Sunday, June 28, 2026
Home Blog Page 505

भन्सार बढाउने ट्रम्पको चेतावनीको जवाफमा चीनको प्रतिक्रिया ‘अन्त्यसम्म लड्न तयार छौं’

0

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चीनमाथि थप आयात कर लगाउने चेतावनी दिएपछि चीनको कडा प्रतिक्रिया आएको छ। चीनको वाणिज्य मन्त्रालयले ट्रम्पको भनाइलाई “अर्को ठूलो गल्ती” भन्दै आलोचना गरेको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकाबाट आउने कुनै पनि प्रकारको धम्कीपूर्ण व्यवहारलाई हामी स्वीकार गर्नेछैनौं। चीन अन्तिमसम्म करहरूको विरोधमा सम्पूर्ण शक्ति प्रयोग गर्दै लड्नेछ।”

चीनको सत्तारूढ कम्युनिस्ट पार्टीको मुखपत्र पिपल्स डेली मा यस विषयमा प्रकाशित एक लेखमा चीनको प्रतिक्रिया “उचित, कानुनी, बलियो र संयमित” भएको उल्लेख छ। लेखले अमेरिकाको व्यवहारलाई शक्ति प्रदर्शनको प्रयासको रूपमा चित्रित गर्दै भनिएको छ, “दबाब र धम्कीमार्फत चीनलाई झुक्याउनु वा रोक्नु सम्भव छैन।”

“दबाब र धम्कीमार्फत चीनलाई सम्हाल्नु सही तरिका होइन” शीर्षकमा प्रकाशित उक्त लेखमा ट्रम्प प्रशासनको आलोचना गर्दै भनिएको छ, “अमेरिका कर प्रणालीलाई हतियारका रूपमा प्रयोग गर्दैछ, जबकि चीनले अन्तर्राष्ट्रिय सहकार्य र समानतामा विश्वास राख्छ।”

चीन–अमेरिका व्यापार युद्ध फेरि चर्किन सक्ने संकेत देखिन थालेको छ, जसले विश्वव्यापी बजारमा पनि प्रभाव पार्न सक्ने अड्कल गर्न थालिएको छ।

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीबीच भेटवार्ता

0

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेटवार्ता गरेका छन्। दुई नेताबीच भएको भेटमा द्विपक्षीय व्यापार, इरानसँगको सम्बन्ध, ट्यारिफ नीति र हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरूको अवस्थाबारे गम्भीर छलफल भएको जनाइएको छ।

पत्रकारहरूले राष्ट्रपति ट्रम्पलाई ट्यारिफ (कर) मा कुनै छुटको सम्भावनाबारे सोध्दा उनले स्पष्ट रूपमा भने, “हामी यस विषयमा त्यो ढंगले सोचिरहेका छैनौं। धेरै देशहरू अहिले हामीसँग निष्पक्ष व्यापार सम्झौताको तयारीमा छन्।”

प्रधानमन्त्री नेतान्याहूले पनि व्यापार घाटा घटाउन इजरायल प्रतिबद्ध रहेको जनाउँदै भने, “हामी अमेरिकासँगको व्यापार घाटा चाँडै हटाउने योजनामा छौं। यो हाम्रो लागि सही निर्णय हो र हामी व्यापारमा रहेका अनावश्यक अवरोधहरू पनि हटाउनेछौं।”

ट्रम्प प्रशासनद्वारा ट्यारिफ नीतिसम्बन्धी घोषणा गरेपछि प्रधानमन्त्री नेतान्याहू उनलाई भेट गर्ने पहिलो विदेशी नेता बनेका छन्।

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

0

काठमाडौं — विद्यालय शिक्षासम्बन्धी कानुन संशोधनको मागसहित आन्दोलनमा उत्रिएका शिक्षकहरूसँग सरकार वार्तामा बस्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघलाई वार्ताका लागि बुधबार मन्त्रालयमा उपस्थित हुन आह्वान गरेको हो।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै शिक्षक र कर्मचारीको प्रतिनिधित्व हुने गरी महासंघलाई वार्तामा सहभागी हुन आग्रह गरेका छन्। वार्ताको समय आपसी सहमतिमा तय गरिने विज्ञप्तिमा उल्लेख छ।

विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूको आन्दोलन जारी छ।

यसअघि पनि मन्त्रालयले चैत २१ र २२ गते आन्दोलनरत पक्षसँग छलफल तथा परामर्श गर्न आग्रह गरेको थियो। तर विभिन्न कारणले ती छलफलहरू हुन सकेका थिएनन्।

सरकारको पछिल्लो आह्वानपछि आन्दोलनरत पक्ष वार्तामा सहभागी हुने वा नहुने भन्ने विषयमा चासो बढेको छ।

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

0

सिरहा: नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टी जनताको जरासम्म फैलिएको पार्टी भएकाले कसैले हल्लाउन नसक्ने दाबी गरेका छन्।

एमाले सिरहा जिल्ला कमिटीको ११औं अधिवेशनको उद्घाटन सत्रलाई सोमबार सिरहा बजारमा सम्बोधन गर्दै उनले भने, “एमालेसँग देश र जनताको हितबाहेक अरू कुनै स्वार्थ छैन। एमाले देश जोगाउने पार्टी हो, त्यसैले कार्यकर्ता र शुभेच्छुकहरू एमालेविरुद्धको भुलभुलैयामा नपर्नुहोस्।”

ओलीले विगतमा आफ्नो नेतृत्वमा सञ्चालित योजनाहरूको स्मरण गर्दै सुनकोसी–मरिन डाइभर्सन आयोजना, हुलाकी राजमार्ग निर्माण, शिक्षा र स्वास्थ्य सुधारलगायतका काम थालेको उल्लेख गरे। उनले मधेसका समस्या आफूलाई राम्ररी थाहा भएको भन्दै त्यसको समाधानका लागि केन्द्र सरकार प्रतिवद्ध रहेको बताएका छन्। “मैले आजै मधेस प्रदेशसभामा सम्बोधन गर्दै यसबारे स्पष्ट धारणा राखिसकेको छु,” उनले भने।

राजतन्त्रको सम्भावनाबारे बोल्दै ओलीले भने, “राजतन्त्र फर्किन्छ भन्ने सपना अब पूरा हुनेवाला छैन। चैत १५ गतेको अराजक गतिविधिले यस्ता विचार बोेकेकाहरूको वास्तविकता उजागर भइसकेको छ। आगजनी र तोडफोड गर्नेहरूको हातमा शासन जान दिनु हुँदैन।”

प्रधानमन्त्री ओलीले वर्तमान सरकार बलियो रहेको भन्दै संविधानको रक्षा गर्दै समृद्धि र सुशासन सुनिश्चित गर्ने दाबी गरे। “यो सरकार चुनावसम्म टसमस हुँदैन,” उनले भने, “अबको १५ महिनापछि म सरकार कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्छु। अहिले सरकार ढल्छ भन्नेहरूले अब थाकिसके।”

अधिवेशनबाट परिपक्व र सर्वसम्मत नेतृत्व चयनको आग्रह गर्दै उनले गुटबन्दी नगर्न र देखावटी प्यानल निर्माणबाट टाढा रहन कार्यकर्तालाई आग्रह गरे।

सो अवसरमा जनता समाजवादी पार्टीबाट निर्वाचित धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजयकुमार सिंहसहित झन्डै पाँच सय जना विभिन्न दलका नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। उनीहरूलाई अध्यक्ष ओलीले स्वागत गरेका हुन्।

कार्यक्रममा एमालेका सचिव रघुवीर महासेठ, मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, प्रदेशसभामा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलगायतले मन्तव्य दिएका थिए।

यसअघि प्रधानमन्त्री ओलीले सिरहा बजारस्थित शहिद हेमनारायण यादवको शालिकमा माल्यार्पण गरेका थिए। त्यस्तै, उनले सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको नवनिर्मित सभा मञ्चको पनि उद्घाटन गरे।

विवाह भएको भोलि पल्टै दुलहा-दुलहीको निधन भएपछि…

0

काठमाडौँ: बिहे जीवनको नयाँ सुरुवात हो, तर कहिलेकाहीँ यो सुरुवात नै अन्त्यको कथा बन्न पुग्छ। भारतको बिहार राज्यमा यस्तै एक दुखद घटना घटेको छ, जसले नयाँ दाम्पत्य जीवनको सपना देखिरहेको जोडीसहित चार जनाको ज्यान लिएको छ।

बिहारको वैशाली जिल्लामा मंगलबार बिहान भएको सवारी दुर्घटनामा नववधूसहित चार जनाको मृत्यु भएको हो। दुर्घटना जंदाहा–समस्तीपुर मुख्य सडकको पनसलवा चोक नजिकै बिहानको समयमा भएको हो।

प्रत्यक्षदर्शीका अनुसार बेहुली लिएर घर फर्किंदै गरेको कार एक ट्रकसँग ठोक्किँदा घटना भएको हो। कारमा सवार सात जनामध्ये चार जनाको घटनास्थलमै मृत्यु भयो भने बाँकी तीन जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

मृतकमध्ये एक नवविवाहित महिला रहेको पुष्टि भएको छ। उनी अघिल्लो दिन मात्र विवाह बन्धनमा बाँधिएकी थिइन्। विवाह सकेर घर फर्किंदै गर्दा कार दुर्घटनामा परेकी हुन्।

दुर्घटनापछि घटनास्थलमा प्रहरीले पुगेर शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाएको छ र दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो घटना एउटा सामान्य सवारी दुर्घटनाभन्दा बढी एउटा दाम्पत्य जीवन सुरु हुनुअघि नै अन्त्य भएको पीडादायक क्षणको प्रतिनिधित्व गर्छ। यसले सडक सुरक्षाको विषयमा अझ गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।

सुदूरपश्चिममा ६ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री, आठ करोडभन्दा बढी आम्दानी

0

अत्तरिया (कैलाली): जनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले नयाँ शैक्षिक सत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा हालसम्म ६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री गरेको छ। स्थानीय पुस्तक विक्रेतामार्फत बिक्री गरिएका यी पुस्तकबाट केन्द्रले आठ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ।

कार्यालयका प्रमुख रामविनय श्रेष्ठका अनुसार चैत १७ गतेदेखि पाठ्यपुस्तक बिक्री सुरु गरिएको हो। “बाजुरा, दार्चुला, बझाङ, बैतडी र अछाम जिल्लामा पुस्तक पुगिसकेको छ भने डोटी र डडेल्धुरामा पुस्तक पठाउने क्रम जारी छ। सबै जिल्लामा समयमै पुस्तक पु-याउने तयारी छ,” उहाँले बताउनुभयो।

कञ्चनपुर जिल्लामा चैत २६ गतेदेखि र कैलाली जिल्लामा चैत २८ गतेदेखि पाठ्यपुस्तक बिक्री सुरु हुने बताउँदै प्रमुख श्रेष्ठले भने, “पाठ्यपुस्तक पर्याप्त मात्रामा छ। सत्र सुरु हुनुअगावै सबै जिल्लामा वितरण हुनेछ।”

कक्षा ३ देखि १० सम्मका पुस्तक अहिले सक्रिय रूपमा बिक्री भइरहेको र कक्षा ११ तथा १२ का पाठ्यपुस्तक पनि फाट्टफुट्ट बिक्री भइरहेको जानकारी दिँदै उहाँले सुदूरपश्चिम प्रदेशमा यस सत्रमा कुल १८ लाख १७ हजार थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य रहेको बताउनुभयो।

केन्द्रका अनुसार सत्रभरमा करीब २५ करोड रुपैयाँ बराबरका पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य छ। अघिल्लो शैक्षिक सत्रमा भने २२ करोड ५७ लाख रुपैयाँ बराबरका पुस्तक बिक्री भएका थिए।

नेपाल–भारत सर्वोच्च अदालतबीच न्यायिक सहयोगका लागि समझदारीपत्रमा हस्ताक्षर

0

काठमाडौँ: नेपाल र भारतका सर्वोच्च अदालतबीच न्यायिक सहयोग प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउँदै न्यायिक क्षेत्रको सहकार्यलाई संस्थागत गर्न यो समझदारीपत्र हस्ताक्षर गरिएको हो।

भारतीय दूतावासका अनुसार उक्त समझदारीमा नेपालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र भारतका प्रधानन्यायाधीश सञ्जीव खन्नाको उपस्थितिमा हस्ताक्षर गरिएको हो।

समझदारीअनुसार न्यायपालिकाबीच सहयोग विकास, प्रवर्द्धन र सुदृढीकरणका लागि दुवै देशले नियमित रूपमा कानुन र न्यायसम्बन्धी पछिल्ला विकासहरूको जानकारी आदानप्रदान गर्नेछन्। साथै, भ्रमण आदानप्रदान, अल्पकालीन तथा दीर्घकालीन तालिम, र शैक्षिक कार्यक्रममार्फत न्यायाधीश तथा अन्य अधिकारीबीच अन्तरक्रिया प्रवर्द्धन गरिनेछ।

अदालती प्रक्रिया प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिँदै समझदारीले सम्बन्धित अदालत र संस्थाबीच प्रविधिसम्बन्धी ज्ञान र अनुभव साझा गर्ने प्रावधान राखेको छ। यसका लागि संयुक्त कार्यदल गठन गरिनेछ, जसमा दुवै देशका न्यायपालिका अधिकारीहरू सहभागी हुनेछन्।

भारतको सर्वोच्च अदालतले यसअघि इजरायल, सिङ्गापुर, बङ्गलादेश, भुटान, ट्युनिसिया, जाम्बिया, मोरोक्को, माल्दिभ्स लगायत देशका सर्वोच्च अदालत र सरकारसँग यस्तै किसिमका समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ।

देशका पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं: हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अन्य अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव सक्रिय रहेको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको विभागको पूर्वानुमान छ।

यी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र देशका अन्य केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाइएको छ।

आज राति पनि कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

विभागले सम्भावित मेघगर्जन, चट्याङ र वर्षाका कारण आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

पोखराबाट चीनको छेन्दुसम्म सिधा उडान निरन्तरताका लागि सहकार्य आवश्यक : प्रमुख आचार्य

0

लेखनाथ (कास्की): पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सुरु भएको चीनको सिचुवान प्रान्तस्थित छेन्दु सहरको सिधा उडानलाई निरन्तरता दिन सबैको साथ र सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ।

सोमबार पोखरामा पोखरा पर्यटन परिषद्‍ले आयोजना गरेको कार्यक्रममा उहाँले छेन्दुमा गरिएको पहिलो व्यावसायिक चाटर्ड उडानका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै उक्त उडानले पोखराबाट अन्तरराष्ट्रिय उडानको सम्भावनालाई उजागर गरेको धारणा राख्नुभयो।

उहाँले भन्नुभयो, “छेन्दु, लुझाउ, छोङ्छिङ लगायत सहरमा सम्पन्न कार्यक्रमहरूले नेपाल र चीनबीचको सम्बन्ध सुदृढ मात्र नभई पर्यटकीय साझेदारीलाई पनि नयाँ उचाइमा पु-याएको छ। सिचुवान एयरलाइन्सको अन्तर्राष्ट्रिय सञ्जालको भरपूर उपयोग गर्न आवश्यक छ।”

महानगर प्रमुख आचार्यले चीनको आली विमानस्थलमा पोखराबाट सिधा उडान गर्न सकिने सम्भावना उल्लेख गर्दै यसले पोखराको आर्थिक विकासमा उल्लेखनीय टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले उडानको अवसरमा छेन्दु र छोङ्छिङमा आयोजना गरिएको बी–टू–बी तथा सेल्स मिसन कार्यक्रमले नेपाली पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पहिलो सफल उडानले पोखरा–चीन सम्बन्धलाई थप सुदृढ बनाएको उल्लेख गर्दै आगामी दिनमा उडान निरन्तरताका लागि सबै सरोकारवाला निकायको एकताबद्ध प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।

परिषद्का महासचिव तथा कार्यक्रम संयोजक जीवनराज सापकोटाले उडान सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रममार्फत चीनका विभिन्न सहरहरूसँग पोखराको सम्बन्ध अझ प्रगाढ बनेको धारणा राख्नुभयो।

कार्यक्रममा परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखे, रामकली खड्का, दीपक पहारीलगायत वक्ताहरूले चीनको अनुशासन, विकास, सरसफाइ आदि पक्षहरू अनुकरणीय रहेको भन्दै त्यसबाट सिक्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

धरानको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गरिन्छ : मन्त्री यादव

0

काठमाडौं: खानेपानी, सरसफाइ तथा सिँचाइमन्त्री प्रदीप यादवले धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि मन्त्रालय गम्भीर रूपमा लागेको स्पष्ट गर्नुभएको छ।

आज सिंहदरबारस्थित मन्त्रालयमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)को नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आगामी आर्थिक वर्ष २०८२/०८३ मा बजेट विनियोजनको माग गर्दै मागपत्र पेश गरेपछि मन्त्री यादवले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

मन्त्री यादवले भन्नुभयो, “धरानको खानेपानी समस्याबारे म मात्र होइन, पूरै मन्त्रालय जानकार छ। दीर्घकालीन समाधानका लागि मन्त्रालय र दातृ निकायबीच सहकार्यमा काम अघि बढाइनेछ।”

उहाँले धरानको पानी समस्या पहिलेदेखि नै गम्भीर रहेको उल्लेख गर्दै नीति, योजना र बजेटमार्फत स्थायी समाधानको तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले स्थानीय तहसँग समन्वय गरेर ठोस योजनासहित दीर्घकालीन समाधान सुनिश्चित गरिने आश्वासनसमेत दिनुभयो।

धरान नगरप्रमुख साम्पाङले गर्मीयाम सुरु भएसँगै धरानमा पानीको चरम अभाव भएको जनाउँदै नागरिक अत्यन्तै पीडित भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “पानीको समस्या त पहिलेबाटै थियो, तर अहिले गर्मी सुरु भएपछि स्थिति झनै भयावह बनेको छ। त्यसैले हामीले स्थायी समाधानका लागि बजेट माग गरेका हौँ।”

धरान उपमहानगरपालिकाको मागलाई गम्भीरतापूर्वक लिएको मन्त्रालयले चाँडै यस विषयमा ठोस निर्णय लिने जनाएको छ।