Wednesday, July 1, 2026
Home Blog Page 480

बालमन्दिर जग्गा प्रकरण: तीन भारतीयसहित १७ जनाविरुद्ध मुद्दा दायर (मुद्दाको पूर्णपाठसहित)

0

काठमाडौं: काठमाडौंको नक्सालस्थित नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा दर्ता गरेको छ।

सरकारी वकिल कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले आवश्यक अनुसन्धान पूरा गरी उक्त प्रकरणको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सोही प्रतिवेदनको आधारमा थप छानबिन गरी मुद्दा दर्ता गरिएको हो।

मुद्दा दायर गरिएकामध्ये उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्य पनि परेकी छन्। यसका साथै तीन जना भारतीय नागरिकलाई समेत प्रतिवादी बनाइएको छ।

बृहस्पति विद्यासदनका सञ्चालक रहेका भारतीय नागरिक ४४ वर्षीय अभिनव सिंघानिया, ४४ वर्षीय सिद्धार्थ केडिया र ७१ वर्षीय कीर्तिप्रसाद पाण्डेयसमेत मुद्दामा प्रतिवादी बनाइएका हुन्।

सरकारी सम्पत्तिको संरक्षणमा लापरवाही र हिनामिनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही अगाडि बढाइएको सरकारी वकिल कार्यालयले जनाएको छ।
नेपाल-बाल-संगठनका-तर्फबाट-मोहन-प्रसाद-भट्टराई-विरुद्द-रीता-सिंह-समेत-१७-जना_1746616828

मोदीको प्राथमिकतामा परिनन् परराष्ट्रमन्त्री आरजु

0

काठमाडौं: केपी शर्मा ओली नेतृत्वको सरकार गठनपछि परराष्ट्रमन्त्री बनेकी आरजु राणा देउवाले पद सम्हालेसँगै भारत भ्रमण गरेकी थिइन्। त्यतिबेला भारतले उनलाई विशेष सम्मान दिएको थियो। तर, पछिल्लो समय त्यो सम्मानमा गिरावट आएको देखिन्छ।

गत साता मात्र भारतले परराष्ट्रमन्त्री आरजुप्रति आफ्नो प्राथमिकता घटेको स्पष्ट सन्देश दिएको छ। सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आउँदा परराष्ट्रमन्त्री आरजुभन्दा पहिला नेपाली कांग्रेसका अन्य नेतासँगै माओवादी नेताहरूसँग भेटघाट गरे। यसले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय संस्थापनका लागि आरजु प्राथमिकतामा नरहेको संकेत दिएको छ।

चौथाइवाले भाजपाको विदेश विभागका प्रमुख हुन्। नेपालको भ्रमणमा आएका विदेशी नेताले प्रोटोकलअनुसार परराष्ट्र मन्त्रालयमार्फत सम्पर्क गर्नु स्वाभाविक मानिन्छ। आरजु स्वयं परराष्ट्रमन्त्री भए पनि चौथाइवालेले उनको औपचारिक भेट नगरी अन्य नेताहरूसँग संवाद अघि बढाए।

नेपाल भ्रमणका क्रममा उनले २० भन्दा बढी नेताहरूसँग भेट गरेका थिए। तीमध्ये प्रमुख दलका शीर्ष नेतादेखि दोस्रो तहका नेतासम्म परेका थिए। भेटका क्रममा उनले भारतका नीतिगत सन्देशहरू व्यक्त गरे र जम्मु–कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतप्रति नेपालको स्पष्ट समर्थनको अपेक्षा राखे। तर, नेपालको आन्तरिक सत्ता समीकरणमा भने उनले चासो नदेखाएको बताइन्छ।

आरजु र चौथाइवालेबीच पदीय मात्र नभई व्यक्तिगत सम्बन्ध पनि रहेको उल्लेखनीय छ। केही वर्षअघि आरजुले चौथाइवालेलाई राखी बाँधेर आत्मीयता प्रकट गरेकी थिइन्। यद्यपि, कूटनीतिक प्रोटोकल र व्यक्तिगत सम्बन्ध दुवैका बाबजुद चौथाइवालेले आफ्नो भ्रमणमा आरजुलाई प्राथमिकता नदिएको घटनाले आरजु भारतको हालको कूटनीतिक प्राथमिकतामा नरहेको संकेत दिएको विश्लेषण कूटनीतिक जानकारहरू गर्छन्।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज (२४ वैशाख) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जारी विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८० पैसा र बिक्रीदर १३५ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५२.७० र बिक्रीदर १५३.३८ रुपैयाँ, बेलायती पाउन्ड एकको खरिददर १८०.१४ र बिक्रीदर १८०.९४ रुपैयाँ, र स्विस फ्र्याङ्क एकको खरिददर १६३.४० र बिक्रीदर १६४.१३ रुपैयाँ कायम गरिएको छ।

अन्य प्रमुख मुद्राको दर यसप्रकार छ:

अष्ट्रेलियन डलर: खरिद ८७.०५, बिक्री ८७.४४

क्यानेडियन डलर: खरिद ९७.५८, बिक्री ९८.०१

सिङ्गापुर डलर: खरिद १०४.५६, बिक्री १०५.०२

जापानी येन (१०): खरिद ९.४३, बिक्री ९.४७

चिनियाँ युआन: खरिद १८.६८, बिक्री १८.७६

त्यस्तै, साउदी रियालको खरिददर ३५.९४ र बिक्रीदर ३६.१०, कतारी रियालको खरिददर ३६.९८ र बिक्रीदर ३७.१५ रुपैयाँ तोकिएको छ।

थप दरहरू:

यूएई दिराम: खरिद ३६.७०, बिक्री ३६.८६

मलेसियन रिङ्गेट: खरिद ३१.८५, बिक्री ३१.९९

दक्षिण कोरियन वन (१००): खरिद ९.७६, बिक्री ९.८१

अन्य केही विनिमयदर:

कुवेती दिनार: खरिद ४३९.६९, बिक्री ४४१.६५

बहराइन दिनार: खरिद ३५७.५५, बिक्री ३५९.१४

ओमनी रियाल: खरिद ३५०.१३, बिक्री ३५१.६९

भारतीय रूपैयाँ (१००): खरिद १६०.००, बिक्री १६०.१५

राष्ट्र बैंकले यो विनिमयदर आवश्यकतानुसार जुनसुकै बेला परिमार्जन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले भने खुला बजारको आधारमा फरक दर निर्धारण गर्न सक्ने छन्। अद्यावधिक दर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुनेछ।

भारतद्वारा पाकिस्तानमा हवाई आक्रमण, तनाव चुलिँदै

0

काठमाडौँ: भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा लक्षित हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती स्थानहरूबाट भारतमाथि आतंकी गतिविधिको योजना र निर्देशन हुँदै आएको थियो।

यो कारबाही अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाउँदै जवाफी कारबाही स्वरूप यो आक्रमण गरेको बताएको छ।

वाशिङ्टनस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हवाई आक्रमण पूर्ण रूपमा लक्षित र सटीक थियो। केवल पहिचान गरिएका आतंकी शिविरहरूलाई मात्र निशाना बनाइएको हो।”

यता, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई ‘युद्धको घोर उक्साहट’ भन्दै कडा शब्दमा निन्दा गर्नुभएको छ र बलियो प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ।

संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै चेतावनी दिएको छ, “दुई आणविक शक्तिहरूबीचको युद्ध केवल दक्षिण एशियामात्र होइन, समग्र विश्वका लागि खतरनाक हुन सक्छ।”

संसद्‍मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुँदै

0

काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ। संसदमा गत सोमबारदेखि नीति तथा कार्यक्रमबारे छलफल सुरु भएको हो।

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्नेछ। बैठकअघि अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन, र सङ्घीयता सबलीकरण समितिका बैठकहरू बस्ने कार्यक्रम रहेको छ।

यसैबीच, राष्ट्रियसभामा पनि नीति तथा कार्यक्रममाथि छलफल जारी छ। राष्ट्रियसभाको आगामी बैठक यही वैशाख २८ गते दिउँसो १:१५ बजेका लागि तय गरिएको छ। सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरूको जवाफ दिनुहुने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले राससलाई जानकारी दिनुभयो।

नीति तथा कार्यक्रममा स्पष्ट नभएको जनमोर्चाको टिप्पणी

0

काठमाडौँ: राष्ट्रिय जनमोर्चा नेपालले सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम अर्थतन्त्रलाई चलायमान बनाउने कुनै ठोस योजना विना प्रस्तुत गरिएको आरोप लगाएको छ। पार्टी अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा सरकारको नीति तथा कार्यक्रम विगतकै दोहोराइ मात्र भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा दशकौँदेखि नीति तथा कार्यक्रममा दोहोरिएर आउने तर कार्यान्वयनमा नआएका बुँदाहरू पुनः समावेश गरिएको उल्लेख छ। साथै, यसपटक सरकारका प्राथमिकता क्षेत्रहरू स्पष्ट रूपमा नतोकिएको र नीति तथा कार्यक्रमको लक्ष्य र गन्तव्य नै अस्पष्ट रहेको जनमोर्चाको आरोप छ।

जनमोर्चाले गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताको रक्षा गर्दै संविधान संशोधनको आवश्यकता औँल्याएको छ। विज्ञप्तिमा भनिएको छ, “भूमिमाथि सामन्ती स्वामित्व कायम राखी निजीकरण र उदारीकरणलाई जोड दिँदा समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण सम्भव छैन। त्यसका लागि सामन्ती भूस्वामित्वको अन्त्य अनिवार्य छ।”

पार्टीले दलित समुदायको आर्थिक, सामाजिक र शैक्षिक सशक्तीकरणका लागि सरकारले कुनै स्पष्ट नीति नअगाडि सारेको भन्दै असन्तोष व्यक्त गरेको छ। त्यस्तै, प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्ने, उपभोक्ताको हक संरक्षण गर्ने, कालोबजारी र कृत्रिम अभाव विरुद्ध कडा कदम चाल्नुपर्ने जनमोर्चाको माग रहेको छ।

देशका अधिकांश भागको मौसम सफा रहने पूर्वानुमान

0

काठमाडौँ: हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रका केही स्थानहरूमा र अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, देशका हिमाली भू–भागका केही स्थानहरूमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि देशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशसहित पहाडी भागका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली भू–भागका एकदुई स्थानहरूमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना पनि रहेको जनाइएको छ।

आज‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदै

0

काठमाडौँ: देशभर विभिन्न कार्यक्रम गरी आज ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ। गोरखापत्रको प्रकाशन प्रारम्भ भएको दिनको स्मरणमा हरेक वर्ष वैशाख २४ गते यो दिवस मनाउने गरिन्छ।

२०७३ सालदेखि सरकारले यस दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रूपमा मान्यता दिएको हो। विसं १९५८ साल वैशाख २४ गते साप्ताहिक रूपमा सुरु भएको गोरखापत्र नेपालको पत्रकारिता इतिहासको महत्वपूर्ण दस्तावेज बनेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दशौं पत्रकारिता दिवसले पत्रकारिता क्षेत्रलाई प्रोत्साहन दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले पत्रकारिता राज्यको चौथो अङ्ग भएको उल्लेख गर्दै यस क्षेत्रको विकासमा योगदान पु¥याउने विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्ने कार्यले पत्रकारहरुलाई थप प्रेरणा दिने बताउनुभयो।

‘विश्वसनीय सूचनाको आधार: जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने मूल नाराका साथ मनाइँदै गरेको यस दिवसको अवसरमा देशभर विविध कार्यक्रम आयोजना भइरहेका छन्। मन्त्रालयको आयोजनामा आज दिउँसो १ बजे राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह हुनेछ। उक्त अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तित्वलाई पुरस्कारसहित सम्मान गर्नुहुनेछ।

मन्त्रालयका अनुसार दुई जना पत्रकारलाई ‘वरिष्ठ पत्रकार सम्मान’ प्रदान गरिनेछ, जसमा रु दुई लाख नगद र कदरपत्र समावेश छ। साथै, छ जना पत्रकारलाई रु एक लाख नगद र कदरपत्रसहित ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ। निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारितामार्फत राष्ट्रहितको प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पु¥याएका पत्रकार र सञ्चार संस्थाहरुलाई सरकारले हरेक वर्ष यस्ता पुरस्कारमार्फत कदर गर्दै आएको छ।

यसैबीच, गोरखापत्र संस्थानले ‘गोरखापत्र’ को १२५औँ वर्ष प्रवेश र संस्थानको ६३औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम आयोजना गर्दैछ।

के भारतले पाकिस्तानमाथि आक्रमणको तयारी गर्दैछ ? भोलि देशैभरी युद्ध अभ्यास गरिँदै

0

काठमाडौं: भारत सरकारको गृह मन्त्रालयले सबै राज्य र केन्द्र शासित प्रदेशहरूलाई मे ७ मा ‘मक ड्रिल’ अर्थात् नमूना आपतकालीन अभ्यास गर्न निर्देशन दिएको छ। पछिल्लो समय पहलगाममा भएको आक्रमणपछि भारत–पाकिस्तानबीचको बढ्दो तनावका सन्दर्भमा यो अभ्यासलाई विशेष महत्त्वका रूपमा हेरिएको छ।

गृह मन्त्रालय अन्तर्गतको जनरल फायर सर्भिस, सिभिल डिफेन्स तथा होम गार्ड र सिभिल डिफेन्स महानिर्देशनालयले मे ५ मा जारी गरेको पत्रको प्रतिलिपि बीबीसीसँग उपलब्ध छ। यो निर्देशन सबै राज्य र केन्द्र शासित प्रदेशका मुख्य सचिवहरूलाई पठाइएको हो।

पत्रमा उल्लेख भएअनुसार, देशभरका २४४ सूचीबद्ध नागरिक रक्षा जिल्लाहरूमा नागरिक सुरक्षा अभ्यास सञ्चालन गर्न भनिएको छ। नागरिक सुरक्षा ऐनअन्तर्गत गृह मन्त्रालयले यस्ता अभ्यास गर्न राज्यहरूलाई निर्देशन दिनसक्ने व्यवस्था छ।

मक ड्रिलको उद्देश्य आपतकालीन अवस्थामा जनसाधारणको प्रतिक्रिया परीक्षण गर्नु हो। यसमा चयनित व्यक्ति र स्वयंसेवकलाई पूर्वतयारी तालिम दिइनेछ।

आक्रमण, आगलागी वा अन्य आपतकालीन अवस्थाका लागि पूर्वतयारी मूल्यांकन गर्न मक ड्रिल सञ्चालन गरिन्छ। मे ७ को अभ्यास शहरदेखि ग्रामीण क्षेत्रसम्म विस्तारित हुनेछ।

अभ्यासमा हवाई आक्रमणको चेतावनी प्रणाली परीक्षण, नियन्त्रण कक्षको समन्वय मूल्यांकन, र आपतकालीन समयमा जनतालाई आवश्यक तालिम दिने कार्य समावेश हुनेछ। अभ्यासको क्रममा केही समय बत्तीहरू बन्द राख्ने निर्देशनसमेत दिइन सक्नेछ।

त्यस्तै, नागरिकलाई सुरक्षित रूपमा स्थानान्तरण गर्ने अभ्यास, आपतकालीन सेवा प्रतिक्रिया परीक्षण, र अन्य सुरक्षासम्बन्धी अभ्यासहरू पनि समावेश गरिनेछ।

ड्रिलमा जिल्ला प्रशासन, नागरिक सुरक्षा स्वयंसेवक, होम गार्ड, एनसीसी, राष्ट्रिय सेवा योजना (एनएसएस), नेहरू युवा केन्द्र, तथा विद्यालय–कलेजका विद्यार्थीहरूको सहभागिता अपेक्षित छ।

गाजामा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु

0

गाजा: सन् २०२३ अक्टोबर ७ मा इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

गाजाको फिल्ड अस्पतालका निर्देशक मारवान अल–हाम्सका अनुसार हालसम्म १६,२७८ बालबालिकाको मृत्यु भएको छ। मृतकमध्ये ९०८ जना शिशु र ३११ जना नवजात शिशु छन्।

उनले बताएअनुसार प्रत्येक ४० मिनेटमा एक बालबालिकाको ज्यान जाँदै आएको छ।

मार्चको सुरुदेखि क्रसिङ नाका बन्द भएपछि आवश्यक स्वास्थ्य सेवा नपुग्दा मानवीय अवस्था झनै गम्भीर भएको छ। उनले हजारौँ बालबालिका र गर्भवती महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको जानकारी दिए।

अल–हाम्सका अनुसार इजरायली आक्रमणका कारण धेरै बालबालिका स्वच्छ पिउने पानी, पर्याप्त पोषण र नियमित भोजन नपाई एकपटकको अपूर्ण खानामा निर्भर छन्।

विस्थापन भएका हजारौँ बालबालिका आधारभूत सुविधा बिना अस्थायी आश्रयस्थलमा बसिरहेका छन् भने गर्भवती महिलाहरू अस्पताल पुग्न कठिनाइ झेलिरहेका छन्।

हमाससँग जनवरीमा भएको युद्धविराम सम्झौताको पहिलो चरणपछि, इजरायलले मार्च २ मा गाजामा सामान तथा मानवीय सहायता प्रवेशमा रोक लगाएको थियो।