गाजा: सन् २०२३ अक्टोबर ७ मा इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
गाजाको फिल्ड अस्पतालका निर्देशक मारवान अल–हाम्सका अनुसार हालसम्म १६,२७८ बालबालिकाको मृत्यु भएको छ। मृतकमध्ये ९०८ जना शिशु र ३११ जना नवजात शिशु छन्।
उनले बताएअनुसार प्रत्येक ४० मिनेटमा एक बालबालिकाको ज्यान जाँदै आएको छ।
मार्चको सुरुदेखि क्रसिङ नाका बन्द भएपछि आवश्यक स्वास्थ्य सेवा नपुग्दा मानवीय अवस्था झनै गम्भीर भएको छ। उनले हजारौँ बालबालिका र गर्भवती महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको जानकारी दिए।
अल–हाम्सका अनुसार इजरायली आक्रमणका कारण धेरै बालबालिका स्वच्छ पिउने पानी, पर्याप्त पोषण र नियमित भोजन नपाई एकपटकको अपूर्ण खानामा निर्भर छन्।
विस्थापन भएका हजारौँ बालबालिका आधारभूत सुविधा बिना अस्थायी आश्रयस्थलमा बसिरहेका छन् भने गर्भवती महिलाहरू अस्पताल पुग्न कठिनाइ झेलिरहेका छन्।
हमाससँग जनवरीमा भएको युद्धविराम सम्झौताको पहिलो चरणपछि, इजरायलले मार्च २ मा गाजामा सामान तथा मानवीय सहायता प्रवेशमा रोक लगाएको थियो।


