Sunday, April 19, 2026
Homeसुन्दर नेपालअन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाडौँ: विश्वको सर्वोच्च शिखर सगरमाथा पहिलोपटक सफलतापूर्वक आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा आज ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विविध कार्यक्रमसहित नेपालमा भव्य रूपमा मनाइँदैछ।

सन् १९५३ मे २९ का दिन नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले सगरमाथाको शिखरमा पहिलोपटक पाइला टेकेर मानवीय साहस र क्षमताको अनुपम उदाहरण प्रस्तुत गरेका थिए। सोही दिनको सम्झनामा प्रत्येक वर्ष मे २९ का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ।

यस वर्ष पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ। पर्यटनमन्त्री सुदन किराँतीको अध्यक्षतामा गठन गरिएको अन्तरराष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको समन्वयमा बिहान प्रभातफेरीदेखि दिउँसोसम्म विभिन्न कार्यक्रम तय गरिएको छ।

पर्यटनमन्त्री किराँतीले रासससँगको कुराकानीमा जेठ १५ गते गणतन्त्र दिवस तथा संसद्मा बजेट वक्तव्य पनि पर्ने भएकाले सगरमाथा दिवसका कार्यक्रमहरू समय समायोजन गर्दै प्रभावकारी ढंगले सञ्चालन गरिने जानकारी दिनुभयो।

बिहान कर्मचारी सञ्चय कोष, ठमेलबाट झाँकीसहितको प्रभातफेरी सुरु भई वसन्तपुरमा औपचारिक कार्यक्रममा परिणत भएको छ। दिउँसो ‘सगरमाथा समिटर्स समिट’ आयोजना गरिनेछ, जसमा कीर्तिमानी आरोहीहरूका अनुभव आदान–प्रदान, साहसिक पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनका असरबारे गहन छलफल हुनेछ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहने कार्यक्रम रहेको छ।

दिवसको अवसरमा विभिन्न कीर्तिमानी आरोही तथा पर्वतीय पर्यटनमा योगदान पु-याउने व्यक्तित्वहरूलाई सम्मान गरिनेछ। पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, र निजी क्षेत्रका सरोकारवालाहरूको सहकार्यमा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले सगरमाथा दिवसले पहिलो आरोहीहरूको स्मरण मात्र नभई सगरमाथा संरक्षण र पर्वतीय पर्यटन प्रवर्द्धनतर्फ पनि समाजलाई जागरुक गराउने विश्वास व्यक्त गर्नुभयो। उहाँले हाल लुक्ला विमानस्थल ‘तेञ्जिङ हिलारी विमानस्थल’ नामकरण गरिएको, र विभिन्न मुलुकका आरोही तथा हिलारी परिवारका सदस्यहरू सगरमाथा दिवसमा सहभागी हुन नेपाल आउने जानकारी दिनुभयो।

“सगरमाथा विश्व सम्पदा हो। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र जोखिममा परेकाले यसको संरक्षणका लागि विश्व समुदाय गम्भीर हुन आवश्यक छ,” अध्यक्ष शेर्पाले भन्नुभयो। “हाल हिमालको हिउँ पग्लिएर कालापत्थर देखिन थालेको अवस्था देखिएकाले थप चिन्तन र संरक्षण अपरिहार्य भएको छ।”

एक तथ्याङ्क अनुसार नेपालमा ५,८०० मिटरभन्दा माथिका १,७९२ हिमाल छन्, तीमध्ये ८ वटा हिमाल ८,००० मिटरभन्दा अग्ला छन्। हालसम्म ४६१ हिमाल मात्र आरोहणका लागि खुला गरिएको छ।

यस वर्ष पनि दिवसका अवसरमा पर्वतीय पर्यटनमा योगदान गर्ने कीर्तिमानी आरोही र व्यवसायीहरूलाई सम्मान गरिने पर्यटन विभागले जनाएको छ। दिवसको आयोजनाबाट आगामी पुस्तालाई हिमाल आरोहण र संरक्षणप्रतिको चेतना जगाउने अपेक्षा लिइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका