काठमाडौँ: गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि प्रदर्शन हुने भनिएको नेपाली चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित गरिएको छ। देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै तत्कालका लागि चलचित्रको प्रदर्शन रोकिएको निर्देशक दिनेश राउतले जानकारी दिनुभयो।
“पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भएको अवस्थामा, नेपालभित्र र बाहिर दुवै स्थानमा प्रदर्शन स्थगित गर्ने निर्णय गरेका छौँ,” निर्देशक राउतले भन्नुभयो, “हामी उपयुक्त समयको प्रतीक्षा गरिरहेका छौँ र सोही समयमा प्रदर्शन गर्ने तयारीमा छौँ।”
सहकारी संस्थाको रकम अपचलनलाई केन्द्रमा राखेर तयार गरिएको ‘महाभोज’ मा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला लगायतका कलाकारहरूको अभिनय रहेको छ।
सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग तथा सामाजिक असमानताजस्ता गम्भीर विषयलाई चलचित्रले सशक्त रूपमा उजागर गर्ने प्रयास गरेको छ। चलचित्रको कथा विकास सुवेदीले लेख्नुभएको हो।
‘महाभोज’ लाई ‘क्लकवर्क क्रियशन’ र ‘पिक्चर फ्रेम’ ले संयुक्त रूपमा निर्माण गरेका हुन्।


