Sunday, June 28, 2026
Homeसामाचारधरानको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गरिन्छ : मन्त्री यादव

धरानको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गरिन्छ : मन्त्री यादव

काठमाडौं: खानेपानी, सरसफाइ तथा सिँचाइमन्त्री प्रदीप यादवले धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि मन्त्रालय गम्भीर रूपमा लागेको स्पष्ट गर्नुभएको छ।

आज सिंहदरबारस्थित मन्त्रालयमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)को नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आगामी आर्थिक वर्ष २०८२/०८३ मा बजेट विनियोजनको माग गर्दै मागपत्र पेश गरेपछि मन्त्री यादवले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

मन्त्री यादवले भन्नुभयो, “धरानको खानेपानी समस्याबारे म मात्र होइन, पूरै मन्त्रालय जानकार छ। दीर्घकालीन समाधानका लागि मन्त्रालय र दातृ निकायबीच सहकार्यमा काम अघि बढाइनेछ।”

उहाँले धरानको पानी समस्या पहिलेदेखि नै गम्भीर रहेको उल्लेख गर्दै नीति, योजना र बजेटमार्फत स्थायी समाधानको तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले स्थानीय तहसँग समन्वय गरेर ठोस योजनासहित दीर्घकालीन समाधान सुनिश्चित गरिने आश्वासनसमेत दिनुभयो।

धरान नगरप्रमुख साम्पाङले गर्मीयाम सुरु भएसँगै धरानमा पानीको चरम अभाव भएको जनाउँदै नागरिक अत्यन्तै पीडित भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “पानीको समस्या त पहिलेबाटै थियो, तर अहिले गर्मी सुरु भएपछि स्थिति झनै भयावह बनेको छ। त्यसैले हामीले स्थायी समाधानका लागि बजेट माग गरेका हौँ।”

धरान उपमहानगरपालिकाको मागलाई गम्भीरतापूर्वक लिएको मन्त्रालयले चाँडै यस विषयमा ठोस निर्णय लिने जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका