Friday, July 3, 2026
Home Blog Page 459

चालीस वर्ष मुनिका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न अध्यक्ष ओलीको आग्रह

0
प्रधानमन्त्री ओली काठमाडौँ, १७ जेठः प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुहुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाडौँ: प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४० वर्षभन्दा कम उमेरका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को नेतृत्वलाई आग्रह गरेका छन्।

अनेमसङ्घको केन्द्रीय कमिटीको पूर्ण बैठकमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले ४० वर्षमुनिका ४० प्रतिशत र ३० वर्षमुनिका कम्तीमा ३० प्रतिशत महिलालाई सदस्य बनाएर देशव्यापी अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन्।

उनले महिलावादका नाममा जुनसुकै विचारधाराका व्यक्तिलाई समर्थन जनाउने सोच गलत भएको भन्दै सङ्घलाई निष्ठावान्, क्षमतावान् र सक्रिय संगठनका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरे।

सामाजिक सञ्जालमा पनि पार्टीका विपक्षमा नभई पक्षमा सक्रिय भूमिका खेल्न सुझाव दिँदै अध्यक्ष ओलीले नेपालले दुई कार्यकालसम्म महिला राष्ट्रपति पाएको र सबै तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेर कतिपय विकसित मुलुकभन्दा अघि बढ्न सफल भएको स्पष्ट पारे।

‘मिसन २०८४’ अभियानमा जुट्न आह्वान गर्दै उनले एमालेलाई एकल बहुमतको पार्टीका रूपमा स्थापित गरी मुलुकको विकास, सुशासन र समृद्धितर्फको यात्रालाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए।

बजेटमा समावेश भएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने विश्वास

0

खोटाङ: खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाघाटस्थित दूधकोशीबाट निर्माण गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने भएको छ।

बजेट अभावका कारण मुआब्जा निर्धारण प्रक्रिया रोकिएको यस आयोजनालाई सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्राथमिकताका साथ समावेश गरेपछि यसको कार्यान्वयन प्रक्रियाले गति लिने विश्वास गरिएको हो।

एमाले नेता विशाल भट्टराईले आयोजनाका लागि विगतमा पटक–पटक छलफल भए पनि बजेट अभावका कारण मुआब्जा निर्धारण हुन नसकेको बताउँदै यसपटक बजेटमा समावेश भएसँगै जग्गाधनीलाई मुआब्जा वितरण गरी कार्य अघि बढ्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यो जिल्लावासीका लागि खुसीको खबर हो।”

दीर्घकालीन सपना साकारतर्फ
खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा निर्माण गरिने बहुउद्देश्यीय यो आयोजना करिब ४२ वर्षअघि प्रारम्भिक अध्ययन गरिएको थियो। एसियाली विकास बैंक (ADB) लगायतका अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले यसमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

करिब २५ हजार रोपनी जग्गा अधिग्रहण
खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका सरकारी तथा व्यक्तिगत स्वामित्वमा रहेका करिब २५ हजार रोपनी जग्गा अधिग्रहण गरिनेछ। विद्युत् प्राधिकरणका अनुसार त्यसमा करिब २० हजार रोपनी व्यक्तिगत स्वामित्वको जग्गा पर्छ।

हालसम्म मुआब्जा निर्धारण प्रक्रिया अघि नबढ्दा प्रभावित क्षेत्रका बासिन्दामा अन्योल थियो। यद्यपि, सरकारले मुआब्जा निर्धारण नभएसम्म जग्गा खरिद–बिक्रीमा रोक लगाइसकेको छ।

मुआब्जा मूल्यांकनमा जटिलता
सरकारले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ। मुआब्जा निर्धारणका लागि बसेको सर्वदलीय छलफलले जग्गा प्राप्ति ऐन, २०३४, बजार मूल्य, बैंक तथा वित्तीय संस्थाको मूल्यांकन, तथा सरकारी दरलाई आधार मानी मूल्य निर्धारण गर्ने निष्कर्ष निकालेको छ।

रावाबेँसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठका अनुसार, तीन वा पाँच रोपनीभन्दा कम जग्गा भएका परिवारलाई अलग मूल्याङ्कन गर्नुपर्ने देखिएको छ। साथै, अरूको जग्गा प्रयोग गरी पुस्तौँदेखि बसोबास गर्दै आएका परिवारहरूको पुनःस्थापनाको विषयले मुआब्जा प्रक्रिया जटिल बनाएको बताउनुभयो।

विशेषगरी लामीडाँडास्थित रभुँवाघाटमा वर्षौँदेखि बस्दै आएको माझी समुदायको पुनर्वासका लागि स्थानीय सरकारले उचित स्थानको व्यवस्था गर्न सम्बन्धित निकायमा माग गरिसकेको छ।

विस्थापित र प्रभावितको संख्या
आयोजना सञ्चालनका क्रममा १६२ घरधुरी पूर्णरूपमा विस्थापित हुने छन् भने ९८८ घरधुरी आंशिक रूपमा प्रभावित हुने प्रारम्भिक अनुमान छ। कुल १,०५० घरधुरीको खेतीयोग्य जमिन डुबानमा पर्नेछ।

उत्पादन र सम्भावना
लामीडाँडास्थित रभुँवाघाटमा २२० मिटर अग्लो बाँध निर्माण गरी त्यसबाट सुरुङमार्फत हलेसी तुवाचुङ नगरपालिका–९ धितुङमा पानी खसाई विद्युत् उत्पादन गरिने योजना छ। आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ।

पर्यटन र बहुउपयोगी सम्भावना
आयोजनाबाट केवल विद्युत् उत्पादन मात्र होइन, जलाशयमा डुङ्गा सयर, माछापालन, र तीन जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने आशा गरिएको छ। त्रिधार्मिक स्थल हलेसी र सगरमाथा आउने पर्यटकका लागि दूधकोशी जलाशय पर्यटन आकर्षण बन्न सक्ने बताइएको छ।

शैक्षिक क्षेत्रको विकास र अनुसन्धानका लागि उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच सहकार्य हुने

0

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।

महासंघ सचिवालयमा आयोजित भेटवार्तामा विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सीप विकास र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादनका सम्भावनाहरूमा छलफल गरिएको थियो।

दुवै पक्षले पाठ्यक्रम विकास, तालिम कार्यक्रम सञ्चालन, तथा संयुक्त परियोजनाहरूको सम्भाव्यता अध्ययनका विषयमा थप छलफल गर्ने सहमति जनाएका छन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र र शैक्षिक संस्थाहरूबीचको खाडल कम गर्न सहकार्यले टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “उद्योग–व्यवसायले चाहेको दक्ष जनशक्ति उत्पादन गर्न र युवाहरूलाई रोजगारीका अवसरहरू उपलब्ध गराउन यो सहकार्य फलदायी हुनेछ। यस्तो सहकार्यका लागि हामी सकारात्मक छौं।”

नेपाल विश्वविद्यालयका कुलपति डा. बिन्दुनाथ लोहनीले सहकार्यले नेपालको शैक्षिक प्रणालीलाई विश्व बजारसँग जोड्न मद्दत गर्ने बताउनुभयो। “हाम्रो लक्ष्य विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप र उद्यमशीलताको भावना प्रदान गर्नु हो। महासंघसँगको सहकार्यले यस दिशामा ठुलो योगदान पुर्‍याउनेछ,” उहाँले उल्लेख गर्नुभयो।

त्यसैगरी, विश्वविद्यालयका उपकुलपति डा. अर्जुन कार्कीले सीपयुक्त, दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन विश्वविद्यालयको मुख्य उद्देश्य रहेको बताउँदै त्यसका लागि महासंघसँगको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

दुवै पक्षले संयुक्त अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता विकास, विद्यार्थी इन्टर्नशिप, तथा रोजगारी सिर्जना जस्ता क्षेत्रहरूमा सहकार्य गर्न सकिनेमा जोड दिएका छन्।

माईखोलाको बाढी बस्ती पस्यो: सुगाबथानका २२ घर डुबानमा

0

झापा: झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी पस्दा २२ घर डुबानमा परेका छन्। मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पस्दा स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सरेका हुन्।

वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, र सडकबस्ती क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ।

“माईखोलामा सामान्य बाढी आउँदा पनि यस्तो अवस्था आएको हो,” अध्यक्ष चाम्लागाईले भन्नुभयो, “यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं. १ र २ का झण्डै ३,००० घरधुरी विस्थापित हुने जोखिम छ।”

यस वर्ष सामान्यभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीमा बाढीको त्रास बढ्दै गएको छ।

आफ्ना निर्वाचन क्षेत्रमा बजेट छुट्याउन सांसदहरुको दवाव

0

हेटौंडा, बागमती प्रदेश: बिगतका वर्षहरूमा जस्तै यस वर्ष पनि बागमती प्रदेशका सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराउन सरकारलाई तीव्र दबाब दिइरहेका छन्। यद्यपि ‘आवश्यकताको आधारमा बजेट वितरण गरिने’ भनिए पनि व्यवहारमा भने भनसुन र राजनीतिक दवावको आधारमा बजेट छुट्याइने गरेको पाइएको छ।

हाल प्रदेशका विभिन्न मन्त्रालय र तिनका मातहतका कार्यालयहरूमा सांसदहरू आफ्नो निर्वाचन क्षेत्रका लागि बजेट सुनिश्चित गर्न सक्रिय छन्। तर, सांसदहरूले चाहेअनुसार नभई मन्त्रीहरूले आफूअनुकूल निर्णय गर्ने गरेको गुनासो सांसदहरूबाट आएको छ।

सांसदहरूले सबै निर्वाचन क्षेत्रमा समान रूपमा तथा आवश्यकता अनुसार बजेट बाँडफाँट गर्न माग गरे पनि मन्त्री र सचिवहरूले आफूखुसी बजेट विनियोजन गर्ने प्रवृत्ति देखिएको एक सांसदले बताए। सरकारमा सहभागी दलका सांसदहरू समेत मन्त्रीहरूको निर्णयप्रति असन्तुष्ट देखिएका छन्।

प्रदेशसभा सदस्यहरूले आर्थिक वर्ष २०८२/८३ को बजेटमा ‘निर्वाचन क्षेत्र विकास कोष’ पुनः सक्रिय गराउन दबाब दिइरहेका छन्। अघिल्लो वर्ष २०८१/८२ मा सरकारबाट सांसदहरूका लागि घुमाउरो बाटोबाट बजेट विनियोजन गरिएको थियो। यसपटक भने ‘प्रदेशसभा सदस्यको सिफारिसमा खर्च गर्न मिल्ने गरी’ स्पष्ट रूपमा कार्यक्रम समेट्न माग गरिँदैछ।

चालु आर्थिक वर्षमा सरकारकै बजेट वक्तव्यमा सांसदहरूको मागअनुसार योजना छनोट तथा कार्यान्वयन गर्ने उल्लेख गरिएको थियो। सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका जनताका समस्या तथा गुनासो समाधान गर्न सहज वातावरण बनाउन सहयोग पुग्ने दाबी गर्दै आएका छन्।

बजेट वक्तव्यमा भनिएको छ, “प्रदेशसभा सदस्य र स्थानीय तहबीच सुमधुर सम्बन्ध कायम गर्न, अन्तर तह समन्वय प्रभावकारी बनाउन र विकास तथा शासन प्रणालीलाई जनमुखी बनाउन सांसदहरूको प्रत्यक्ष सहभागितामा विकास योजना छनोट गरी कार्यान्वयन गरिनेछ। उक्त उद्देश्यका लागि आवश्यक रकम विनियोजन गरिएको छ।” यद्यपि, त्यसका लागि छुट्याइएको बजेटको निश्चित रकम भने स्पष्ट गरिएको थिएन।

प्रदेश सरकार स्रोतका अनुसार, प्रत्यक्ष निर्वाचित सांसदका लागि ५ करोड र समानुपातिक सांसदका लागि ३ करोड रुपैयाँ विनियोजन गर्नेगरी छलफल भएको छ। सोही अनुसार आगामी बजेटमा कार्यक्रम समावेश गर्ने तयारी भइरहेको एक प्रदेश सांसदले जानकारी दिए।

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

0

काठमाडौँ: हाल देशको पश्चिम तथा मध्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशका अधिकांश स्थानहरूमा मनसुनी वायु सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने सम्भावना छ।

कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशसहित देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा अन्य क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ। उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेश तथा पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रको मौसम मुख्यतः सफा वा आंशिक बदली रहनेछ।

रातिको समय कोशी र मधेश प्रदेशका केही स्थानहरूमा र अन्य पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

देशको उच्च–पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ। यसबाट सम्भावित असर न्युनिकरणका लागि आवश्यक तयारी तथा सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।

चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित

0

काठमाडौँ: गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि प्रदर्शन हुने भनिएको नेपाली चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित गरिएको छ। देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै तत्कालका लागि चलचित्रको प्रदर्शन रोकिएको निर्देशक दिनेश राउतले जानकारी दिनुभयो।

“पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भएको अवस्थामा, नेपालभित्र र बाहिर दुवै स्थानमा प्रदर्शन स्थगित गर्ने निर्णय गरेका छौँ,” निर्देशक राउतले भन्नुभयो, “हामी उपयुक्त समयको प्रतीक्षा गरिरहेका छौँ र सोही समयमा प्रदर्शन गर्ने तयारीमा छौँ।”

सहकारी संस्थाको रकम अपचलनलाई केन्द्रमा राखेर तयार गरिएको ‘महाभोज’ मा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग तथा सामाजिक असमानताजस्ता गम्भीर विषयलाई चलचित्रले सशक्त रूपमा उजागर गर्ने प्रयास गरेको छ। चलचित्रको कथा विकास सुवेदीले लेख्नुभएको हो।

‘महाभोज’ लाई ‘क्लकवर्क क्रियशन’ र ‘पिक्चर फ्रेम’ ले संयुक्त रूपमा निर्माण गरेका हुन्।

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

0

काठमाडौँ: विश्वको सर्वोच्च शिखर सगरमाथा पहिलोपटक सफलतापूर्वक आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा आज ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विविध कार्यक्रमसहित नेपालमा भव्य रूपमा मनाइँदैछ।

सन् १९५३ मे २९ का दिन नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले सगरमाथाको शिखरमा पहिलोपटक पाइला टेकेर मानवीय साहस र क्षमताको अनुपम उदाहरण प्रस्तुत गरेका थिए। सोही दिनको सम्झनामा प्रत्येक वर्ष मे २९ का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ।

यस वर्ष पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ। पर्यटनमन्त्री सुदन किराँतीको अध्यक्षतामा गठन गरिएको अन्तरराष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको समन्वयमा बिहान प्रभातफेरीदेखि दिउँसोसम्म विभिन्न कार्यक्रम तय गरिएको छ।

पर्यटनमन्त्री किराँतीले रासससँगको कुराकानीमा जेठ १५ गते गणतन्त्र दिवस तथा संसद्मा बजेट वक्तव्य पनि पर्ने भएकाले सगरमाथा दिवसका कार्यक्रमहरू समय समायोजन गर्दै प्रभावकारी ढंगले सञ्चालन गरिने जानकारी दिनुभयो।

बिहान कर्मचारी सञ्चय कोष, ठमेलबाट झाँकीसहितको प्रभातफेरी सुरु भई वसन्तपुरमा औपचारिक कार्यक्रममा परिणत भएको छ। दिउँसो ‘सगरमाथा समिटर्स समिट’ आयोजना गरिनेछ, जसमा कीर्तिमानी आरोहीहरूका अनुभव आदान–प्रदान, साहसिक पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनका असरबारे गहन छलफल हुनेछ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहने कार्यक्रम रहेको छ।

दिवसको अवसरमा विभिन्न कीर्तिमानी आरोही तथा पर्वतीय पर्यटनमा योगदान पु-याउने व्यक्तित्वहरूलाई सम्मान गरिनेछ। पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, र निजी क्षेत्रका सरोकारवालाहरूको सहकार्यमा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले सगरमाथा दिवसले पहिलो आरोहीहरूको स्मरण मात्र नभई सगरमाथा संरक्षण र पर्वतीय पर्यटन प्रवर्द्धनतर्फ पनि समाजलाई जागरुक गराउने विश्वास व्यक्त गर्नुभयो। उहाँले हाल लुक्ला विमानस्थल ‘तेञ्जिङ हिलारी विमानस्थल’ नामकरण गरिएको, र विभिन्न मुलुकका आरोही तथा हिलारी परिवारका सदस्यहरू सगरमाथा दिवसमा सहभागी हुन नेपाल आउने जानकारी दिनुभयो।

“सगरमाथा विश्व सम्पदा हो। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र जोखिममा परेकाले यसको संरक्षणका लागि विश्व समुदाय गम्भीर हुन आवश्यक छ,” अध्यक्ष शेर्पाले भन्नुभयो। “हाल हिमालको हिउँ पग्लिएर कालापत्थर देखिन थालेको अवस्था देखिएकाले थप चिन्तन र संरक्षण अपरिहार्य भएको छ।”

एक तथ्याङ्क अनुसार नेपालमा ५,८०० मिटरभन्दा माथिका १,७९२ हिमाल छन्, तीमध्ये ८ वटा हिमाल ८,००० मिटरभन्दा अग्ला छन्। हालसम्म ४६१ हिमाल मात्र आरोहणका लागि खुला गरिएको छ।

यस वर्ष पनि दिवसका अवसरमा पर्वतीय पर्यटनमा योगदान गर्ने कीर्तिमानी आरोही र व्यवसायीहरूलाई सम्मान गरिने पर्यटन विभागले जनाएको छ। दिवसको आयोजनाबाट आगामी पुस्तालाई हिमाल आरोहण र संरक्षणप्रतिको चेतना जगाउने अपेक्षा लिइएको छ।

आज संसद्‌मा आर्थिक वर्ष ०८२/०८३ को बजेट पेस हुने

0

काठमाडौँ: संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०८२/०८३ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यक्रम रहेको छ।

दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा नेपालको संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्‌का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो। संसद् सचिवालयले दुवै सदनका सदस्यहरूलाई दिउँसो २:४५ बजेभित्र प्रतिनिधिसभा कक्षमा उपस्थित हुन अनुरोध गरेको छ।

त्यसअघि दिउँसो १:३० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र सार्वजनिक गर्नुहुनेछ। सोही बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पनि पेस गर्नुहुनेछ।

यसैगरी, राष्ट्रिय सभा बैठक दिउँसो १:४५ बजे बस्नेछ। सो बैठकमा पनि अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।