरण गर्ने दिनका रूपमा मनाइन्छ। अध्यक्ष दाहालले यो दिन शहीदहरूले देखेको सपना र लिनुभएको अठोटलाई पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन्।
उनका अनुसार शहीद दिवस राज्यकै तहबाट मनाउँदा शहीदहरूको योगदानको कदर गर्दै शहीद परिवारहरूलाई उचित सम्मान, संरक्षण र अभिभावकत्व दिनु नै सच्चा सम्मान हो।
नेपालका प्रथम शहीद लखन थापामगरदेखि जहाँनिया राणाकालविरुद्धको आन्दोलन, विसं २००७ को परिवर्तन, जनविद्रोह, जनआन्दोलन तथा पहिचान र अधिकारका निम्ति विभिन्न समुदायको नेतृत्वमा भएका आन्दोलनहरूले नै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव बनाएको अध्यक्ष दाहालले उल्लेख गरे।
उनले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको स्मरण गर्दै यसको रक्षा र सुदृढीकरणका लागि संविधानको इमानदार कार्यान्वयन आवश्यक रहेको बताए।
शहीद दिवसले सबैलाई यस मार्गमा प्रेरणा दिने विश्वास पनि उनले व्यक्त गरेका छन्।


