Friday, July 3, 2026
Homeसामाचारबजेटमा समावेश भएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने विश्वास

बजेटमा समावेश भएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने विश्वास

खोटाङ: खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाघाटस्थित दूधकोशीबाट निर्माण गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने भएको छ।

बजेट अभावका कारण मुआब्जा निर्धारण प्रक्रिया रोकिएको यस आयोजनालाई सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्राथमिकताका साथ समावेश गरेपछि यसको कार्यान्वयन प्रक्रियाले गति लिने विश्वास गरिएको हो।

एमाले नेता विशाल भट्टराईले आयोजनाका लागि विगतमा पटक–पटक छलफल भए पनि बजेट अभावका कारण मुआब्जा निर्धारण हुन नसकेको बताउँदै यसपटक बजेटमा समावेश भएसँगै जग्गाधनीलाई मुआब्जा वितरण गरी कार्य अघि बढ्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यो जिल्लावासीका लागि खुसीको खबर हो।”

दीर्घकालीन सपना साकारतर्फ
खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा निर्माण गरिने बहुउद्देश्यीय यो आयोजना करिब ४२ वर्षअघि प्रारम्भिक अध्ययन गरिएको थियो। एसियाली विकास बैंक (ADB) लगायतका अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले यसमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

करिब २५ हजार रोपनी जग्गा अधिग्रहण
खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका सरकारी तथा व्यक्तिगत स्वामित्वमा रहेका करिब २५ हजार रोपनी जग्गा अधिग्रहण गरिनेछ। विद्युत् प्राधिकरणका अनुसार त्यसमा करिब २० हजार रोपनी व्यक्तिगत स्वामित्वको जग्गा पर्छ।

हालसम्म मुआब्जा निर्धारण प्रक्रिया अघि नबढ्दा प्रभावित क्षेत्रका बासिन्दामा अन्योल थियो। यद्यपि, सरकारले मुआब्जा निर्धारण नभएसम्म जग्गा खरिद–बिक्रीमा रोक लगाइसकेको छ।

मुआब्जा मूल्यांकनमा जटिलता
सरकारले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ। मुआब्जा निर्धारणका लागि बसेको सर्वदलीय छलफलले जग्गा प्राप्ति ऐन, २०३४, बजार मूल्य, बैंक तथा वित्तीय संस्थाको मूल्यांकन, तथा सरकारी दरलाई आधार मानी मूल्य निर्धारण गर्ने निष्कर्ष निकालेको छ।

रावाबेँसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठका अनुसार, तीन वा पाँच रोपनीभन्दा कम जग्गा भएका परिवारलाई अलग मूल्याङ्कन गर्नुपर्ने देखिएको छ। साथै, अरूको जग्गा प्रयोग गरी पुस्तौँदेखि बसोबास गर्दै आएका परिवारहरूको पुनःस्थापनाको विषयले मुआब्जा प्रक्रिया जटिल बनाएको बताउनुभयो।

विशेषगरी लामीडाँडास्थित रभुँवाघाटमा वर्षौँदेखि बस्दै आएको माझी समुदायको पुनर्वासका लागि स्थानीय सरकारले उचित स्थानको व्यवस्था गर्न सम्बन्धित निकायमा माग गरिसकेको छ।

विस्थापित र प्रभावितको संख्या
आयोजना सञ्चालनका क्रममा १६२ घरधुरी पूर्णरूपमा विस्थापित हुने छन् भने ९८८ घरधुरी आंशिक रूपमा प्रभावित हुने प्रारम्भिक अनुमान छ। कुल १,०५० घरधुरीको खेतीयोग्य जमिन डुबानमा पर्नेछ।

उत्पादन र सम्भावना
लामीडाँडास्थित रभुँवाघाटमा २२० मिटर अग्लो बाँध निर्माण गरी त्यसबाट सुरुङमार्फत हलेसी तुवाचुङ नगरपालिका–९ धितुङमा पानी खसाई विद्युत् उत्पादन गरिने योजना छ। आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ।

पर्यटन र बहुउपयोगी सम्भावना
आयोजनाबाट केवल विद्युत् उत्पादन मात्र होइन, जलाशयमा डुङ्गा सयर, माछापालन, र तीन जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने आशा गरिएको छ। त्रिधार्मिक स्थल हलेसी र सगरमाथा आउने पर्यटकका लागि दूधकोशी जलाशय पर्यटन आकर्षण बन्न सक्ने बताइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका